शंकरप्रसाद पोख्रेल । बुटवल (रुपन्देही) ।
रुपन्देहीको बुटवलमा कृत्रिम गर्भाधानकर्ता तथा पशु प्रजनन क्षेत्रसँग आबद्ध सरोकारवालाबीच एक महत्वपूर्ण अन्तक्र्रिया गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले पशु प्रजनन सेवाको गुणस्तर सुधार, कृषकलाई प्रविधिमैत्री बनाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ गहन छलफल तथा व्यवहारिक प्रशिक्षण प्रदान गरेको थियो।
पशु सेवा विभागका सहसचिव हेमराज अवस्थीले नेपालमा पशुपालन क्षेत्रको आधुनिकीकरण अपरिहार्य रहेको उल्लेख गर्दै कृत्रिम गर्भाधान सेवाको प्रभावकारी विस्तारले दूध तथा मासु उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरे । उनले आत्मनिर्भर कृषि प्रणाली निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति, गुणस्तरीय सेवा र प्रभावकारी व्यवस्थापन अनिवार्य रहेको धारणा राखे ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामनन्दन तिवारीले कृत्रिम गर्भाधान प्रविधि पशु स्वास्थ्य सुधार तथा उत्पादन वृद्धिको आधारस्तम्भ भएको बताए । उनले गुणस्तरीय वीर्य, दक्ष जनशक्ति र समयमै सेवा उपलब्ध गराउन सके कृषकको आय वृद्धि भई समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा. भुमिनन्दन देवकोटाले कृत्रिम गर्भाधानसम्बन्धी तालिममा सहजीकरण गरेका थिए । उनले सहभागीहरूलाई वैज्ञानिक तथा व्यवहारिक ज्ञान प्रदान गर्दै पशु प्रजनन प्रणालीको आधारभूत संरचना, कृत्रिम गर्भाधानको विधि, उपयुक्त समय पहिचान तथा सफल गर्भाधानका लागि आवश्यक व्यवस्थापन पक्षबारे विस्तृत प्रशिक्षण दिएका थिए ।
डा. देवकोटाले गाई–भैँसीमा देखिने बाँझोपनका प्रमुख कारणहरू पोषणको कमी, रोगव्याधी, हर्मोन असन्तुलन तथा व्यवस्थापन कमजोरीबारे स्पष्ट पार्दै तिनको समाधानका व्यावहारिक उपायहरू प्रस्तुत गरेका थिए । उनले कृत्रिम गर्भाधान प्रविधिलाई उन्नत जात विकास, उत्पादन वृद्धि र पशुपालन व्यवसायलाई व्यावसायिक तथा दिगो बनाउन महत्वपूर्ण साधनका रूपमा व्याख्या गरे ।
डा. श्रीराम न्यौपानेले पशु प्रजननको महत्त्वबारे प्रस्तुति दिँदै कृत्रिम गर्भाधानको सही प्रयोग र नियमित अनुगमनले पशुपालन क्षेत्रलाई थप उत्पादनशील र लाभदायी बनाउन सकिने धारणा राखे । निमित्त महानिर्देशक श्रवणकुमार चौधरी, निर्देशनालयका वरिष्ठ अधिकृत लोकराज भुसाल लगायतले आफ्ना धारणा राखेका थिए ।
उनीहरूले यस्ता कार्यक्रमले प्राविधिक, कृषक र नीति निर्माताबीच सहकार्य तथा समन्वयलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी कृत्रिम गर्भाधानकर्ताहरूले आफ्नो कार्यक्षेत्रका अनुभव, समस्या र चुनौतीहरू प्रस्तुत गरेका थिए । उनीहरूले आवश्यक उपकरणको अभाव, तालिमको सीमितता तथा सेवा विस्तारमा देखिएका व्यावहारिक कठिनाइबारे ध्यानाकर्षण गराउँदै थप प्राविधिक सहयोग, क्षमता विकास र नीति सुधारको आवश्यकता औँल्याएका थिए ।
डा. नवीन बस्यालले गोष्ठी तथा तालिममा प्राप्त सुझाव र अनुभवहरूलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समेट्ने योजना रहेको बताए । बुटवलमा सम्पन्न उक्त अन्तक्र्रिया गोष्ठी तथा तालिम कार्यक्रमले कृत्रिम गर्भाधान सेवाको गुणस्तर अभिवृद्धि, पशु प्रजनन व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग र कृषकको उत्पादन तथा आम्दानी वृद्धि गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्