बाँके ।
विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको आयोजनामा छवि बैरागी घिमिरेद्वारा लिखित ‘विविशारा’ उपन्यासको समीक्षा, सम्मान प्रदान तथा नेपाल शाखा मातहतका विभिन्न शाखाहरूको पुनर्गठन सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका उपाध्यक्ष ऋषिराम सापकोटाको सभापतित्व एवं विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका सल्लाहकार प्राडा कृष्णप्रसाद घिमिरको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रम दुई चरणमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको पहिलो चरणमा लुम्बिनी प्रदेशमा रहेर साहित्य सेवामा समर्पित प्राज्ञ महानन्द ढकाललाई ‘बिनेसाम लुम्बिनी साहित्य रत्न–२०८२’ सम्मान प्रदान गरिएको थियो । सो अवसरमा बिनेसामका सात प्रदेशमध्ये बिनेसाम लुम्बिनी प्रदेशले उत्कृष्ट कार्य गरी बिनेसाम लुम्बिनीलाई उचाइ प्रदान गर्ने प्रदेशका अध्यक्ष लेकप्रसाद प्याकुरेललाई कदरपत्र प्रदान गरिएको हो ।
विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका सचिव प्याकुरेलको सहजीकरणमा सञ्चालित उक्त कार्यक्रममा छवि बैरागी घिमिरेद्धारा लिखित विविशारा उपन्यासको समीक्षा गरिएको थियो । समीक्षाका क्रममा समीक्षक चरित्रा शाहले फ्रायड, एडलर र युङको मनोवैज्ञानिक अवधारणा अनुसार विविशारा कृतिको चिरफार गरिन् । अर्का समीक्षक पुष्कर रिजालले कृतिको विसंगती पक्ष र संरचनात्मक कोणबाट समीक्षा गरेका थिए।
सोही अवसरमा उपन्यासकार छवि वैरागी घिमिरेले उपन्यासलाई यथार्थपरक बनाउनका लागि गरिएका अभ्यासहरू र उपन्यास लेख्दाका अनुभवहरूसहित समीक्षकहरूले उठाएका विषयवस्तुमाथिको जिज्ञासा सम्बोधन गरेका थिए । कार्यक्रमको दोस्रो चरणमा विश्व नेपाली साहित्य महासंघ मातहतका लुम्बिनी प्रदेश, बाँके र बर्दिया जिल्ला शाखा गठन गरियो ।
चरित्रा शाहको अध्यक्षतामा गठित लुम्बिनी शाखाअन्तर्गत उपाध्यक्षद्वय भरतबहादुर रानाभाट र गणेशा कार्की, महासचिव बोधराज प्याकुरेल सचिव इन्दिरा गौतम, कोषाध्यक्ष सुन्दर गुरुङ सदस्यहरू केशव गाहा पाल्पा, लक्ष्मी बस्याल बर्दिया, खगेन्द्र नेपाल बर्दिया, दर्पण दंगाली दाङ, यम रेग्मी दाङ, नवीन बस्याल प्युठान, शशिधर सापकोटा कपिलवस्तु, दिला शाह बाँके, तारा रोकाया बाँके, पवन जयसवाल बाँके, प्रतिमा पन्थी रूपन्देही रहेका छन् ।
त्यसैगरी साहित्यकार चन्द्रावती अधिकारीको अध्यक्षतामा गठित बाँके शाखाअन्तर्गत उपाध्यक्ष पद्मा रिजाल, सचिव महेन्द्र सेडाई, सहसचिव दीप पन्थी, कोषाध्यक्ष अर्चना पाठक र सदस्यहरूमा सुनगाभा पोखरेल, सन्तोषी पुन मगर, लक्ष्मण सुर्खेती, मुस्तफा अहसन कुरैसी र अन्तरिक्ष देवकोटा रहेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सनत रेग्मी, प्राज्ञ महानन्द ढकाल, प्रलेस केन्द्रीय सचिव हरिप्रसाद तिमिल्सिना, लेखक नरेन्द्रजंग पिटर, साहित्यकार किरण आचार्य, रामदेव पाण्डे, विष्णु पादुका, छविलाल खड्का, मणि अर्याललगायत चार दर्जन बढी साहित्यिक अभियन्ताहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरेले विश्व नेपाली साहित्य महासंघले विगतदेखि वर्तमानसम्म गरेका गतिविधिहरूको चर्चा गर्नुका साथै समीक्षित उपन्यासमाथि समेत संक्षिप्त प्रकाश पारेका थिए ।









प्रतिक्रिया दिनुहोस्