मुस्ताङ ।
यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि सुरु भएको पन्ध्रदिने मूर्तिकला कार्यशाला आज सम्पन्न भएको छ । ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका र एकीकृत सेवा कार्यालय मुस्ताङको संयुक्त आयोजनामा भएको कार्यशालामा २१ भन्दा बढी मूर्तिकार सहभागी भएका थिए ।
कार्यशालामा चार पुस्ताका मूर्तिकारले यहाँका ढुङ्गामा दुई दर्जनभन्दा बढी मूर्ति सिर्जना गर्दै अन्तरपुस्ता सीप हस्तान्तरणको अभ्यास गरेका थिए । मूर्तिकला र आर्टस् पेन्टिङमा विगत २५ वर्षदेखि कार्यरत अङ्ग्रज मूर्तिकार हेटौँडाका लक्ष्मण भुजेलले यहाँ चलेको कार्यशाला विश्वकै अग्लो उचाइमा आयोजना भएको दाबी गरे । यहाँको उचाइ समुन्द्री सतहदेखि करिब दुई हजार ७०० मिटर रहेको छ ।
विश्वका आधा दर्जनभन्दा बढी देशमा भएका यसप्रकारका कार्यशालामा सहभागी भुजेलले मूर्तिकला संस्कृतिले ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषय वस्तुलाई पछिल्ला पुस्तासम्म जीवन्त तुल्याउने बताए । त्रिभुवन विश्व विद्यालयमा सेन्टर डिपाटमेन्ट अफ फाइन आर्टस विषयमा अध्ययनरत रामेछापकी मूर्तिकार करुणा श्रेष्ठले यहाँको प्रतिकूल मौसमसँग घुलमिल भएर काम गर्ने अवसर पाउँदा पृथक अनुभव सङ्गाल्न पाएको उल्लेख गरे । रासस









प्रतिक्रिया दिनुहोस्