वसन्त पौडेल हत्याकाण्ड : सुटरको पहिचान खुलाउनै प्रहरीलाई हम्मे



रुपन्देही–वसन्त पौडेलमाथि गोली प्रहार भएको २४ घण्टा बितिसकेको छ । तर, अपराधि पक्राउ पर्नु त टाढाको कुरा, प्रहरीले सुटरको पहिचान समेत खुलाउन सकेको छैन् ।
शुक्रवार कालो होण्डा साइन मोटरसाइकलमा मुखमा माक्स लगाई आएका २ जना अपरिचित ब्यक्तिहरुले प्रहार गरेको गोली लागेर रुपन्देहीका काठ ब्यवसायी पौडेलेको मृत्यु भएको थियो । रुपन्देहीमा गोली चल्दै गर्दा जिल्ला प्रहरी प्रमुख (एसपी) श्याम ज्ञवाली काठमाडौंमा थिए ।
गोली चलेको खबर पाएपछि रुपन्देही पुगेका ज्ञवालीले सुटरको पहिचान पनि नखुलेको जानकारी दिँदै भने, ‘अहिलेसम्म सुटर पक्राउ पर्न सकेका छैनन्, हामी अनुसन्धान गरिरहेका छौं ।’
देवदह नगरपालिका–२ ढेकार बस्ने ३५ बर्षीय बसन्त पौडेलमाथी गोली प्रहार भएको केही बेरमा गुण्डा नाइके मनोज पुनले स्थानीय सञ्चारकर्मीलाई फोन गरेर घटनाको जिम्मा लिएका थिए । तर, पुनले यसरी जिम्मा लिएपनि प्रहरीले अहिलेसम्म उनलाई मुख्य अभियुक्त मानिसकेको छैन । ‘उसले सञ्चारकर्मीलाई टेलिफोन गरेर जिम्मा लिएको रहेछ, तर हामीले मनोज पुन नै मुख्य अभियुक्त हो, भन्न सक्ने अवस्था भैसकेको छैन’ एसपी ज्ञवालीले भने, ‘मनोज पुन मुख्य अभियुक्त होकी हैन भन्नेबारे तथ्यले स्थापित गर्नुपर्छ, हामी तथ्य खोजिरहेका छौं ।’ यसैबीच पौडेल हत्याको विरोधमा आज रुपन्देही बन्दको आह्वान गरिएको छ । एमाले निकट युवा संघ र अनेरास्ववियूले गरेको बन्दका कारण रूपन्देहीकाे जनजीवन प्रभावित बनेको छ । हत्यारालाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याई कडा कारबाहीको माग गर्दै बन्द आह्वान गरिएको जनाइएको छ । मृतक पौडेल एमाले कार्यकर्ता समेत हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २२ गते शनिबार