इरान, अमेरिका र इजरायलबीच युद्धः नेपालीलाई कस्तो असर पर्दैछ ?



आक्रमणका कारण नेपाल पनि प्रभावित हुन पुगेको छ । खाडी क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली युवायुवती रहेको र त्यही क्षेत्रमा भयानक युद्ध हुने सम्भावना देखिएपछि उनीहरूलाई सुरक्षित राख्नुपर्ने चुनौती आइपरेको छ । अमेरिकी सुरक्षा क्याम्प रहेका साउदी अरेबिया, कतार, कुबेत, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई)लगायतका मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि करिब १८ लाख नेपाली पुगेका छन् ।

काठमाडौँ ।

अमेरिका, इजरायल र इरानबीच शनिबार द्वन्द्व सुरु भएसँगै त्यसको बाछिटा नेपालसम्म आइपुगेको छ । सुरुमा इजरायलले इरानको राजधानी तेहरानमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सुरक्षा क्याम्पमा आक्रमण गरेको हो । सोही आक्रमणका कारण नेपाल पनि प्रभावित हुन पुगेको छ ।

खाडी क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली युवायुवती रहेको र त्यही क्षेत्रमा भयानक युद्ध हुने सम्भावना देखिएपछि उनीहरूलाई सुरक्षित राख्नुपर्ने चुनौती आइपरेको छ । अमेरिकी सुरक्षा क्याम्प रहेका साउदी अरेबिया, कतार, कुबेत, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई)लगायतका मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि करिब १८ लाख नेपाली पुगेका छन् ।

युद्धका कारण एकातिर ती मुलुकमा रहेका नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था आउन सक्छ भने अर्कोतर्फ ती मुलुकबाट एकैचोटी ठूलो सङ्ख्यामा युवायुवती फर्कँदा उनीहरू बेरोजगार बन्ने र त्यसले नेपालमा थप समस्या निम्त्याउन सक्ने संकेत देखिएको छ । त्यति मात्र होइन अहिले देशको वार्षिक बजेटको हाराहारीमा विप्रेषण भित्रिने गर्छ र त्यसमा खाडी मुलुकमा गएका नेपालीको सर्वाधिक योगदान छ ।

विज्ञहरूले भने सरकारलाई विगतदेखि नै खाडीको विकल्प खोज्नुपर्ने सुझाव दिँदै आएका थिए । श्रम आप्रवासन विज्ञ सोम लुइँटेलले खाडी क्षेत्रमा जुनसुकै समस्या आउँदा नेपाल पनि प्रभावित हुन सक्ने भएकाले एकै ठाउँमा धेरै नेपाली पठाउन नहुने भन्दै आएको बताए । ‘तैपनि सरकारमा बस्नेहरूले नयाँ गन्तव्य खोज्न नसक्दा त्यहाँ कुनै सानो समस्या पर्दा नेपाल तर्सनुपर्ने अवस्था छ ।’

खाडी क्षेत्र कहिले युद्ध त कहिले आर्थिक संकटको मारमा पर्ने सम्भावना हुन्छ भनेर नेपालीले बुझ्न आवश्यक रहेको उनको भनाइ छ । खाडी मुलुकमा तनाव बढेपछि कतार, युएई, बहराइनलगायतका गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतावासले नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । त्यस्तै परराष्ट्र मन्त्रालयले पनि खाडी क्षेत्रमा रहेका नेपालीलाई सावधानी अपनाउन र नेपाली नियोगसँग सम्पर्कमा रहन अनुरोध गरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएकामध्ये युएईमा आठ लाख, साउदी अरबमा चार लाख, कतारमा साढे तीन लाख, कुवेतमा साढे एक लाख, बहराइन, ओमान, इराक, इजरायल र आसपास गरी करिब एक लाख नेपाली विभिन्न पेशा र व्यवसायमा आबद्ध छन् ।
अहिले इरानले रोजगारीका लागि नेपाली रहेका मुलुकहरू कतार, साउदी, बहराइन, युएई र कुवेतमा आक्रमण गरिसकेको छ ।

इरानको आक्रमणबाट युएईमा एक जनाको मृत्युसमेत भइसकेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् । मृतक एसियाली नागरिक रहेको बताइए पनि उनको परिचय सार्वजनिक गरिएको छैन । युएई सरकारले उक्त आक्रमणलाई ‘राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन’ भन्दै निन्दा गरेको छ । उता कतारमा आप्रवासी श्रमिक बस्ने एक भवनमा विस्फोट गराइएको छ ।

उक्त आक्रमणपछि कतारले आफ्नो भूभागलाई लक्षित गर्दै मिसाइल प्रहार गर्नु सार्वभौमिकतामाथि गम्भीर उल्लंघन भएको उल्लेख गर्दै यसले सम्पूर्ण खाडी क्षेत्रको सुरक्षा र स्थायित्वलाई नै खतरा पु¥याउन सक्ने जनाएको छ । कतार सरकारले अत्यावश्यकबाहेक आफ्नो वासस्थानबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।

कतार, दुबई, आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा यात्रु काठमाडौँमै

उक्त घटनापछि कतार, दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा ती मुलुकमा जान खोज्ने श्रमिक काठमाडौँमै रोकिएका छन् । ती मुलुकमा उडान गर्ने विमान कम्पनीहरूले २४ घण्टाका लागि भन्दै उडान स्थिगत गरेका छन् । तर इरान, अमेरिका र इजरायलको युद्ध पुनः बढ्छ कि भन्ने चिन्ता उस्तै छ ।

मध्यपूर्वमा उत्पन्न समस्याले हालको हवाई क्षेत्र प्रतिबन्धलाई नजिकबाट अवलोकन गरिरहेको जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग समन्वय गरिरहेको नेपाल नागरिक उड्डययन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

हालको कारबाही अमेरिकी सुरक्षामा निरन्तर खतराको प्रत्युत्तरः ट्रम्प

तेहरानमा भएको सैन्य कारबाहीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक भिडिओ सन्देश जारी गरी इरानबाट अमेरिकाको सुरक्षामा निरन्तर खतरा उत्पन्न भएको दाबी गर्दै हालको कारबाही त्यसैको प्रत्युत्तर भएको बताएका छन् । ट्रम्पले सन् १९८३ मा बेरुतस्थित अमेरिकी मरीन ब्यारेकमा भएको बम विस्फोट, सन् २००० मा यूएसएस कोलमाथिको आक्रमण र इराकमा अमेरिकी सैनिकमाथि भएका हमलाहरूलाई स्मरण गर्दै ती घटनामा इरान समर्थित शक्तिहरूको संलग्नता रहेको आरोप लगाए ।

ट्रम्पले अमेरिकी सेनाले इरानको क्षेप्यास्त्र संरचना, नौसैनिक शक्ति र सैन्य क्षमतामाथि निरन्तर कारबाही गर्ने बताए । इरानको इस्लामिक रिभोलुसनरी गार्डसहितका सैन्य र सुरक्षा निकायलाई उनले हतियार त्याग्न चेतावनी दिएका छन् ।

इजरायल र इरानको यात्रा नगर्न आग्रह 

यसैबीच परराष्ट्र मन्त्रालयले शनिबार यात्रा एडभाइजरी जारी गर्दै इजरायल र इरानको भ्रमण नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । जारी सूचनामा ती देशमा बसोबास गरिरहेका नेपालीहरूलाई स्थानीय सरकार र सुरक्षा निकायले दिएका निर्देशनहरू कडाइका साथ पालना गर्न भनिएको छ ।

अनावश्यक आवागमन नगर्न, सकेसम्म सुरक्षित स्थानमै बस्न, सतर्क रहन र आफू बसेको क्षेत्रका नेपाली समुदायसँग समन्वयमा रहन आग्रह गरिएको छ । स्थानीय प्रशासनको पूर्वस्वीकृतिबिना यात्रा नगर्न पनि मन्त्रालयले सचेत गराएको छ । यसैगरी रोजगारी, अध्ययन वा अन्य प्रयोजनले इजरायल वा इरान जान तयारी गरिरहेका नेपाली नागरिकलाई अवस्था सामान्य नभएसम्म यात्रा योजना स्थगित गर्न भनिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार