काठमाडौँ ।
भारत र भुटानका प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएका छन् । फागुन २१ मा सम्पन्न निर्वाचनमा बहुमत प्राप्त गरेको रास्वपालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले बधाई दिएका हुन् । सोमबार भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई टेलिफोन संवाद गरेका थिए ।
टेलिफोन संवादमा रवि र बालेनसँग न्यानो संवाद भएको प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन् । नेताद्वयसँग टेलिफोन संवादपछि फेसबुकमा मोदीले लेखेका छन्, ‘मैले निर्वाचनमा रास्वपाको जितका लागि दुवै नेतालाई बधाई दिएको छु ।’ सो अवसरमा नेपालमा अब बन्ने नयाँ सरकारका लागि शुभकामनासमेत दिएको उनको भनाइ छ ।
भारतीय सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि प्रतिबद्धता पनि जनाएको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले दुवै देशबीचको सम्बन्ध आगामी वर्षमा संयुक्त प्रयासमार्फत अझ उच्च स्तरमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै भारतसँगको साझेदारीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा रहेको बताएका छन् ।
मोदीले सामाजिक सञ्जालमा लेखेको पोष्टमा जवाफ लेख्दै रविले यस्तो बताएका हुन् । मोदीले रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरेको र उनीहरूको जित र रास्वपाले हासिल गरेको सफलताका निम्ति बधाई दिएको बताएका थिए । सोही पोष्टमा जवाफ फर्काउँदै सभापति रविले लेखेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू, तपाईँको शुभकामना र नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई सम्मानपूर्वक स्वीकार गर्नुभएकोमा धन्यवाद ।
रास्वपा र हाम्रो सरकार आपसी सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध सुदृढ बनाउन प्रतिबद्ध रहनेछ । यसका लागि रास्वपाले विकास कूटनीतिलाई प्राथमिकता दिनेछ ।’ यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जवाफ दिएका छन् । मोदीद्वारा लेखिएको ट्वीटमा जवाफ दिँदै उनले दुई देशबीचको विद्यमान सम्बन्धलाई परिणामुखी बनाउने विश्वास व्यक्त गरेका हुन् ।
यस्तै, भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भनेका छन् ।
‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ,’ भुटानी प्रधानमन्त्रीले लेखेका छन्, ‘म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु ।’ प्रधानमन्त्री तोब्गेले आगामी सरकारसँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको पनि उल्लेख गरेका छन् । ‘हामी दुई देशहरू बीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छौँ,’ शुभकामना सन्देशमा उनले लेखेका छन् ।
पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । यहाँस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका हुन् ।
पाकिस्तानले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्व दिने उल्लेख गर्दै उनले दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । पाकिस्तानका उपप्रधानमन्त्रीले आफ्ना समकक्षी तथा नेपालमा बन्ने नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्ने तथा क्षेत्रीय शान्ति र समृद्धि प्रवद्र्धनका लागि मिलेर काम गर्ने सन्देशमा उल्लेख गरेका छन्।









प्रतिक्रिया दिनुहोस्