सडकको पहुँचमा ‘नाचै’



मनाङ ।

मनाङको नासोँ गाउँपालिका–२ नाचै गाउँमा पहिलो पटक सडकको पहुँच पुगेको छ । गण्डकी प्रदेश सरकार र स्थानीय सरकारबाट बजेट विनीयोजन भएपछि गाउँसम्म पुग्ने सडकको ट्रयाक खोलिएको हो। डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोपाखाको भीर कटान गरी सडकको ट्रयाक खोलिएको नासोँ–२ का वडाध्यक्ष रवि गुरुङले जानकारी दिए।

खोत्रो–नाचै मोटर मार्गको ट्रयाक खोलेर पहिलो पटक गाउँमा सडक पुगेकामा स्थानीयवासी खुसी भएका छन्।प्रतिनिधिसभा सदस्य एवम् पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले चीनको तिब्बतको सीमानासँग जोडिएको रुइलाभञ्ज्याङ जोड्ने सबैभन्दा छोटो (७२ किलोमिटर) दुरीमा यस मार्गको विकास गर्न नसकिएको बताए। यसको विकासमा पहलकदमी गरिरहेको र योजनाअनुरुप नाचै गाउँलाई सडक सञ्जालसँग जोडिदा खुसी लागेको बताए।

पर्यटक तथा व्यापारीका लागि सहज बनाउन बनाउन रुइला भञ्ज्याङसम्मको सडक विस्तार गर्नुपर्ने सांसद गुरुङले बताए । सङ्घीयतापछि गाउँगाउँमा सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै विकासकार्यले प्राथमिकता पाएको उनको भनाइ छ।“गाउँलाई सडकको ट्रयाक मात्रै खोलेर पुग्दैन। यसलाई कालोपत्र गर्न आवश्यक छ । मैले सङ्घीय सरकारसँग समन्वय गर्ने काम गर्छु”, सांसद गुरुङले भने, “यसका साथै लालुपाते जलविद्युत् आयोजना निर्माण गर्दा नाचै गाउँ प्रभावित क्षेत्र हो । सडक ढलान, ट्राफिक चिन्ह, गार्ड रेल राखी यस सडकलाई सुरक्षित बनाउन आयोजनाले उत्तरदायित्व पुरा गर्नेछ भनेर अपेक्षा गरेका छौँ ।”

सडकको पहुँचसँगै गाउँलाई ग्रामीण पर्यटनको रूपमा विकास गर्दै यहाँ रहेको अग्लो ताम्राङ झोलुङ्गे पुल (पानीको सतहदेखि ४१२ मिटर उचाइ) को प्रवर्द्धन गर्नु आवश्यक रहेको उनले बताए। सांसद गुरुङले भने, “मनाङको मुख्य आयस्रोत कृषि र पर्यटन हो ।”समुद्री सतहबाट चार हजार १०० मिटर उचाइमा अवस्थित ड्रोना ताललाई पर्यटकीय गन्तव्य बनाएर आयआर्जनसँग जोड्न सकिने उनको भनाइ छ ।

सडक सञ्जालले जोडिएपछि यस क्षेत्रमा विद्युतीकरण, सञ्चारको पहुँच, स्वास्थ्य, शिक्षाका साथै स्वरोजगारीमा टेवा पुग्ने बताइएको छ। गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले सबै क्षेत्रको विकासका लागि एकैसाथ बजेट विनीयोजन गर्न सकस भए पनि एउटा स्थानको विकासपछि अर्कोतर्फ विकासमा प्राथमिकता दिएको बताए ।

गण्डकी प्रदेश सरकारबाट रु एक करोड ९१ लाख बजेट विनीयोजन भएको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार पालिकाबाट समपुरुक र पूर्णअनुदानमा गरी रु एक करोड ५८ लाख विनीयोजन गरी नाचै गाउँलाई सडकसँग जोड्न सकिएको हो। सडकको ट्रयाक खोल्न २०८१ फागुनमा आँखे कुटु कन्स्ट्रक्सन एण्ड प्रालिसँग सम्झौता गरिएको हो ।

सडकको ट्रयाकमा मस्र्याङ्दी नदीमाथि ड्रोना खोला जलविद्युत् आयोजना (लालुपाते जलविद्युत् आयोजना)ले रु १५ लाखमा बेलीब्रिज निर्माण गरेको छ । सडक निर्माण भएपछि नाचै गाउँमा उत्पादन हुने कृषि उपज मुख्य सडकमा ल्याएर गन्तव्यमा ढुवानी गर्न सहज हुने छ। रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार