नन्दराम जैशी । सुर्खेत ।
सुर्खेतकी किशोरी इनिशा विकको हत्या भएको १८ दिन बित्दा पनि उनको अन्तिम संस्कार हुन सकेको छैन । घटनाको अनुसन्धानले ठोस निष्कर्ष ननिकालेसम्म शव नबुझ्ने मृतक इनिशाका बुबा इन्द्रबहादुर विकले बताए । उनी रोजगारीको सिलसिलामा विदेशमा थिए । छोरीको मृत्युको खबर पाएपछि यूएईबाट उनी तत्काल नेपाल फर्किएका थिए ।
तर कम्पनीले दिएको बिदा सकिन लाग्दा पनि घटनाको अनुसन्धानमा प्रगति नदेखिएको भन्दै उनी चिन्तित छन् । इन्द्रबहादुरलाई कम्पनीले दिएको बिदा सीमित छ । एकातिर छोरीको शव छ भने अर्कोतिर कामको बाध्यता पनि उस्तै छ । परिवारका सपना बोकेर परदेश गएका उनले छोरीको दुःखद खबर सुन्ने कल्पना पनि गरेका थिएनन् ।
‘घरमा आउने–जाने मानिसहरूदेखि छिमेकी, आफन्त, अधिकारकर्मी सबैले सहानुभूति दिन्छन्, आश्वासन दिन्छन् । तर आश्वासनले न्याय दिन सकेको छैन,’ इन्द्रबहादुरले भने, ‘१८ दिन भइसक्यो । तर यहाँ परिस्थिति सामान्य छैन । छोरीसँगै न्याय पनि गुम्ला कि भन्ने चिन्ता छ । प्रत्येक दिन, प्रत्येक रात, एउटै प्रार्थना छ, दोषीलाई कारबाही होस् ।’
पीडित परिवारले दोषीलाई पहिचान गरी कानुनी कारबाहीको सुनिश्चितता नभएसम्म अन्तिम संस्कार नगर्ने अडान लिइएका छन् । यता इन्द्रबहादुरको बिदा सकिन लागेसँगै उनी पुनः विदेश फर्कनुपर्ने बाध्यता बढ्दै गएको छ । एकातिर छोरीको शव, अर्कोतिर रोजगारीको चिन्ताले उनी दोधारमा परेका छन् ।
स्थानीयवासी तथा अधिकारकर्मीहरूले पनि घटनाको छिटो र निष्पक्ष अनुसन्धानको माग गरेका छन् । उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएका छन् । उता प्रहरी पक्षले भने अनुसन्धान जारी रहेको जनाएको छ । घटनाबारे थप विवरण सार्वजनिक गर्न मिल्ने अवस्थामा नरहेको जनाइएको छ ।
घटनाले स्थानीयस्तरमा आक्रोश बढाएको छ भने पीडित परिवार न्यायको प्रतीक्षामा बसिरहेको छ । ‘जबसम्म निष्पक्ष र विश्वसनीय छानबिन हुँदैन, तबसम्म छोरीको शव बुझ्दैनौँ’ भन्ने परिवारको अडानका कारण इनिशाको पार्थिव शरीर अझै कर्णाली प्रदेश अस्पतालको शवगृहमा न्याय कुरिरहेको छ । यो घटनाले केवल एउटा परिवारलाई मात्र होइन, सिङ्गो मुलुकलाई नै आन्दोलित बनाएको छ ।
गत फागुन २३ गते विद्यालय हिँडेकी इनिशा सहिदपार्क नजिक सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । सोही दिन प्रहरीले १६ वर्षीय एक किशोरलाई नियन्त्रणमा लियो र उनको बयानका आधारमा थप तीनजना पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान जारी रहेको बताए पनि १८ दिनसम्म ‘वास्तविकता’ बाहिर नआउँदा परिवारमा संशय बढेको हो ।
यता भेरी अस्पतालका फरेन्सिक विज्ञको टोलीले गरेको पोस्टमार्टममा ‘यौनाङ्गमा लागेको गम्भीर चोट र अत्यधिक रक्तस्राव’लाई मृत्युको कारण देखाएको छ । तर, इनिशाकी आमा तिला विकले यो रिपोर्टप्रति कडा असन्तुष्टि जनाएकी छन् । ‘छोरीलाई जुन अवस्थामा मैले फेला पारेकी थिएँ, त्यो हेर्दा यो रिपोर्टमा मलाई सुरुदेखि नै शङ्का रहेको छ ।’ उनले भनिन् ।
‘श्रीमान् इन्द्रलाई कम्पनीले दिएको एक महिनाको बिदा सकिन लाग्यो । अनुसन्धानले ठोस मोड लिन सकेको छैन,’ उनले भनिन्, ‘प्रहरीले अझै रिपोर्ट आउँदै छ मात्र भन्छ, के–के विषयमा अनुसन्धान भइरहेको छ ? हामीलाई अत्तोपत्तो छैन । यो ‘रहस्यमय’ ढिलाइले कतै न्याय मर्न लागेको त होइन भन्ने त्रास बढेको छ ।’
जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीका अनुसार सीआईबीसहित प्रहरीका चारवटा टोलीले यस घटनालाई सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छन् । प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार टक्सिकोलोजिकल, भिसेरा र बायो सेरोलोजिकल रिपोर्ट अब छिट्टै आउने र त्यसपछि अनुसन्धानको पाटो सकिनेछ । तर सामाजिक सञ्जालमा हुने मनगढन्ते अड्कलबाजी र अपुष्ट सूचनाले अनुसन्धानमा बाधा पु¥याएको प्रहरीको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्