नेपालगन्ज ।
प्रिफम, बोटल, बोटल क्याप, जार क्याप, प्लाष्टिक रोल लगायतका वस्तुहरू उत्पादन गर्दै आएको बाँकेको नेपालगन्जस्थित नेपालगन्ज पेट प्लाष्ट उद्योगको उत्पादन अहिले ठप्प छ । उद्योगका सञ्चालक चिरञ्जीवी ओलीका अनुसार अहिले भारतबाट कच्चा पदार्थ नै पाउन नसकिएपछि उद्योग ठप्प हुन पुगेको हो ।
यसका साथै प्लाष्टिक दानाको मूल्य पनि बढेको छ । ‘ठ्याक्कै डबल भयो पहिले र अहिलेमा । पहिले प्रतिमेट्रिक टन ८६० डलर मूल्य थियो भने अहिले हिजो मैले हेर्दा १५६० डलरको रेट आइरहेको थियो,’ ओलीले भने । बुटवलस्थित प्लाष्टिकका टेबल कुर्सीलगायत घरायसी उत्पादनहरू उत्पादन गर्ने युनाइटेड प्लाष्टि उद्योेगका सञ्चालक तुलसी गुरुङका अनुसार अहिले उद्योगले पहिलेको भन्दा ४० प्रतिशत पनि उत्पादन गर्न सकिरहेको छैन ।
भारतले प्लाष्टिकको कच्चा पदार्थमा भन्दा ग्याँस उत्पादनमा भएकोले कच्चा पदार्थ पाउन नै मुस्किल भइरहेको बताए । अर्काेतिर मूल्यवृद्ध पनि भइरहेकोले उद्योग धान्न अप्ठ्यारो भइरहेको उनको भनाइ छ । प्लाष्टिक उत्पादनमा परेको प्रभावले उपभोक्तालाई पनि असर गरिसकेको छ । अहिले बजारमा पानीदेखि प्याकेजिङ गरिएका सबै वस्तुको मूल्य बढेको छ ।
नेपालगन्जस्थित क्रिष्टिलो पानी उद्योगका सञ्चालक सरद रिजालका अनुसार पेटी पानीको मूल्य २० देखि ३० रूपैयाँँसम्म मूल्य बढेको छ । उनका अनुसार तीन साताजति पहिला कच्चा पदार्थ पाउनै ठप्प भएकोमा पछिल्लो किही दिनयता महंगो र थारै मात्रामा भएपनि कच्चा पदार्थ पाइन थालेको उनले बताए । कच्चा पदार्थको अभाव, मूल्यवृद्धि र आपूर्ति अवरोधले प्लास्टिकजन्य उद्योगहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेका उद्योगीहरू बताउँछन् ।
प्लाष्टिकका सामान उत्पादनका लागि चाहिने पोलिमर पेट्रोलियम पदार्थ हो । जहाँबाट पेट्रोल र एलपिजी ग्यास निकालिन्छ तिनै खानीहरूबाट पोलिमरहरू पनि निकालिन्छ । जसको मुख्य स्रोत हुन् तिनै मध्यपूर्वका खाडी देशहरू । जहाँ अहिले इरानविरुद्ध अमेरिका र इजरायल युद्धमा छन् । मध्यपूर्व विश्वकै प्रमुख तेल उत्पादक क्षेत्र भएकाले त्यहाँको अस्थिरताले विश्वव्यापी आपूर्ति शृंखला खलबलिएको छ ।
भारतीय कम्पनीहरूले नेपाली उद्योगको अर्डर लिन छाडेका छन् भने दक्षिण कोरिया, भियतनाम वा थाइल्यान्डबाट ल्याउन ढुवानी लागत र समयका कारण सम्भव नभएको गुरुङले बताए । उनका अनुसार एलसी खोलेको सामान समेत भारतीय सप्लायर्सले पठाएका छैनन् । हप्ताभित्र कच्चा पदार्थ नआए धेरै उद्योग बन्द गर्नुपर्ने अवस्था आउनेछ ।
लुम्बिनी प्रदेशमा मात्रै साना–ठूला गरी करिब दुई ५२ वटा प्लास्टिक उद्योगमा २० देखि २५ अर्ब रूपैयाँँ लगानी रहेको उद्योगीहरू बताउँछन् । प्लाष्टिक उद्योगले पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी समेत दिएको हुँदा उद्योग प्रभावित हुनुले रोजगारीमा पनि असर गरेको छ ।
नेपालगन्जमा रहेको स्टार पोलिपाइप उद्योगका सञ्चालक एवं नेपालगन्ज उद्योग वाणिज्य संघका एसोसियट सदस्य कमल कार्की अहिलेको अवस्थामा युद्ध कुर्नुको विकल्प नरहेको बताउँछन् । उनी भन्छन्, ‘अहिले उद्योगहरू जेनतेन चलिरहेका छन् । यही स्थिति जारी रह्यो भने उत्पादन ठप्प नै नहोला भन्न सकिन्न ।’









प्रतिक्रिया दिनुहोस्