कञ्चनपुर ।
तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबिच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिए ।
उनका अनुसार विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा तीनै विश्वविद्यालयका उपकुलपतिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा डा विनोद लेखकले समझदारीले विश्वविद्यालयबिचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । “उच्च प्राज्ञिक जनशक्तिको अभावलाई डिजिटल माध्यमबाट पूर्ति गर्दै दक्ष जनशक्ति व्यवस्थापनमा यो सम्झौता कोशेढुङ्गा सावित हुन्छ”, उनले भने, “यो समझदारीले शिक्षक तथा विद्यार्थीहरूको अध्ययन र अनुसन्धान कार्यलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरेका छौँ ।”
तीन विश्वविद्यालयबीच शैक्षिक स्रोत, अनुसन्धान, प्रविधि र अनुभव आदानप्रदानलाई संस्थागत गर्ने लक्ष्य राखेको छ ।विशेषगरी ‘डिजिटल प्लेटफर्म’मार्फत संयुक्त कक्षा सञ्चालन, अनुसन्धान सहकार्य र प्राध्यापकहरूको साझा उपयोगजस्ता कार्यक्रम अघि बढाइने छ । यो सहकार्यले उच्च शिक्षामा गुणस्तरवृद्धि, स्रोतको प्रभावकारी उपयोग तथा आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणालीको विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्