पर्सा ।
पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि ‘वाइडलाइफ रेस्क्यु टिम’ तयार पारेको छ ।विगतमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा कुनै वन्यजन्तु चोटपटक तथा घाइते भएर रेस्क्यु गर्नुपर्दा चितवन राष्ट्रिय निकुञ्जबाट वाइडलाइफ रेस्क्यु टिम बोलाउनुपथ्र्याे ।
तर, निकुञ्जले वैशाखको पहिलो सातादेखि भने निकुञ्जमा नै उद्धारटोलीको व्यवस्थापन गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले पर्सा राष्ट्रिय निकुञ्जमा ‘वाइडलाइफ रेस्क्यु टिम’ तयार पारेपछि घाइते भएका वन्यजन्तुको उद्धार र उपचारमा सहज भएको बताए ।
“विगतमा वन्यजन्तु घाइते वा दुर्घटना हुँदा चितवन राष्ट्रिय निकुञ्जबाटै टोली बनाउनुपर्ने हुन्थ्यो”, उनले भने, “तर,अहिले यहाँबाटै हुँदा धेरै सहज र छिटो उद्धार सम्भव भएको छ ।” सूचना अधिकारी भगतका अनुसार उद्धार टोलीमा पशु चिकित्सक, प्राविधिक, सवारी चालकलगायत रहेको बताए ।
“वन्यजन्तु घाइते तथा उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा बारा, पर्सा, रौतहट, मकवानपुरसम्म जाने गरेका छौँ”, उनले भने । कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म पाटेबाघ एक, चित्तल छ वटा, गोमनसर्प एक सयबाट उद्धार गरेको जनाएको छ । त्यस्तैगरी किंग कोब्रा २५ वटा, अजिङ्गर १५ वटा, सालक एक वटा र अन्य वन्यजन्तु तीनवटा उद्धार गरेर उपचारपछि प्राकृतिक वासस्थलमा छाडेको निकुञ्जले जनाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्