नेपालगन्ज ।
बाँकेबाट बर्दियाको ठाकुरद्वारासम्मको साइकल यात्रा टुर डे ठाकुरद्वाराको आठौँ संस्करण शुक्रबारबाट सुरु भएको छ । शनिबार ठाकुरद्वारा पुगेर समापन हुने टुर डे ठाकुरद्वारा नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएको हो ।
यसपटकको संस्करणमा दुई सय ५५ भन्दा बढी महिला–पुरुष साइकलयात्रीहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । क्लबका अध्यक्ष कबिराम बुढाथोकीका अनुसार भारतीय २० जना साइकलयात्री पनि यात्रामा सहभागी छन् ।
शुक्रबार नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरबाट सुरु भएको यात्रा त्रिभुवन चोक, वीपी चोक, सुर्खेत रोड हुँदै बाँकेको कम्दी, कोहलपुर, चप्परगौडी, खड्कवार हात्तीसार, बाँके निकुञ्ज, सुतैया ताल भएर गाभर भ्यालीमा पुगेको छ ।
दोस्रो दिन शनिबार च्यामा चोक, सम्झना चोक, मान खोला हुँदै ओम केदारेश्वर धाम बाँसगढी, सतखलुवा, बैदी, बबई भुरीगाउँ भएर ठाकुरद्वारा मन्दिरसम्मको १३० किलोमिटरको यात्रा पार गरेर समापन हुनेछ ।
बाँके बर्दियाका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यले आठ वर्षअघि सुरु गरिएको टुर डे ठाकुरद्वाराले पर्यटन प्रवद्र्धनका साथै साइकल प्रयोग प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजकको दाबी छ ।








प्रतिक्रिया दिनुहोस्