नेपालगन्ज ।
बाँके जिल्लामा क्रियाशील राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियनहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गरिएको कर्मचारी खटनपटन तथा व्यवस्थापनप्रति गम्भीर आपत्ति जनाएका छन् । नेपाल निजामती कर्मचारी संगठन, निजामती कर्मचारी राष्ट्रिय कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन तथा एकीकृत सरकारी कर्मचारी संगठन लगायतका ट्रेड युनियनहरूको संयुक्त प्रेस नोट जारी गर्र्दै आपत्ति जनाएका हुन् ।
प्रेस नोटमा उल्लेख गरिएअनुसार निर्वाचनमा कर्मचारीहरू खटाउँदा मतदान अधिकृतसहित ६ जना कर्मचारी खटाउँदा विगतदेखि खटिँदै आएका, अनभुवी, प्रशासनिक कामकाजमा दक्ष कर्मचारीलाई नराखेर प्राविधिक कर्मचारीलाई प्राथमिकता दिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । उनीहरूले निजामति कर्मचारीभन्दा लघुवित्त, बैंक तथा वित्तीय संस्थाका प्राविधिक एवं अस्थायी र करार कर्मचारीलाई प्राथमिकता दिइएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
यसैगरी पद तथा तह मिल्नेगरी जिम्मेवारी नदिइएको र समग्रमा राष्ट्रसेवक कर्मचारीहरूको मनोबल घट्ने र निरुत्साहित बनाउनेगरी खटनपटन गरिएको प्रेस नोटमा भनिएको छ । नोटमा ‘न्याय सेवाका नायब सुब्बालाई मतदान अधिकृत बनाउँदा प्रशासन वा अन्य सेवाका अधिकृतलाई सहायक कर्मचारीमा पठाइएको, टेलिकमजस्ता कार्यालयका सम्पूर्ण कर्मचारीलाई एउटै मतदान केन्द्रमा पठाइएको, कुनै कर्मचारीलाई दोहोरो तेहेरो पर्नेगरी मतदान अधिकृत र सहायक मतदान अधिकृत राखेर होल्ड गरिएको,’ भन्दै त्यसलाई सुधार गर्न ध्यानाकर्षण गराइएको छ ।
कर्मचारी युनियनहरूले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ । प्रेस नोटमा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति, बाँकेका अध्यक्ष देवीप्रसाद चौलागाईं, निजामती कर्मचारी राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष नगेन्द्र बहादुर शाही, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष हुर्मत विक र एकीकृत सरकारी कर्मचारी संगठनका कोषाध्यक्ष पुष्पराज मिश्रले हस्ताक्षर गरेका छन् ।
यता मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले संगठनका अगुवाहरू आफूकहाँ पनि आएर आपत्ति प्रकट गरेको बताए । त्यसक्रममा उनीहरूले संगठनमा आबद्ध भएका आधारमा निर्वाचनमा नखटाउन नमिल्ने, शिक्षकहरूलाई पनि खटाउने गरिएकोमा यसपटक त्यस्तो नभएको भन्दै आपत्ति प्रकट गरेका बताए ।
त्यससम्बन्धमा जिल्ला प्रशासनबाट प्राप्त सूचीमा भएका कर्मचारीहरूलाई नै खटनपटन गरिएको र यसपटक ट्रेड युनियनमा आबद्ध कर्मचारी र शिक्षकलाई अरु कर्मचारीले भ्याएसम्म नखटाउने निर्णय गरिए बमोजिम गरिएको बताएको जानकारी दिए । यसैगरी, प्राविधिक तर्फका र बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पनि खटाउन नमिल्ने भन्ने व्यवस्था नरहेको उनले बताए ।
एकै कार्यालयका कर्मचारी एउटै मतदान केन्द्रमा खटिनुमा सम्बन्धित कर्मचारीहरूले नै व्यवहारिकताका आधारमा सहज हुने अनुरोध गरेपछि खटाइएको उनले बताए । दोहोरो तेहेरो परेको सम्बन्धमा पुनरावलोकन गरेर सच्याइने उनले बताए । प्रत्येक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृतसहित तीनजना सहायक कर्मचारी र एकजना सहयोगी कर्मचारी खटाइएको छ ।








प्रतिक्रिया दिनुहोस्