भेरी शीतभण्डारको इतिहासः हाल भइरहेको राजनीति रजाइँको प्रतिष्पर्धा



भीम रावत

कोहलपुरमा रहेको भेरी शीतभण्डारमा भर्खरै निर्वाचन सम्पन्न भएर नयाँ नेतृत्वको कार्यसमिति गठन भएको छ । निर्वाचित हुने सबैलाई बधाईसहित सफल कार्यकालको लागि शुभकामना छ । कोहलपुरमा कृषि हाटबजारको विस्तार हुँदै जाँदा यहाँ तरकारी, फलफूल तथा बीउ विजनहरुको भण्डारण गर्न एउटा शीतभण्डारको आवश्यकता महसुस भयो । त्यतिबेला खास गरेर बाँके र बर्दियाका किसान र उनीहरुको कृषिजन्य नाशवान् उत्पादनहरु त्यसमा पनि मुख्य गरेर किसानहरुले उत्पादन गरेका आलुको भण्डारण गर्ने उद्देश्यले विसं २०५१ सालमा बाँके खजुराका स्थानीय किसान सत्यदेव भट्टराईको संयोजकत्वमा भेरी शीतभण्डार तदर्श समिति गठन भयो । २०५२ सालमा यो दर्ता भयो र यसका संस्थापक अध्यक्ष सत्यदेव भट्टराई नै भए । यसको उपाध्यक्षमा कोहलपुरका किसान डम्बरबहादुर रावत थिए । २०५१ को मध्यावधि निर्वाचनपश्चात् मनमोहन अधिकारी प्रधानमन्त्री रहेको एमालेको अल्पमतको सरकार बन्यो । त्यो सरकारमा कृषि तथा सहकारीमन्त्री एमालेकै नेता राधाकृष्ण मैनाली थिए । त्यतिबेला कोहलपुर गाउँ विकास समितिको अध्यक्ष थिए एमालेकै लुटबहादुर रावत । समितिका अध्यक्ष, उपाध्यक्ष र कोहलपुर गाविसका अध्यक्ष समेत एमालेकै भएका कारण उनीहरुकै पहलमा कृषि तथा सहकारीमन्त्री मैनालीलाई कोहलपुरमा बोलाएर शीतभण्डारको उद्घाटन गराइएको थियो । २०५२ सालको असारमा तत्कालीन कृषिमन्त्रीकै पहलमा कोहलपुरमा भेरी शीतभण्डार निर्माणको लागि भनेर बजेट वक्तव्यमै रु तीन करोड रकम पनि छुट्टयाइएको थियो । तर २०५२ साल भदौमा मनमोहन अधिकारीको सरकार ढलेपछि त्यो बजेटको सबै रकम रोकियो ।

मनमोहन अधिकारी नेतृत्वको सरकार ढलेपश्चात् नेपाली काँग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा काँग्रेस र राप्रपाको संयुक्त सरकार बन्यो । त्यतिबेला समितिका उपाध्यक्ष डम्बरबहादुर रावतले गाविस अध्यक्ष लुुटबहादुर रावत (जो डम्बरबहादुर रावतका आफ्नै भाइ हुन) भेटेर भने, ‘हेर कान्छा सबैतिर राजनीतिले मात्र काम गर्न थाल्यो । छुट्टयाइएको बजेट समेत सरकार फेरिनेबित्तिकै रोकियो । अब बरु काँग्रेसकै कोही मान्छेलाई अध्यक्ष बनाएर भए पनि यो शीतभण्डार निर्माण गर्नु पर्छ । बजेट नल्याए संरचना बनाउन सकिँदैन ।’ त्यसपछि नेपाली काँगे्रसकै समाजसेवी र इमानदार भनेर त्यतिबेला समाजमा देखिएका रामजानकी बोर्डिङ स्कुल पनि चलाइरहेका नारायणप्रसाद सिग्देललाई शीतभण्डारको सदस्यता दिएर समितिको अध्यक्ष बनाउने प्रस्ताव डम्बरबहादुर रावतले गरेका थिए । नारायणप्रसाद सिग्देललाई शीतभण्डारको सेयर सदस्य बनाइदिएर अध्यक्ष बनाइएको थियो । देउवा नेतृत्वको सरकार रहेको समयमा मन्त्रालयबाट बजेट ल्याउन सजिलो होला भनेर नारायण सिग्देललाई अध्यक्ष बनाएको भए तापनि उनले काँगे्रसको नेतृत्वको १८ महिनाको सरकार रहेको समयमा कुनै बजेट व्यवस्थापन गर्न सकेनन् । २०५३ फागुन २७ गते देउवा नेतृत्वको सरकार ढल्यो र राप्रपाका लोकेन्द्रबहादुर चन्दको नेतृत्वामा राप्रपा र एमालेको संयुक्त सरकार बन्यो । त्यो सरकारमा बाँकेका सांसद प्रेमबहादुर भण्डारी कृषि तथा सहकारीमन्त्री बने । प्रेमबहादुर भण्डारीसँग कोहलपुरकै हरीप्रसाद रावत, डम्बरबहादुर रावत, लुटबहादुर रावत अर्थात् रावत परिवारको चिनजान र सम्बन्ध राम्रो रहेकाले डम्बरबहादुर रावतले तत्कालीन कृषि तथा सहकारीमन्त्री प्रेमबहादुर भण्डारीसँग कुरा गरी विभागीय मन्त्रीलाई लिएर प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग भेट्न गए र भेरी शीतभण्डारको अवस्थाको बारेमा सबै बताए । सबै कुरा सुनेपश्चात् प्रधानमन्त्री चन्दले विभागीय मन्त्री र शीतभण्डारका प्रतिनिधि रावतकै सामुन्ने मन्त्रालयका सचिव र सहकारी विभागका डाइरेक्टरलाई फोन गरेर ‘कोहलपुरको भेरी शीतभण्डारको बजेट किन रोकिएको हो ? दिन मिल्ने वा नमिल्ने के हो ? कसरी दिन मिल्ने हो ? त्यो प्रक्रिया पु¥याएर तुरुन्त निकाशा गरिदिनु ।

मैले शीतभण्डारका प्रतिनिधिहरुलाई त्यहाँ पठाइदिन्छु’ भनिदिएका थिए । त्यसपश्चात् डम्बरबहादुर रावत कृषि तथा सहकारी मन्त्रालयका सचिवलाई भेट्न गए । कुराहरु गर्दै जाँदा मन्त्रालयका सचिवले प्रष्ट पार्दै भने, ‘भेरी शीतभण्डारको नाममा लालपुर्जा छ भने मात्र सरकारी बजेट दिन सकिन्छ, नत्र त सरकारी बजेट दिन सकिँदैन’ । यो सुनेर रावत नेतृत्वमा गएको शीतभण्डारको प्रतिनिधि मण्डल कोहलपुर फर्कियो । कोहलपुर नगरविकास समितिसँग शीतभण्डारका लागि जग्गा उपलब्ध गराउने बारेमा धेरै पटकका छलफलपश्चात् सुरुमा ६ कट्ठाको प्लट भेरी शीतभण्डारको नाममा नगरविकास समितिले जग्गा पास गरिदियो । कोहलपुर नगरविकास समितिको क्षेत्रमा भेरी शीतभण्डारको नाममा ६ कट्ठा जग्गा रहेको लालपुर्जा मन्त्रालयमा पेश गरेपश्चात् मन्त्रालयले भेरी शीतभण्डारको भौतिक पूर्वाधार निर्माण भनेर करिब ४ करोडको बजेट विनियोजन भएको थियो । त्यो बजेटबाट नै भेरी शीतभण्डारको भौतिक संरचना निर्माण सुरु भएको हो । यसको संरचनाको लागि पहिलो पटक मन्त्रालयबाट त्यति ठूलो बजेट ल्याउनुमा डम्बरबहादुर रावतको ठूलो भूमिका रहेको थियो । शीत भण्डारको भौतिक पूर्वाधार निर्माणको लागि टेण्डर भयो र काम हुँदै गयो । कामको गति ढिला भयो । भौतिक संचनाको काम सम्पन्न हुन लामो समय लाग्यो । माओवादीको सशस्त्र द्वन्द्वसँगै निर्माण प्रक्रियाको गति ढिला हुनु पनि स्वभाविकै थियो । २०६२–०६३ को जनआन्दोलनपश्चात् सशस्त्र द्वन्द्वमा रहेको माओवादी पनि शान्ति प्रक्रियामा आयो । २०६३ चैतमा तत्कालीन नेकपा माओवादीसहितको अन्तरिम सरकार बन्यो त्यो सरकारमा कृषि तथा सहकारीमन्त्री बनेका थिए एमालेकै नेता छबिलाल विश्वकर्मा । यता भेरी शीतभण्डार निर्माणकार्यको अन्तिमतिर रकमको अभावले ठेकेदारले काम गर्न नै छोडिदिएको अवस्था थियो । करिब ७५ लाख रकम नहुँदासम्म शीतभण्डारको भौतिक निर्माणको काम सम्पन्न नहुने अवस्था देखिएपश्चात् अन्तरिम सरकारका कृषि तथा सहकारीमन्त्री छबिलाल विश्वकर्मालाई बोलाएर मन्त्रीकै प्रमुख आतिथ्यतामा शीतभण्डारको बैठक बसी मन्त्रालयसँग त्यति रकम माग गर्ने निर्णय भयो र त्यसको प्रस्तावना तयार पारी शीतभण्डारको पदाधिकारी सालिकराम अधिकारीको नेतृत्वमा प्रतिनिधि मण्डल मन्त्रालयमा पुग्यो ।

मन्त्रालयमा जाँदा यो स्तम्भकार समेत शीतभण्डारकै प्रतिनिधिहरुको आग्रहमा उनीहरुसँग मन्त्रालयमा गएको थियो । कृषि तथा सहकारीमन्त्री छबिलाल विश्वकर्मा, मन्त्रालयका तत्कालीन सचिव टेकबहादुर थापा, बाँके र बर्दियाका तत्कालीन एमाले जिल्ला नेतृत्वसहित मन्त्रालयमा बसेको बैठकमा मन्त्री रु ७५ लाख रकम निकाशा गर्ने कुरामा सहमति हुँदाहुँदै पनि सचिव थापाले मन्त्रीलाई नै यसरी कन्भिन्स गरिदिएका थिए, ‘भेरी शीतभण्डारको भौतिक पूर्वाधार निर्माणका लागि यसअघि नै करिब ४ लाख रकम दिइसकिएको छ, सो रकमको अझैसम्म फरफारक पनि भएको छैन, त्यति ठूलो रकमको कारोबार रुजु गर्ने अधिकृतस्तरको कर्मचारी पनि राख्नुभएको छैन, त्यहाँ रकम दुरुपयोग भयो कि भन्ने शंका समेत मन्त्रालयलाई लागेको छ, त्यसैले अहिले यो रकम दिन सकिँदैन मन्त्री ज्यू’ । यो स्तम्भकारकै अगाडि यस्तो भनेपछि मन्त्रीले पनि केही भन्न सकेनन् र हामी पनि त्यहाँबाट निराश भएर उठेर बाहिर निस्कियौँ । बाहिर आएर सालिकराम अधिकारीले मसँग भने, ‘आज सचिवले मन्त्रीलाई कन्भिन्स गरिदिए, मन्त्री नजवाफ भैहाले, हाम्रा नेताहरु पनि हेरेको हेरै भए, अब यसरी हुँदैन, भीम जी तपाईँले भनेको वामदेव गौतमले मान्छन् । तपाईँको सम्बन्ध राम्रो छ । म वामदेवसँग भेट्नलाई समय मिलाउँछु । तपाईँले आज सचिवको कुरा सुनिहाल्नु भयो । वामदेवसँग के कसरी कुरा गर्ने तपाईँलाई हामीले सिकाउन परेन । मन्त्री र सचिव दुवै एमाले हुन । वामदेवकै चेला हुन । अब अन्तिम कुरा वामदेवबाट मात्र सम्भव छ । नत्र अब हुँदैन ।’ वामदेव गौतमले भोलिपल्ट बिहान ८ बजे किसान महासंघको कार्यालय बल्खुमा आउनु भनेर समय दिए । हामीहरु भोलिपल्ट सुनधाराबाट ट्याक्सी लिएर बल्खु पुग्यौँ । सबैले समान अभिवादन गरेपछि अरु कोही नबोल्ने । भीम जी ले मात्र विषय वस्तुको कुरा राख्नु हुन्छ भन्ने सहमति हामीबीच पहिले नै भैसकेको थियो । हामी पुग्यौँ ।

समान्य अभिवादन र सञ्चो विसञ्चो सोधाइपछि सबै विषयवस्तु मैले नै राखेँ । हाम्रो कुरा सुनिसकेपश्चात् ‘म मन्त्री र सचिव दुवैलाई कुरा गरेर खबर गर्छु । तपाईँको फोन नम्बर दिनुहोस्’ भनेर मलाई नै वामदेवले भने । उनले त्यही दिन दिउँसो पार्टी कार्यालय बल्खुमा दुवैलाई बेलाएर कुरा गरेछन् । त्यही दिन ४ बजेतिर वामदेवले मलाई नै फोन गरेर भने, ‘मैले मन्त्री र सचिव दुवैलाई कुरा गरेको छु । तपाईँहरुले हाल मागेको रकम निकाशा दिने कुरा मानेका छन् । भोलि दुई बजे मन्त्री विराटनगर जाने रहेछन् । बिहान ११ बजेभित्रै मन्त्रालयमा पुगिहाल्नु’ । यति भनेपछि भोलिपल्ट मन्त्रालयमा पुग्यौँ र मैले सचिवलाई ‘राजनीति पावरले नभन्दासम्म हुने काम पनि तपाईँहरु गर्न तयार नहुने रै’छ हैन’ भनेर ड्यास दिएँ । हामीले उती नै खेर मन्त्रीको तोक लगाएर सचिवलाई र सचिवले तोक लगाएर सहसचिवलाई पत्र लेख्न लगायौँ । सहसचिवको पत्र लिएर सहकारी विभाग पुल्चोक गएर निकाशाको पत्र लेखायौँ । यसरी रकम आयो र शीतभण्डारको बाँकी निर्माणकार्य सम्पन्न भएको थियो । हाल देशभरी नै कार्यक्षेत्र विस्तार गरिएको भेरी शीतभण्डारको सुरुदेखि नै प्रतिकिसान सेयर सदस्य शुल्क रु एक हजार रहेको छ । हाल करिब ३७ सय सेयर सदस्यहरु रहेको यस संस्थामा ४ हजार मेट्रिकटन भण्डारण गर्न सक्ने क्षमतासहितको ७ तला भवन रहेको छ । एक बिघा क्षेत्रफल जग्गा रहेको भेरी शीतभण्डारको कार्यसमितिमा वास्तविक किसान होइन । यहाँ राजनीतिक दलका नेताहरु तँछाड मछाड गर्दै कार्यसमितिमा छानिन्छन् । यहाँ संस्थाको उद्देश्यप्राप्तिमा होइन, राजनीतिक लाभप्राप्तिको लागि राजनीतिक स्वार्थ प्रेरित काम हुन्छ । यहाँ किसानले होइन, बिचौलिया, व्यापारी र नेताहरुले मात्र फाइदा लिन प्रतिष्पर्धा हुँदै आइरहेको छ । अब त सबैको चेतना खुलोस् ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १५ गते मंगलबार