ढकेरीमा रहेको छ ढकेरी वनस्पति उद्यान । जहाँ ढकमक्क फूलेका अनेकथरीका फूलहरू रहेका छन् । स्वच्छ र सफा रमणीय वातावरण । जता हे¥र्यो उतै रमाइलो र मनमोहक दृश्य । त्यही ढकमक्क फूल र मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ । जसका कारण अहिले दैनिक एक हजार आन्तरिक तथा बाह्य पर्यटकहरू अवलोकन गर्नुका साथै घुम्न आउने गरेका छन् । पूर्वपश्चिम राजमार्ग छेउमै रहेको ढकेरीस्थित वनस्पति उद्यान पछिल्लो समय सबैको रोजाइमा पर्न थालेको छ ।
गणेश रावत । कोहलपुर ।
बाँकेको राप्ती सोनारी गाउँपलिका–९ ढकेरीमा रहेको छ ढकेरी वनस्पति उद्यान । जहाँ ढकमक्क फूलेका अनेकथरीका फूलहरू रहेका छन् । स्वच्छ र सफा रमणीय वातावरण । जता हे¥र्यो उतै रमाइलो र मनमोहक दृश्य । त्यही ढकमक्क फूल र मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गर्छ ।
जसका कारण अहिले दैनिक एक हजार आन्तरिक तथा बाह्य पर्यटकहरू अवलोकन गर्नुका साथै घुम्न आउने गरेका छन् । पूर्वपश्चिम राजमार्ग छेउमै रहेको ढकेरीस्थित वनस्पति उद्यान पछिल्लो समय सबैको रोजाइमा पर्न थालेको छ । बाँके कोहलपुर–११ की स्थानीय मनिशा रोकाया आफ्ना साथीहरूसँगै उद्यान घुम्न पुगेकी थिइन् । सामाजिक सञ्जालबाटै जानकारी पाएकाले साथीहरूसँगै मिलेर घुम्न आएको उनले बताइन् ।
ढकेरी उद्यान कोहलपुरदेखि नजिकै र रमणीय वातावरण रहेकाले सबैले घुम्नुपर्ने ठाउँ रहेको उनी बताउँछिन् । ‘मैले टिकटकमा अरुले बनाएको भिडिओहरू हेरेकी थिएँ । सारै घुम्न आउने मन लागेको थियो,’ उनले भनिन्, ‘त्यसैले आज साथीहरूसँगै घुम्न आएकी हुँ । साँच्चिकै फूलहरूको मनमोहक दृश्यले मन लोभ्याउने गर्छन् । हामीले पनि फोटो र टिकटक भिडिओ बनाएका छौँ ।’ साथीहरूसँगै केही समय भए पनि उद्यानमा घुमेर फ्रेस भएको उनी बताउँछिन् ।
उनी मात्र होइन् ६० वर्षीया निर्मला भट्टराई पनि बैजनाथदेखि उद्यानमा घुम्न पुगेकी थिइन् । सधैँ घरमा बस्दा समय बिताउन गाह्रो भएकाले रमाइलो गर्न ट्याक्सी चढेर उद्यानसम्म पुगेको उनले बताइन् । उनले समय मिले सबै जनालाई एक पटक उद्यानमा घुम्न आउन समेत आग्रह गरिन् ।
‘सबैले राम्रो छ भनेको सुनेकी थिएँ,’ उनले भनिन्, ‘यहाँ पुग्दा साँच्चिकै राम्रो रहेछ । चारैतिर फूलहरू फुलेका छन् । धेरै जना फोटो खिच्ने र भिडिओ बनाउन आउने रहेछन् । हामीले पनि फूलहरूसँग रमायौँ र घुम्यौँ ।’ तर, यहाँ घुम्न आउनेहरूले फूलहरू भाँचेको र चुँडेको देख्दा अलि नरमाइलो लागेको उनी बताउँछिन् ।
फूलका बगँैचामा गएर फोटो खिच्न खोज्दा फूलहरू कुल्चने र कतिपयले फूल चुँडाल्ने गरेको भन्दै उनले दुःख व्यक्त गरिन् । फूलहरूसँग अलि टाढा रहेर फोटो र भिडिओहरू बनाउन सुझाव दिँदै उनले फूलको क्षति नपु¥याएर मनोरञ्जन लिन सबैलाई आग्रह गरिन् । उनी भन्छिन्, ‘ढकेरी वनस्पति उद्यानले फूल र बिरुवा हुर्काएर कति राम्रो बनाउनु भएको छ । तर, हामी हेर्न आउने मान्छेले त्यसलाई ख्याल नगर्दा फूलहरू कुल्चिएका छन् । त्यसैले फूल र बिरुवाको क्षति नहुने गरेर रमाउनु हामी सबैको दायित्व हो । यसको संरक्षण गरे हामीलाई फाइदा पु¥याउँछ ।’
एकातिर उद्यानमा पर्यटकहरूको घुइँचो लाग्दा अर्काेतर्फ ई–रिक्सा र ट्याक्सी चालकहरूले समेत यात्रुहरू पाइरहेका छन् । कोहलपुरदेखि उद्यानसम्म र उद्यानदेखि कोहलपुरसम्म यात्रुहरूलाई पु¥याउँदा आम्दानी राम्रो भइरहेको ई–रिक्सा चालक रन्नबहादुर बस्नेत बताउँछन् । ‘केही समयदेखि ई–रिक्सा रिजर्भ गरेर घुम्न जानेहरू कोहलपुरका धेरै नागरिकहरू हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरूले आउने र जाने गरेर रिजर्भ गुर्नहुन्छ । यात्रुहरू खोज्दै हिँड्नुपर्ने अवस्था केही दिनदेखि अन्त्य भएको छ ।’
यस्ता पर्यटकीय ठाउँहरू भए यातायात व्यवसायीलाई पनि राम्रो हुने उनी बताउँछन् । कोहलपुर र नेपालगन्जमा घुम्नलाई कुनै पनि राम्रो ठाउँहरू नहुनु दुःखद् पक्ष रहेको गौसरी महताराले बताइन् । कोहलपुरमा अब घुम्ने रमणीय पार्क र स्थलहरू निर्माण हुन आवश्यक रहेको उनको भनाइ थियो । नागरिकहरूलाई मनोरञ्जन लिने र फ्रेस हुनलाई रमणीय सार्वजनिक स्थलको निर्माण हुन आवश्यक रहेको बताइन् ।
घरमा बस्दा र काम गर्दा थकित भएको मनलाई उद्यानमा आएर मनोरञ्जन लिन पाउँदा खुसी लागेको उनले बताइन् । ‘कोहलपुरमा कतै घुम्न जाउँ भने घुम्ने नै ठाउँ छैनन्,’ उनले भनिन्, ‘नजिकै ढकेरीमा छ भनेर यहाँ आएका हौँ । जे होस् रमाइलो रहेछ । परिवार सबैले फोटो खिच्ने र रमाइलो गर्ने अवसर मिल्यो । उद्यान फूलले ढकमक्क र सुन्दर छ ।’ समय मिले सबैलाई यहाँ घुम्न र मनोरञ्जन लिन उनले आग्रह गरिन् ।
२०५६ सालमा स्थापना भएको वनस्पति उद्यानमा विगत केही वर्षयता ढकमक्क फूलहरूसँग रमाउन र घुम्न आउनेहरूको सङ्ख्या बढिरहेको ढकेरी वनस्पति उद्यानका प्रमुख दिनेश बरालले बताए । उद्यानमा विशेषगरी एउटा जडिबुटीको अध्ययन अनुसन्धान गर्न र अर्काेतर्फ मनोरञ्जन लिन आउने गरेको उनको भनाइ छ ।
दुईवटै वर्गका व्यक्तिलाई लक्षित गरेर लोपोन्मुख जडिबुटीको संरक्षण र फूलहरूको सौन्दर्यीयकरण गर्ने गरेको उनी बताउँछन् । ‘यहाँ दुई प्रकारका आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउने गर्छन्,’ उनले भने, ‘एउटा चाहीँ अध्ययन अनुसन्धान गर्न र अर्काे फोटो, टिकटक र भिडिओ बनाउनुका साथै मनोरञ्जन लिन आउने गर्छन् ।’
उद्यानमा घुम्न र अनुसन्धान गर्न आउनेलाई लक्षित गरेर लोपोन्मुख बोटबिरुवाको संरक्षण र सौन्दर्यीयकरण गर्ने गरेको उनी बताउँछन् । उनका अनुसार समुद्री सतहबाट १ सय ६० मिटर उचाइमा रहेको उद्यान करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्यानमा वनस्पतिको अध्ययन, जडिबुटी एवम् गैरकाष्ठ वनपैदवार सर्वेक्षण, संवद्र्धन तथा वनस्पतिको रासायनिक गुणहरूको प्रतिफल स्थानीय स्तरमा पु¥याउने काम समेत गरिने उनले बताए ।
उद्यानमा मुख्य गरेर लोपोन्मुख जडिबुटी संरक्षण, वनस्पतिको अध्ययन अनुसन्धान, वनस्पतिको शिक्षाको प्रचार र मनोरञ्जन स्थलको रूपमा प्रवद्र्धन गर्दै आइरहेको उनले जानकारी दिए । उनका अनुसार पछिल्लो समय उद्यानको प्रचारप्रसार हुँदा अध्ययन अनुसन्धन गर्न र घुम्न आउनेहरूको चहलपहल बाक्लो रहेको छ । विशेषगरी फागुन महिनादेखि फूलहरू फुल्ने समय रहेकाले आन्तरिक तथा बाह्य पर्यटहरू उद्यानमा पुग्ने गरेको उनी बताउँछन् ।
पछिल्लो समय उद्यानमा घुम्न आउनेहरूको भिड लाग्न थालेपछि प्रवेशका लागि टिकटको शुल्क निर्धारण गरिएको छ । १० वर्षमुनिकालाई १० रूपैयाँँ, १० वर्षमाथिकालाई २० रूपैयाँँ र ज्येष्ठ नागरिकहरूलाई ५ रूपैयाँँ प्रवेश शुल्क रहेको उनी बताउँछन् । ‘हामीले टिकटको व्यवस्थापन गरेको धेरै समय भएको छैन्,’ उनले भने, ‘गैर नाफामूलक संस्था रहेकाले २० रूपैयाँँ मात्रै टिकटको शुल्क तोकेका छौँ । यो नितान्त सरकारको राजस्वको रूपमा जम्मा हुन्छ ।’
पछिल्लो समय मासिनहरूको चहलपलह बढेसँगै फूलहरू र बिरुवा संरक्षणमा थप चुनौती थपिएको उनी बताउँछन् । उनका अनुसार जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले विभिन्न वनस्पति प्रजातिको संरक्षण गर्ने कार्य भइरहेको छ । वैज्ञानिक तथा शैक्षिक प्रयोजनका लागि दुर्लभ तथा लोपोन्मुख प्रजातिको संरक्षण, आर्किड–संरक्षण तथा अन्य प्रदर्शन प्लटहरूको व्यवस्थापन गरिएको उनले बताए ।
शैक्षिक प्रयोजनका लागि जुम्ला र सुर्खेत लगायतका ठाउँहरूबाट विद्यार्थीहरू पुग्ने गरेको उनले जानकारी दिए । अहिले विशेषगरी धेरै कोहलपुर, बैजनाथ र नेपालगन्जका नागरिकहरू उद्यानमा घुम्न आउने गरेको उनले बताए । उनका अनुसार उद्यानभित्र श्रीखण्ड बगैँचा, वानस्पतिक पारिवारिक बगैँचा, शैक्षिक बाटिका, जडिबुटी नर्सरी, फूलहरू, संरक्षित मुख्य प्रजातिमा सर्पगन्धा, कुचिला, सिकाकाई, अपामार्ग, बोझो, बेल, अमला, कुरिलो, बेतलौरी, आँक, राजवृक्ष, कालो मुस्ली, तेजपात, सितलचिनी, सोनटाटा, सिन्दुर, खयर, अनन्तमुल, गुडमार, सिमलतरुल, विजयसाल, सतिसाल, अर्जुन, गुर्जो लगायत रहेका छन् ।
बिरुवा र फूलहरू संरक्षणमा देखिएको चुनौती न्यूनीकरण गर्नका लागि आगन्तुकहरूलाई सचेतना फैलाउने र संरक्षणका लागि क्यारि पनि निमार्ण गर्ने काम भइरहेको उनी बताउँछन् । ‘फूलहरू नटिप्नुस् र नचुँड्नुस् भन्दा कतिपयले मानिरहेको अवस्था छैन्,’ उनले भने, ‘यसमा मानिसहरूको चेतनामा भर पर्ने रहेछ । हामीले मौखिक रूपमा सचेतना फैलाउने काम त गरिहेका छौँ । त्यसका लागि क्यारिका संरचना परिवर्तन गर्ने काम पनि गरेका छौँ । त्यसबाहेक हामीसँग अरु विकल्प छैन् ।’









प्रतिक्रिया दिनुहोस्