राप्रपा बाँकेका नेता कार्यकर्ताको सामूहिक राजीनामा



नेपालगन्ज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँके जिल्लाका नेता तथा कार्यकर्ताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन् । राप्रपाका महामन्त्री तथा बाँके जिल्ला निवासी नेता डा. धवलशमशेर राणाले पार्टी परित्याग गरी नयाँ पार्टी बनाउनका लागि अभियान चलाइरहेका बेला उनको गृहजिल्लाबाट आएकोे सामूहिक राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि राप्रपाका बाँके निवासी नेता तथा सहायक महामन्त्री ऋषिराज देवकोटाले अबको बाटोबारे सोमबार छलफल नभएको र केही दिनमा फेरि बसेर निर्णय लिइने बताए ।

तपाईँहरु डा. राणाको अभियानमा जोडिनुभएको हो ? भन्ने प्रश्नमा उनले ‘होइन’ भन्ने जवाफ दिएनन् । बरु आफूहरु राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डालाई सशक्त ढंगले उठाउने अभियानमै जोडिने बताए । यद्यपि उनले अब फेरि राप्रपामा नफर्किने बताए । सामूहिक राजीनामाबारे जारी विज्ञप्तिमा पार्टी नेतृत्वले राजसंस्था, सनातन हिन्दु राष्ट्र, र प्रदेश संरचनाको खारेजीजस्ता मूल एजेन्डा र विचारलाई इमानदारिताका साथ अगाडि बढाउन नसकेको आरोप लगाइएको छ ।

सोमबार भएको भेलापछि जारी गरिएको प्रेस विज्ञप्तिमा राजीनामा दिनुका मुख्य कारणहरूमा नेतृत्वमा ऐजेण्डाप्रतिको अविश्वास देखिएको, अध्यक्ष स्वयंले ‘आन्दोलन राप्रपाको एजेन्डाभित्र नपर्ने’ अभिव्यक्ति दिएको र पार्टीको मूल नीतिविपरीत प्रदेशमा सभामुख र उपसभामुख बनाउने कार्य गरेको उल्लेख गरिएको छ । यसैगरी आसन्न महाधिवेशनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न अध्यक्षहरूले गरेको अनुरोधलाई लत्याउँदै पार्टीमा गुटगत राजनीति हाबी बनाएको, गएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ९७ प्रतिशत उम्मेदवारहरूको धरौटी जफत हुनुका साथै अध्यक्ष स्वयं पराजित हुनुले वर्तमान नेतृत्व पूर्ण रूपमा असफल सिद्ध भएको दाबी गरिएको छ ।

यसैगरी प्रदेश खारेज गर्ने एजेण्डाविरुद्ध प्रदेशमै सभामुख र उपसभामुख बनाउने काम गरिएकोमा पनि आपत्ति जनाइएको छ । विज्ञप्तिमा बाँकेका जिल्ला, क्षेत्र, नगर र वडा तहका क्रियाशील सदस्यहरूले सामूहिक रूपमा पार्टी परित्याग गरी स्वतन्त्र रूपमा रहने निर्णय गरेको उल्लेख छ । साथै, आगामी दिनहरूमा राजसंस्था र सनातन हिन्दु राष्ट्रको मूल एजेन्डालाई अगाडि बढाउन सत्यनिष्ठाका साथ लागिरहने प्रतिबद्धता पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

नेता देवकोटाले राप्रपाले राजसंस्था विरोधीहरुसँग साँठगाँठ गरेर सत्तामा पुगेको यसका समर्थकहरुले कहिल्यै मन नपाउने भए पनि नेतृत्वले बारम्बार गल्ती दोहो¥याउँदै आएको बताए । वर्तमान अध्यक्ष लिङ्देनले कमल थापाको सत्तामा पुग्ने प्रवृत्तिकै विरुद्ध मत पाएर अध्यक्ष भएको तर उनले पनि उही प्रवृत्ति देखाएको, आफूहरुको सुझाव नसुनेको र एजेण्डालाई सशक्त ढंगले उठाउन नसकेको आरोप लगाए ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार