नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशमा राजमार्ग सुरक्षा गस्तीसँगै ट्राफिक सचेतनाका कार्यक्रमलाई ट्राफिक प्रहरीले तीव्रता दिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगर सुर्खेतले राजमार्ग सुरक्षा गस्तीलाई तीव्र बनाएको हो । साथै, कार्यालयले ट्राफिक व्यवस्थापन तथा सचेतनामूलक कार्यक्रमलाई पनि प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ ।
कार्यालयका अनुसार फागुन महिनामा राजमार्ग सुरक्षा गस्तीअन्तर्गत रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोर लगायतका मुख्य राजमार्ग तथा भित्री सडकखण्डहरूमा नियमित गस्ती सञ्चालन गरिएको थियो । कार्यालय तथा मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूको नेतृत्वमा ती क्षेत्रमा निगरानी बढाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर बिसीले बताए ।
उनका अनुसार फागुम महिनामा समुदाय तथा विद्यालयकेन्द्रित विभिन्न ट्राफिक सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । जसमा विद्यालय तथा कलेजमा ट्राफिक सचेतना कक्षा ५७ पटक सञ्चालन गर्दा पाँच हजार १३ जना लाभान्वित भएको उनले बताए । नयाँ चालकलाई लक्षित गर्दै २८ पटक कक्षा सञ्चालन गर्दा एक हजार ४५६ जना सहभागी भएका थिए ।
त्यसैगरी, व्यवसायी तथा चालक परिचालकहरूका लागि २४ पटक कार्यक्रम सञ्चालन गरी एक हजार १२८ जनालाई सचेतना प्रदान गरिएको छ। स्थानीय टोल समुदायका सर्वसाधारणलाई लक्षित गरी ३८५ पटक कार्यक्रम सञ्चालन हुँदा २२ हजार ३३६ जना लाभान्वित भएको सूचना अधिकारी बिसीले जानकारी दिए । ‘यात्रु तथा पैदलयात्रीहरूका लागि सुरक्षित यात्रा तथा बाटो काट्नेसम्बन्धी ३५ वटा कार्यक्रममार्फत दुई हजार ६३ जनालाई जानकारी प्रदान गरिएको थियो,’ उनले भने, ‘यसरी, कूल ५२९ पटक कार्यक्रम सञ्चालन गर्दा ३२ हजार ५६ जना लाभान्वित भएका थिए ।’
यता, प्रहरी कार्यालयको हेल्पलाइन तथा ड्युटी अधिकृतमार्फत प्राप्त गुनासाहरूलाई समेत सम्बोधन गरिएको छ । साथै, कारबाहीमा परेका कागजात, दुर्घटना सिफारिस, छलफल तथा मिलापत्रलगायत सेवाग्राहीहरूको कूल सङ्ख्या दुई हजार १३४ जना रहेको कार्यालयले जनाएको छ । प्रहरीले ट्राफिक नियमको पालना, सुरक्षित यात्रा र सचेत व्यवहार अपनाउन सबैमा आग्रह गर्दै राजमार्ग सुरक्षा गस्तीलाई आगामी दिनमा अझ सुदृढ बनाउने जनाएको छ ।
राजस्व संकलन बढ्दै
कार्यालयका अनुसार फागुन महिनामा सवारीसाधनमाथि गरिएको ट्राफिक कारबाहीबाट उल्लेखनीय राजस्व संकलन गरेको छ । सो अवधिमा कूल एक हजार ४३१ वटा सवारीसाधनमाथि कारबाही गरिएको थियो । जसबाट १३ लाख ८० हजार रूपैयाँँ राजस्व संकलन भएको सूचना अधिकारी बिसीले जानकारी दिए ।
उनका अनुसार फागुन महिनाभर ट्राफिक प्रहरीले ७८ हजार ८३९ वटा सवारीसाधनको चेकजाँच गरेको थियो । सवारी दुर्घटनातर्फ भने ९३ वटा दुर्घटना भएको तथ्यांक सार्वजनिक गरिएको छ । ती दुर्घटनामा १३१ वटा सवारीसाधन संलग्न रहेका थिए । दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ, जसमा सातजना पुरुष र एकजना महिला रहेको कार्यालयले जनाएको छ ।
यस्तै, दुर्घटनामा १६० जना घाइते भएका छन् । घाइतेमध्ये ९३ पुरुष, ४७ महिला, १० बालक र १० बालिका रहेका छन् । तीमध्ये ६४ जनाको अवस्था गम्भीर र ९६ जना सामान्य घाइते भएका थिए । सबै दुर्घटनामा ट्राफिक प्रहरीले सक्रिय रूपमा उद्धार कार्य गर्दै ९३ वटै घटनामा उद्धार गरेको कार्यालयले जनाएको छ ।
तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना सवारी चालकको लापरबाहीका कारण भएको देखिएको छ । जसको सङ्ख्या ६८ रहेको छ । तीमध्ये तीव्र गति, मापसे, चालकको असक्षमता तथा गलत स्थानमा पार्किङजस्ता कारण प्रमुख रहेका छन् भने ब्रेक फेल हुने समस्याजस्ता सवारीसाधनकै कारण ११ वटा दुर्घटना भएका छन् ।
यात्रु स्वयंको ध्यान नदिँदा एउटा दुर्घटना र सडकको अवस्थाका कारण चारवटा दुर्घटना भएका छन् । प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न, सावधानी अपनाउन र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्