खोटाङ ।
जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पुर्याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ।सेवाग्राहीको राहदानी सम्बन्धित जिल्ला हुलाक कार्यालयमार्फत उनीहरूको घरमै पुर्याएर वितरण गर्न नेपाल सरकारले दिएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयलाई राहदानी जिम्मा दिएको हो।
गत वैशाख १५ गतेपछि आवेदन दिएका १५७ जना सेवाग्राहीमध्ये ३७ जनाको राहदानी घर–घरमा पुर्याउन हुलाक कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका राहदानी शाखा प्रमुख दिनेश आचार्यले जानकारी दिए।“राहदानीका लागि सेवाग्राहीको बायोमेट्रिक्स प्रणालीमार्फत विवरण सङ्कलन गरेर विभाग पठाउँछौँ । त्यहाँबाट राहदानी छापिएर आएपछि रुजु गरेर हुलाकलाई जिम्मा दिन्छौँ”, उनले भने, “प्रशासन कार्यालयले जिम्मा दिएको राहदानी हुलाक कार्यालयले सेवाग्राहीको घर–घरमा पुर्याएर वितरण गर्छ । यसले सेवाग्राहीका लागि ठूलो राहत मिलेको छ ।”
सेवाग्राहीको घरमै पुर्याएर राहदानी वितरण गर्दा सेवाग्राहीले टिकटवापत प्रतिव्यक्ति रु ४५ जिल्ला हुलाक कार्यालयलाई बुझाउनुपर्ने प्रशासन कार्यालयले जनाएको छ । सेवाग्राहीले राहदानी प्राप्त गर्नका लागि टिकटवापत जिल्ला हुलाक कार्यालयलाई बुझाएको रकम राजस्वको रुपमा राज्यकोषमा जम्मा हुने जनाइएको छ।जिल्ला प्रशासन कार्यालयले सोमबार जिम्मा दिएको राहदानी आज (मङ्गलबार)देखि सम्बन्धित सेवाग्राहीको घर–घरमा पुर्याएर वितरण गरिने जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी शम्भू तामाङले जानकारी दिए ।
“हामीले जिम्मा लिएको राहदानी सबै स्थानीय तहमा पठाएका छौँ । त्यहाँका जनप्रतिनिधिहरूको सहयोगमा सेवाग्राही पहिचना गरेर वितरण गर्छौँ”, उनले भने, “नजिकका सेवाग्राहीले आज र टाढाकाले भोलिदेखि पाउनुहुन्छ ।”दश स्थानीय तह रहेको जिल्लामा एकजना सेवाग्राहीले राहदानी लिन जिल्ला प्रशासन कार्यालय खोटाङ आउँदा/जाँदा कम्तिमा रु दुई हजार खर्च गर्नुपर्ने बाध्यता छ ।
नेपाल सरकारले जिल्ला हुलाक कार्यालयमार्फत सेवाग्राहीको घर–घरमा राहदानी पुर्याएर वितरण गर्ने व्यवस्था मिलाएपछि उनीहरूको रकम बचत हुने भएको छ।राहदानी लिन आउँदा/जाँदाको समय र रकम दुवै बचत हुने भएपछि सेवाग्राही पनि हर्षित भएका छन्। जिल्लाको दुर्गम क्षेत्रका सेवाग्राहीहरू राहदानी लिन प्रशासन कार्यालय आउँदा/दा तीन दिनसम्मको समय खर्च गर्नुपर्ने बाध्यता छ। रासस









प्रतिक्रिया दिनुहोस्