बैतडी ।
ज्वरोको लक्षण देखिएको एकै घरका दुई जना बालकको पाँच दिनको फरकमा मृत्यु भएको छ । मृतक बालकमा उच्च ज्वरो आउने, रिङटा लाग्ने, ओठ सुक्ने र बान्ता हुने लक्षण देखिएको छ ।
गाउँभरि केही दिनदेखि ज्वराका बिरामी फेला परेपछि स्वास्थ्यकर्मीको टोली गाउँ जाने तयारीमा छन् । जिल्लाको पुर्चौडी नगरपलिका–१० विजयपुरको महरा गाउँका १० वर्षीय बालक विकास महराको शनिबार बिहान ८ बजे मृत्यु भएको छ । फागुन ११ गते उनको दाइ १३ वर्षीय विनो महराको त्यसैगरी मृत्यु भएको थियो ।
मृतक बालक शनिबार मात्र बुवाको साथमा स्वास्थ्य संस्थामा उपचार गर्न गएको स्थानीय गलेश्वर माविका शिक्षक उद्धव महराले बताए । उनले गाउँमा केही दिनदेखि ज्वराका बिरामी बढ्दै गएको जानकारी दिए ।
ज्वरो आएर एकै घरमा दुई जना बालकको मृत्यु भएपछि स्वास्थ्यकर्मीको टोली लिएर गाउँतर्फ गइरहेको पुर्चौडी नगरपलिकाका स्वास्थ्य शाखा प्रमुख विनोबहादुर कुँवरले बताए । ज्वरोको लक्षण देखिएर दुई जना बालकको मृत्यु भएपछि जिल्ला अस्पताल बैतडीबाट डाक्टर सिजन खड्काको नेतृत्वमा प्रयोगशाला (ल्याब)सहित पाँच जना स्वास्थ्यकर्मी महरा गाउँका लागि हिँडेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए ।









प्रतिक्रिया दिनुहोस्