१५ वर्षको उमेरमै पञ्चायविरोधी आन्दोलनमा सरिक भएका गगन थापा राजतन्त्रविरोधी आन्दोलनसम्म आइपुग्दा २०६२–०६३ को आन्दोलनको ‘पोस्टर व्वाई’ थिए । तीन दशकदेखि आशा, विद्रोह र रुपान्तरणलाई एजेन्डा बनाएका थापा जेनजी विद्रोहसम्म आइपुग्दासम्म संसदीय राजनीति र पार्टी राजनीतिमा निरन्तर उकालो यात्रामै थिए । विशेष महाधिवेशनबाट पार्टीको शीर्षस्थानमा पनि पुगे । तर पार्टी सभापतिका रुपमा चुनावपछि प्रधानमन्त्रीको महत्वकांक्षासहित मधेश झरे पनि रास्वपाप्रतिको जनलहरले उनलाई मूलधारको राजनीतिको किनारामा धकेलिदिएको छ ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन्, विपी कोइराला । नेपाली काँग्रेसका संस्थापक नेता रहेका कोइरालाको नेपालको राजनीति र साहित्य क्षेत्रमा विशिष्ट योगदान छ । उनी राजनीतिमा विपी र साहित्यमा विश्वेश्वरप्रसाद कोइराला नामले परिचित छन् । तीनै कोइरालाद्वारा लिखित एउटा उपन्यासको नाम हो, ‘तीन घुम्ती’ । त्यो कोइरालाको प्रसिद्ध मनोवैज्ञानिक उपन्यास हो । जसमा नारीका तीन रुप– प्रेमीका, पत्नी र आमाको चित्रण गरिएको छ ।
राजनीतिमा भने विपी कोइराला प्रजातान्त्रिक समाजवादका आदर्श थिए । भारतीय नेता महात्मा गान्धी र जवाहरलाल नेहरु जस्ता नेताहरुबाट प्रभावित भएर राजनीतिमा होमिएका थिए । लामो समय भारत निर्वासनमा बसेका विपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । नेपाली राजनीतिमा उनलाई एक आदर्श राजनीतिज्ञ, राजनेता र जनसेना जस्ता नामले पुकारिन्छ । तीनै विपी कोइरालाई आफ्नो आदर्श नेता मान्छन्, गगन थापा । जो अहिले नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपालकी काँग्रेसका सभापति छन् ।
विशेष महाधिवेशनबाट थापा काँग्रेसको शीर्ष नेतृत्वमा पुगेको दुई महिना पनि पुगेको छैन । उनी माघ १ गते विशेष महाधिवेशनबाट सभापति चुनिएका थिए । नेपालको पुरानो प्रजातान्त्रिक पार्टीका सभापति चुनिएको ५० दिनमै संसदीय चुनावमा पराजित भएका छन् । जसले गगनको १८ वर्षको संसदीय यात्रामा बे्रक लागेको छ । सभापति थापा सर्लाही ४ बाट पराजित हुन पुगे ।
थापालाई उनकै पूर्वसहकर्मी तथा कुनैबेला नेपाली काँग्रेसकै नेता रहेका डा.अमरेशकुमार सिंहले पराजित गरेका हुन् । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी थापाले २२ हजार ८३१ मत ल्याए । थापा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासमेत रहेका सिंहसँग १२ हजार ८५६ मतको भारी मतान्तरले पराजित हुन पुगे । पराजित भएपछि सभापति सभाले सिंहलाई बधाई दिँदै लेखेका छन्, ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ! मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु ।’
सभापति थापा मात्रै होइन नेपाली काँग्रेसका पदाधिकारीहरुसमेत चुनावमा पराजित भएका छन् । २०६४ यता निरन्तर सदनमा रहँदै आएका थापा आगामी सदनमा भने देखिने छैनन् । नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल बन्ने निश्चित जस्तै छ । चुनावमा थापा मात्रै पराजित भएनन्, उनले राजनीतिक पराजयसमेत भोगेका छन् । यो उनको व्यक्तिगत हार मात्रै होइन । यो नेपाली काँग्रेसको अनपेक्षित र लज्जास्पद हार हो । आगामी प्रधानमन्त्रीकै रुपमा हेरिएका थापा पराजित भएपछि नेपाली काँग्रेस रक्षात्मक भएको छ ।
पार्टी नेताको रुपमा सभापति थापाको आगामी राजनीतिक करिअर नै अन्यौलग्रस्त बनेको छ । थापा नेतृत्वको काँग्रेसले ‘बदलिएको काँग्रेस’को भाष्य स्थापित गर्न असफल रह्यो । रास्वपाप्रतिको अभूतपूर्व जनलहरसँग नेपाली काँग्रेस २.० अत्यन्तै निरीह ठहरियो । नेपाली काँग्रेस अहिलेको अवस्थामा पुग्नुको कुनै न कुनै रुपमा सभापति थापा पनि भागिदार छन् । उनी पहिलोपटक २०६४ को संविधानसभामा समानुपातिक सांसद बनेका थिए ।
२०७० सालदेखि काठमाडौँ ४ बाट निर्वाचन लड्दै आएका थापा यसपटक सर्लाही ४ मा गएका थिए, जहाँ उनी भारी मतान्तरले पराजित हुन पुगे। २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ सालमा काठमाडौँ ४ बाट निर्वाचित भएका थिए । सभापति थापाको यो हार उनको राजनीतिक जीवनको यस्तो घुम्ती बन्नेछ । जहाँबाट उनी कसरी माथि उठ्छन् भन्ने यक्ष प्रश्न उब्जिएको छ । पार्टी सभापतिको रुपमा यो सर्वनाक हारको जिम्मेवारी लिनुपर्ने त छँदैछ । उनी अब पार्टी राजनीतिमा कसरी अघि बढ्छन् भन्ने कुरा आगामी दिनले बताउला नै त्यो भन्दाअघि नेपाली काँग्रेस यस्तो अवस्थामा किन आइपुग्यो भन्ने विषयमा समीक्षा जरुरी छ ।
त्यसो नेपाली काँग्रेसको पछिल्लो जनमत मिश्रित थियो । पछिल्ला चार संसदीय निर्वाचनलाई हेर्दा मात्रै पनि नेपाली काँग्रेस कहिले पहिलो त कहिले दोस्रो दल बन्दै आएको छ । अघिल्लो निर्वाचनमा पहिलो दल बनेको नेपाली काँग्रेस २०७४ मा दुई कम्युनिष्ट पार्टी मिलेर बहुमत ल्याउँदा ६२ सिटमा सीमित हुन पुगेको थियो । २०७० नेपाली काँग्रेस पहिलो दल बनेको थियो भने २०६४ मा दोस्रो दल बनेको थियो । यसपटक संसद्को दोस्रो दल बने पनि निकै कमजोर शक्ति हुनेछ नेपाली काँग्रेस ।
यसपटक नयाँ शक्तिको रुपमा हेरिएको रास्वपाले नेपालका परम्परागत दुई शक्ति नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुलाई निकै कमजोर बनाइदिएको छ । कम्तीमा पनि अर्को चुनावसम्म यी शक्तिहरु मूलधारको राजनीतिको किनाराको साक्षी मात्रै हुनेछन् । व्यक्तिको रुपमा गगन थापाको उपस्थिति, आवश्यकता र विगतको ओज अब रहेन ।
अर्कातिर उनीमाथि पार्टीको भित्रको विवादलाई प्रतिकूलताबाट अनुकूलतामा बदल्ने सबैभन्दा ठूलो चुनौती हुनेछ । लामो समयदेखि अधिकांश सरकारमा सहभागी भएको र केही सरकारको नेतृत्वसमेत रहेको नेपाली काँग्रेस नेपाली समाजमा राजनीतिक दलहरुप्रति जुन असन्तुष्टि छ, त्यसको मुख्य भागीदार दल हो । भदौ २३ र २४ गते जेनजी विद्रोह हुँदा त सत्ता सहयात्री दल थियो नेपाली काँग्रेस ।
काँग्रेसका महामन्त्री र सरकार सञ्चालन गर्न बनेको संयन्त्रका संयोजकका रुपमा गगन थापा कारक हुन् । जेनजी आन्दोलनपछि उनले पार्टीमा युवा पुस्ताको मागको सम्बोधन गर्नुपर्ने भन्दै जुन विद्रोह उनले पार्टीभित्र गरे तर, निकै ढिलो भइसकेको थियो । चारपटक सांसद र एकपटक मन्त्रीसमेत भएका थापा राजनीतिको अर्को घुम्तीमा आइपुगेका छन् । तीन दशकदेखि आशा, विद्रोह र रुपान्तरणको एजेन्डालाई निरन्तर उठाउँदै आएका थापा राजतन्त्रविरुद्धको आन्दोलनको एक ‘पोस्टर व्वाई’ थिए ।
चारपटक सांसद र एकपटक मन्त्री, नेपाली काँग्रेसको मूलधारको राजनीतिमा केन्द्रीय सदस्य, महामन्त्रीदेखि सभापतिसम्मको यात्रा निकै प्रेरणादायी छ । तर, अब भने उनी प्रधानमन्त्री बनेर देशको कायापलट गर्ने महत्वकांक्षी सपनाबाट विमुख भएका छन् । उनले २०७२ मा १५ वर्षपछि सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए । यदि उनी आफ्नो निर्णयमा अडिक रहे भने २०८८ मा उनले सक्रिय राजनीतिबाट सन्यास लिनुपर्ने हुन्छ । अबको पाँच वर्ष उनीसम्म उनी प्रधानमन्त्री बन्ने सम्भावना सकिएको छ ।
पञ्चातविरोधी आन्दोलनदेखि काँग्रेस सभापतिसम्म
गगन थापाको जन्म विसं २०३३ साउन ४ गते काठमाडौँमा भएको थियो । बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी थापाको कोखबाट जन्मिएका थापाको परिवार मध्यमवर्गीय थियो । १५ वर्षको उमेरमै पञ्चायविरोधी आन्दोलनमा सहभागी भएका थापा २०५५ सालदेखि राजनीतिमा सक्रिय रुपमा लागे । उनी त्रिचन्द कलेजमा स्ववियु सचिव र सभापतिसमेत भए ।
त्यसपछि नेवि संघको राजनीतिमा उक्लिएका थापा संघको केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै २०५९ मा केन्द्रीय महामन्त्री निर्वाचित भए । २०६१ सालसम्म सो पदमा रहेका थापा सो अवधिमा युवा नेताका रुपमा स्थापित भइसकेका थिए । त्यतिबेला राजतन्त्रविरोधी आन्दोलनमा थापाको निकै सक्रियतापूर्ण सहभागिता रह्यो । उनी गणतन्त्रको नारा लगाउँदै आन्दोलनमा सहभागी हुन्थे ।
आन्दोलनकै क्रममा उनी २०६२ मा राजद्रोहको मुद्दामा हिरासतसम्म पुगे । त्यतिबेला उनलाई एम्नेष्टी इन्टरनेशनलले राजबन्दी घोषणा गरेको थियो । २०६४ मा पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेका थापा २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँ ४ बाट विजयी भएका थिए । त्यतिबेला कृषि तथा जलस्रोत समितिको सभापति बने । उनी त्यतिबेला ९ महिना स्वास्थ्यमन्त्री बनेका थिए । २०७४ मा बाम गठबन्धनलाई चुनौती दिँदै काठमाडौँ ४ बाट फेरि निर्वाचित भएका थिए ।
२०७८ मा नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भए । २०७९ सालमा काठमाडौँ ४ बाट निर्वाचित भएका थिए । २०८२ माघमा सम्पन्न महाधिवेशनले सभापति चुन्यो । त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय ग¥यो । प्रधानमन्त्रीको महत्वकांक्षासहित सर्लाही ४ मा झरेका थापा देशभर देखिएको रास्वपाप्रतिको जनलहरको कोपभाजनमा परे । योसँगै अब गगनको अर्को राजनीतिक घुम्तीको प्रारम्भ भएको छ ।









प्रतिक्रिया दिनुहोस्