कर्णाली प्रदेश राजधानी क्षेत्र भएकाले पनि सुर्खेत–२ लाई सबै दलले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । यो निर्वाचन क्षेत्रमा चारवटा स्थानीय तह पर्दछन् । जसमा प्रदेश राजधानी वीरेन्द्रनगर क्षेत्र मुख्य राजनीतिक केन्द्र पनि हो । यहाँ ७१ हजार ८४० मतदाता रहेका छन् । वीरेन्द्रनगरका वडा नम्बर १५ र १६ बाहेकका सबै वडा यसै निर्वाचन क्षेत्रमा पर्छन् । यसैगरी बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका पनि सुर्खेत–२ अन्तर्गत पर्छन् ।
नन्दराम जैशी । सुर्खेत ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र सुर्खेत–२ यतिबेला नयाँ अनुहारबीचको प्रतिस्पर्धाका कारण चासोको केन्द्र बनेको छ । यस क्षेत्रमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य प्रतिस्पर्धामा देखिएका सबै उम्मेदवार पहिलो पटक संघीय संसद्का लागि चुनावी मैदानमा उत्रिएका ‘फ्रेस फेस’ हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट कुलमणि देवकोटा, नेपाली काँग्रेसबाट नारायण कोइराला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट झकबहादुर मल्ल ‘सुदीप’ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेशकुमार सापकोटा मुख्य प्रतिस्पर्धी उम्मेदवार हुन् । यी चार जनाबीच निकै कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । कर्णाली प्रदेश राजधानी क्षेत्र भएकाले पनि सुर्खेत–२ लाई सबै दलले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । यो निर्वाचन क्षेत्रमा चारवटा स्थानीय तह पर्दछन् ।
जसमा प्रदेश राजधानी वीरेन्द्रनगर क्षेत्र मुख्य राजनीतिक केन्द्र पनि हो । यहाँ ७१ हजार ८४० मतदाता रहेका छन् । वीरेन्द्रनगरका वडा नम्बर १५ र १६ बाहेकका सबै वडा यसै निर्वाचन क्षेत्रमा पर्छन् । यसैगरी बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका पनि सुर्खेत–२ अन्तर्गत पर्छन् । यी तीन स्थानीय तहमा ५६ हजार ९७९ मतदाता रहेका छन् ।
यो निर्वाचन क्षेत्रका अधिकांश मतदाताले परम्परागत दलप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ विकल्पतर्फ झुकाव देखाएका छन् । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति युवापुस्ताको आकर्षण बढ्दो छ । पुराना दलमा आबद्ध कतिपय कार्यकर्तासमेत ‘आस्था नबदल्ने तर मत बदल्ने’ प्रतिक्रिया दिइरहेका छन् । तर पश्चिम सुर्खेत क्षेत्रका बराहताल, पञ्चपुरी र चौकुनेका मतदाताका प्राथमिकता भने परम्परागत एजेन्डामै केन्द्रित छन् ।
सडक, शिक्षा, स्वास्थ्य र रोजगारी यहाँका मतदताको मुख्य माग छ । गाउँ–गाउँमा सडक खनिए पनि स्तरोन्नति नहुँदा यातायात सहज हुन सकेको छैन । कतिपय आयोजना ढिलासुस्तीका कारण पनि धेरै योजनाहरू अलपत्र छन् । यसअघि चुनावी मुद्दा बनेको मदन भण्डारी राजमार्गले गति लिए पनि ग्रामीण बस्तीमा प्रभावकारी पहुँच विस्तार हुन बाँकी छ । बराहतालका भेरीपारिका तरङ्गालगायत बस्ती अझै सडक पहुँचबाहिर छन् ।
चौकुनेका रेक्चा र ताला गाउँजस्ता दुर्गम बस्तीमा खानेपानी, विद्युत्, यातायातजस्ता आधारभूत सेवा अभाव छ । खाद्यान्नदेखि अन्य अत्यावश्यक सेवामा ती क्षेत्र वीरेन्द्रनगरमै निर्भर छन् । वीरेन्द्रनगरमा भने खानेपानी मुख्य समस्या बनेको छ । १३२ केभीए विद्युत् प्रसारण लाइन सम्पन्न भएसँगै अनियमित विद्युत् आपूर्ति सुधारोन्मुख छ । स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारका हिसाबले राजधानी क्षेत्र ‘हब’का रूपमा स्थापित भए पनि राजनीतिक खिचातानी र निर्णय प्रक्रियाप्रति नागरिकमा वितृष्णा बढ्दो छ ।
२०७९ सालको प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेले २५ हजार ८६, काँग्रेसले २३ हजार १०, माओवादीले १० हजार ५९ र रास्वपाले ६ हजार १४६ मत पाएका थिए । प्रत्यक्षतर्फ भने माओवादीको समर्थनमा काँग्रेसका उम्मेदवारले ३४ हजार ६२५ मतसहित जित हासिल गरेका थिए भने एमाले उम्मेदवारले २९ हजार ५५८ मत पाएका थिए । रास्वपाका उम्मेदवारले चार हजार ६०१ मत प्राप्त गरेका थिए ।
यस पटक भने सबै प्रमुख दलले नयाँ उम्मेदवार अघि सारेकाले परिणाम अनुमान गर्न कठिन देखिएको छ । बाहिरबाट रास्वपालाई मुख्य प्रतिस्पर्धी नमाने पनि पुराना दलमा ‘क्रस भोट’को चिन्ता बढेको छ । सुर्खेत–२ मा यस पटकको चुनावी भिडन्त केवल जित–हारको मात्रै नभई नयाँ र पुराना शक्तिबीचको प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ ।
सांगठनिक अवस्था नै चुनाव जित्ने आधार हो ः देवकोटा
सुर्खेत–२ मा नेकपा एमालेबाट कुलमणि देवकोटा उम्मेदवार छन् । एमाले सुर्खेतका अध्यक्षसमेत रहेका देवकोटासँग यसअघि ०५० को दशकमै वडाध्यक्षको चुनाव लडेको बाहेक सुर्खेत उपत्यका खानेपानीको अध्यक्ष भएर काम गरेको अनुभव छ । देवकोटाले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका छन् भने कर्णाली सरकारका मुख्यमन्त्री तथा एमाले केन्द्रीय सचिव यामलाल चुनावी सभालाई सम्बोधन गर्दै देवकोटालाई जिताउन आग्रह गरिरहेका छन् ।
कँडेलले नयाँ राजनीतिक दल रास्वपा र काँग्रेसलाई कडा टिप्पणी गर्दै आएका छन् । देवकोटाले आफ्नो सांगठनिक अवस्थालाई चुनाव जित्ने आधारमा रूपमा लिएका छन् । ‘जनतामा केही आशा, अपेक्षाहरू, केही निराशाहरू पनि प्रकट भएका छन् । तर समग्रमा एमालेप्रतिको प्रतिक्रिया असाध्यै राम्रो छ,’ उनले भने, ‘यस क्षेत्रका जनताको विचार र भावनाको प्रतिनिधित्व गर्दै विकास र समृद्धिका कामहरू गर्नको लागि जनताले अगुवाइ पार्टीको रूपमा एमालेलाई रोजेका छन् । त्यसैले म चुनाव जित्छु ।’
आफूले वीरेन्द्रनगरमा खानेपानीको समाधानका लागि लामो समय संघर्ष गरेको उल्लेख गर्दै हाल भेरीबाट लिफ्टमार्फत पानी ल्याउने काम तीव्र गतिमा भइरहेको उनले बताए । ‘अन्य थुप्रै कामहरू एमालेकै अगुवाइमा भएका छन्, ती कामलाई एमालेले पूरा गर्छ,’ उनले थपे, ‘जनताको विश्वास र पार्टीको सांगठनिक क्षमता र सामथ्र्यका कारण आम मतदाताले मलाई चुनावमा जिताउँछन् ।’ अन्य पार्टीको तुलनामा सांगठनिक रूपमा काँग्रेस नै एमालेको मुख्य प्रतिस्पर्धी दल रहेको उनको तर्क छ ।
विरासत कायम राख्न चुनाव जित्छु ः कोइराला
सुर्खेत—२ मा नेपाली काँग्रेसका तर्फबाट नारायण कोइराला उम्मेदवार छन् । उनलाई यसअघि काँग्रेसको विरासत जोगाउनुपर्ने चुनौती छ । यहाँ उनकै टिमका नेता हृदयराम थानीले ०७९ को चुनाव जितेका थिए । थानीले चुनावी मैदानबाट बिदा लिएसँगै कोइराला चुनावी मैदानमा होमिएका छन् ।
उनी सुर्खेत काँग्रेसभित्र बौद्धिक र शालीन नेताका रूपमा चिनिन्छन् । सुर्खेत उपत्यका नगर विकास समितिको नेतृत्व गरेका उनी पूर्वपत्रकार समेत हुन् । कोइरालाले यतिबेला घरदैलो अभियानलाई तीव्रता दिएका छन् । ‘घरदैलो अभियानका क्रममा मतदाताले यसपालि काँग्रेसलाई जिताउनु पर्छ भनिरहेका छन् । यसपालिको निर्विकल्प शक्ति भनेको काँग्रेस नै हो,’ उनले भने, ‘हामी राष्ट्रिय शक्ति हौँ, हामीले स्थापना गरेको लोकतन्त्रको स्थायित्वको लागि पनि काँग्रेसले काम गर्छ, त्यसैले म चुनाव जित्नेमा ढुक्क छु ।’
निर्वाचनमा काँग्रेसलाई नजिताएमा संविधान, सार्वभौमिकता, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका उपलब्धिहरू गुम्न सक्ने उनको दाबी छ । चुनाव जितेमा शैक्षिक, प्रशासनिक र पर्यटकीय हबको रूपमा सुर्खेतलाई विकास गर्ने उनले बताए । उनले समाज सेवा, मिडिया र लोकतान्त्रिक आन्दोलन जस्ता क्षेत्रमा योगदान गरेका छन् ।
मतदाता सकारात्मक छन्, चुनाव जित्छु ः मल्ल
सुर्खेत–२ मा नेकपाबाट झकबहादुर मल्ल ‘सुदीप’ चुनावी प्रतिस्पर्धामा छन् । उनले पनि घरदैलो अभियान तीव्र पारेका छन् । मल्लले शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएका छन् भने मतदाताबाट सकारात्मक प्रतिक्रिया पनि पाइरहेका छन् । उनीसँग विगतमा जनमुक्ति सेनामा कमान्ड सम्हालेको र विकास निर्माणमा नेतृत्व गरेको अनुभव छ ।
आफ्ना कुरा राख्दै, आफैँ प्रचार सामग्री बाँड्दै घरदैलो गइरहेका मल्लले मतदाता आफूप्रति सकारात्मक रहेकाले चुनाव जित्ने दाबी गरे । ‘अहिलेसम्म ४५ वडामा घरदैलो कार्यक्रम सकियो । हामी जहाँ पुग्यौँ, आम मतदाताहरूमा एउटा नयाँ विश्वास जागृत गरेको छ, आशा जगाएको छ,’ उनले भने, ‘पटक–पटक भोट हालेर थकित मतदाताहरूमा अन्तिम पटक गरेका बाचा, प्रतिबद्धता पूरा गर्ने हाम्रो संकल्प छ, हाम्रा कुरामा आम मतदाता पनि सकारात्मक छन् ।’
उनले १४ वर्षको उमेरमै ०५० सालमा विद्यार्थी संगठन (अखिल क्रान्तिकारी)मा संगठित भएर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । ०५३ सालदेखि जनयुद्धमा होमिएका उनले ०५९ सालमा सुर्खेतको जिल्ला पार्टी सेक्रेटरीको जिम्मेवारी सम्हालेका थिए । जनमुक्ति सेनामा समेत महत्त्वपूर्ण कमान्ड सम्हालेका उनले कम्पनी, बटालियन र ब्रिगेड कमिसारको हैसियतमा देशका विभिन्न मोर्चाका लडाइँहरूमा सक्रिय सहभागिता जनाएका थिए । जनयुद्धकालमै विकास निर्माणको नेतृत्व गरेको उनको दाबी छ ।
जनमुक्ति सेनाको कमान्डर र सुर्खेत जिल्ला सेक्रेटरी हुँदा (०५९–६०) सालमा पश्चिम सुर्खेतको चौकुनेस्थित गुटुको विशाल बजार आफ्नै नेतृत्वमा बसेको र ‘जनमुक्ति मार्ग’ भनेर साल्कोट–पलाइटेको सडक निर्माणको सुरुवात पनि आफूले नै गरेको उनले बताए । सानै उमेरदेखि समाज रूपान्तरणका निम्ति अग्रसर भएको र इमानदार छविकै कारण आफूले चुनाव जित्ने उनको भनाइ छ ।
जनता जागिसके, घण्टी बज्छ ः सापकोटा
विगतका निर्वाचनमा पुराना दलहरूबीच चुनावी प्रतिस्पर्धा हुँदै आएको सुर्खेत—२ मा यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जबरजस्त चुनावी माहोल तताएको छ । रास्वपाबाट रमेशकुमार सापकोटा यहाँ उम्मेदवार छन् । कुनै बेला काँग्रेसका नेता सापकोटा उक्त पार्टीमा असन्तुष्टि जनाउँदै रास्वपा प्रवेश गरेका थिए । अहिले रास्वपाका जिल्ला सभापति पनि हुन् ।
काँक्रेविहार यातायात प्रालि सुर्खेतका अध्यक्षसमेत रहेका उनी रास्वपाप्रति जनलहर उर्लिएको दाबी गर्दै सुर्खेत—२ मा आफूले चुनाव जित्ने बताउँछन् । ‘पहिलो चरणमा घरदैलो अभियान सकाएका छौँ । छुटेका बस्ती तथा व्यक्तिहरूसँग भेटघाट जारी छ,’ उनले भने, ‘जनतालाई चाहिएको सामान्य बाटा–घाटादेखि वीरेन्द्रनगर उपत्यकाको ढल निकास, डुबान नियन्त्रणजस्ता विषयलाई एजेण्डा बनाएका छौँ । ठूला आश्वासन बाँडेका छैनौँ, मतदाताहरू पनि आकर्षित छन् ।’
पश्चिम सुर्खेततिर ३६ वर्षसम्म पनि पुराना दलहरूले कृषि क्रान्ति, सिँचाइ र विद्युत् समस्या समाधान गर्न नसकेको भन्दै यसको नेतृत्व अब रास्वपाले नै गर्ने उनको दाबी छ । ‘जनतामा चेतनाको स्तर निकै बढेको छ । वीरेन्द्रनगरभन्दा पश्चिममा झन् रास्वपाप्रति उत्साह छ,’ उनले भने, ‘हामी जाँदा वीरेन्द्रनगरभन्दा अब पश्चिम केही पनि कम छैन भन्ने कुराको सन्देश नै यो चुनावले दिन्छ ।’ देश–विदेशमा रहेका मतदाताहरूलाई घर फर्किएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दै आफूले चुनाव जितेर गएको खण्डमा पाँच वर्षभित्र सबै चुनावी बाचा पूरा गर्ने उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्