‘साइबर सेल’बाटै निगरानी



सुर्खेत ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘भयरहित र शान्तिपूर्ण’ बनाउन कर्णाली प्रदेश प्रहरीले आफ्नो कसरत तीव्र पारेको छ । निर्वाचनको मिति नजिकिएसँगै सुरक्षा तयारी र अनुगमनको नेतृत्व गर्दै कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) जयराज सापकोटा आफैँ मैदानमा उत्रिएका छन् । डीआईजी सापकोटाले सुर्खेतका विभिन्न प्रहरी इकाईहरू र निर्वाचन सुरक्षाका लागि तयार पारिएका रणनीतिक स्थानहरूको स्थलगत निरीक्षण गरेका हुन् ।

प्रहरी कार्यालयहरूको भौतिक अवस्था, जनशक्ति परिचालन र प्राविधिक तयारीको मसिनो गरी अनुगमन गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अनुगमनका क्रममा डीआईजी सापकोटाले निर्वाचनमा खटिने प्रहरी र निर्वाचन प्रहरी (म्यादी)लाई अनुशासन, निष्पक्षता र सजगता अपनाउन कडा निर्देशन दिएका छन् । निर्वाचनको माहौल उत्कर्षमा पुगेका बेला सुरक्षामा कुनै सम्झौता नगर्न डीआईजी सापकोटाले मातहतका कर्मचारीलाई सचेतसमेत गराएका छन् ।

नागरिकको शान्ति सुरक्षा र अमनचयन कायम गर्नु प्रहरीको पहिलो दायित्व रहेको भन्दै निर्वाचन बिथोल्ने वा शान्ति सुरक्षामा खलल पु¥याउने कुनै पनि गतिविधिमाथि कडा निगरानी राख्न उनको निर्देशन छ । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहका अनुसार मतदाताले पूर्ण रूपमा सुरक्षित महसुस गर्ने गरी नयाँ सुरक्षा रणनीति तय गरिएको छ ।

टोलीले विशेषगरी निर्वाचन स्थलको भौतिक सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षा र मतदानका दिन अपनाइने विशेष सतर्कताका विषयमा फिल्डमै पुगेर आवश्यक निर्देशन दिएको छ । सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय मिलाउन र सुरक्षा फौजलाई २४सै घण्टा ‘अलर्ट’ रहन भनिएको छ । कर्णालीका दुर्गम र संवेदनशील मतदान केन्द्रहरूमा पनि विशेष टोली खटाइसकिएको प्रहरीले जनाएको छ । निर्वाचनका लागि सुर्खेतसँगै कर्णालीका १० वटै जिल्लामा सुरक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।

कर्णालीमा करिब १४ हजार ७१९ जना बढी प्रहरी जनशक्ति निर्वाचनमा खटिने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । कर्णालीको भूगोललगायत अन्य कारणले केही चुनौती भए पनि प्रहरीले मतदाता, उम्मेदवार, मतदान केन्द्र र मतदानस्थलको पूर्ण रूपमा सुरक्षा दिने प्रहरीले दाबी गरेको छ । यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण वातावरणमा मतदान गराउन सुरक्षा फौज र कर्मचारीहरूलाई मैदानमा उतारिसकिएको छ ।

प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आ–आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । यसैबीच यस पटकको चुनावमा एउटा नयाँ प्रयोग गरिएको छ । सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लंघन गर्ने, भ्रम फैलाउने वा चरित्र हत्या गर्ने गतिविधि रोक्न प्रहरीको साइबर टिम र नेपाल टेलिकमका कर्मचारीले चौबीसै घण्टा निगरानी गरिरहेका छन् ।

प्रजिअ उपाध्यायका अनुसार हालसम्म जिल्लामा लिखित रूपमा आचारसंहिता उल्लंघनको उजुरी परेको छैन । मौखिक रूपमा आएका सामान्य गुनासाहरूलाई तत्कालै सम्बोधन गरिएको छ । सबै राजनीतिक दल र उम्मेदवारहरूले अहिले सौहार्दपूर्ण वातावरणमा आफ्ना कार्यक्रमहरू गरिरहेका छन् ।

सुर्खेत जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन जिल्लाका १२ रणनीतिक स्थानमा नेपाली सेना, ३२ वटा मुख्य क्षेत्रहरूमा सशस्त्र प्रहरी र १४० मतदानस्थल र सबै पालिका समेट्ने गरी १७९ स्थानमा नेपाल प्रहरीको सुरक्षा निकाय खटिएका छन् । निर्वाचनका लागि कूल ९३५ नेपाल प्रहरी, २३८ सशस्त्र प्रहरी, ५१२ नेपाली सेना र १ हजार ८४० निर्वाचन प्रहरी (म्यादी) खटिनेछन् ।

थप सुरक्षाकर्मी र कर्मचारीहरू फागुन १८ गतेभित्र आ–आफ्नो कार्यक्षेत्रमा पुगिसक्ने कार्ययोजना बनाइएको छ । जिल्लाभर कूल १४२ मतदानस्थल (२ अस्थायीसहित) र ३०५ मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले वर्गीकरण गरिएको छ । जसमा अतिसंवेदनशील २० स्थल, संवेदनशील ८७ स्थल र ३५ स्थल सामान्य छन् । भौगोलिक विकटता र विगतका घटनालाई आधार मानेर यो वर्गीकरण गरिएको हो । मतपेटिका ढुवानीका लागि सवारीसाधनको व्यवस्थापन पनि अन्तिम अवस्थामा पुगेको प्रशासनले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार