उर्जा मन्त्रालयका एक हजार २४२ योजना कार्यान्वयनमा



सुर्खेत ।

कर्णाली प्रदेशमा जलस्रोत तथा ऊर्जा विकासतर्फ चालू आर्थिक वर्ष २०८२–८३ मा विनियोजित बजेट धमाधम कार्यान्वयन भइरहेको छ । अन्य मन्त्रालयको तुलनामा प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले बजेट विनियोजन भएका अधिकांश योजना कार्यान्वयनमा ल्याएको हो ।

मन्त्रालयका अनुसार यस वर्ष कूल एक हजार तीन सय ७६ योजनामध्ये एक हजार दुई सय ४२ योजना कार्यान्वयन भइरहेका छन्, जुन करिब ९०.२६ प्रतिशत हो । हाल १३४ योजना कार्यान्वयनकै चरणमा रहेका छन् भने १३९ योजना सम्पन्न भइसकेका छन् । तर विभिन्न कारणले ५६ योजना कार्यान्वयन हुन सकेका छैनन् ।

मन्त्रालयका सूचना अधिकारी इन्जिनियर सागर आचार्यका अनुसार योजनाहरूको कार्यान्वयन दर सन्तोषजनक रहेको छ । जिल्लागत विवरणअनुसार सुर्खेतमा सबैभन्दा धेरै १७७ योजना सञ्चालनमा रहेका छन्, जसमध्ये १६८ योजना कार्यान्वयन भइसकेका छन् ।

त्यस्तै सल्यानमा ७९ मध्ये ७४, दैलेखमा १८३ मध्ये १७४, कालीकोटमा १५९ मध्ये १५३, जुम्लामा १०४ मध्ये ९७ र मुगुमा ९४ मध्ये ८४ योजना कार्यान्वयन भएका छन् । भने रुकुम पश्चिममा १४३ मध्ये १२०, जाजरकोटमा ११३ मध्ये १०२, डोल्पामा १०६ मध्ये १०१ तथा हुम्लामा २२२ मध्ये २०० योजना कार्यान्वयनमा आएका छन् ।

चालू आर्थिक वर्षका लागि मन्त्रालयलाई तीन अर्ब ८३ करोड ३ लाख रूपैयाँँ बजेट विनियोजन गरिएकोमा हालसम्म ९४ करोड २४ लाख रूपैयाँँ खर्च भएको छ । यसमध्ये चालूतर्फ ५३.३ प्रतिशत र पूँजीगततर्फ २२.४१ प्रतिशत खर्च भई कूल बजेट खर्च २४.६० प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

जलस्रोत तथा ऊर्जा विकासमन्त्री बिजया बुढाले अधिकांश योजना सन्तोषजनक रूपमा कार्यान्वयन भएको उल्लेख गर्दै बाँकी योजनाहरू शीघ्र सम्पन्न गर्न निर्देशन दिएकी छन् । बजेट कार्यान्वयनको गति मात्र नभई योजनाको गुणस्तरमा समेत विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १२ गते शनिबार