देशभरका ११ वटा उपमहानगरपालिकामध्ये बुटवल उपमहानगरपालिका कार्यसम्पादन मूल्याकंनमा सबैभन्दा राम्रो तथा उत्कृष्ट बन्न सफल भएको छ । कार्यसम्पादन मूल्याकंनको नतिजाअनुसार ६४ दशमलव ४४ अंक प्राप्त गरेर बुटवल उपमहानगरपालिका पहिलो भएको हो । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले यस वर्षको स्थानीय तह र प्रदेश सरकारको कार्यसम्पादन मूल्याकंन प्रतिवेदन सार्वजनिक गरेर बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट भएको घोषणा गरेको हो ।
श्यामलाल पोखरेल । बुटवल ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले हाम्रो र राम्रो बुटवल बनाउने गरी काम गर्दा सफलता मिलेको र केही बाँकी रहेका कामहरू सम्पन्न गर्नेगरी काम भैरहेको बताएका छन् । उपमहानगरको ६७औँ स्थापना दिवसको पूर्वसन्ध्यामा शनिबार पत्रकार सम्मेलन गरी उपमहानगरलाई कामले उत्कृष्ट बनाउनमा सबै जनप्रतिनिधि, सबै कर्मचारी र बुटवलवासीको हात रहेको बताएका हुन् ।
बुटवललाई समृद्धिको सहर बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै नगरप्रमुख पाण्डेले भने, ‘बुटवललाई आर्थिक र सांस्कृतिक केन्द्रको बजारको रूपमा विकास गर्न सकिन्छ, म त्यसमा लागिपरेको छु । सबैको साथ सहयोग र रचनात्मक सुझाव चाहिएको छ । कार्यक्रम म ल्याउँछु ।’
उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरेकै कारण सफलता मिलेको बताउँदै रोजगारी, मानवीय संशाधनको क्षेत्रलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाए ।
प्रमुख पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहकारी, पशुपन्क्षी, सरसफाइ, फोहोरमैला, खेलकुद, सञ्चार, उद्योग क्षेत्र र विकास निर्माणदेखि सबै क्षेत्रको विकास गरेर बुटवललाई हाम्रो र राम्रो सहर बनाउने लक्ष्य रहेको बताए । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले हरेक क्षेत्रबाट लामो ईतिहास बोकेको बुटवलको विकासले समग्र देशको विकासमा सहयोग पुग्ने बताइन् । उनले मानवीय, भौतिक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद, महिला सशक्तीकरण लगायतका सबै क्षेत्रमा नतिजा देखिने गरी काम गरिएको बताइन् ।
अर्यालले अझै कामले पूर्णता नपाएकाले नगर क्षेत्रका विकास निर्माणदेखि सबै कामहरू गर्नेगरी योजना बनाएर काम गरिने बताउँदै कामको आधारमा अर्को वर्ष पनि उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाइन् । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल र महाशाखा प्रमुख तुल्सा अर्यालको सञ्चालनमा पत्रकार सम्मेलन गरी उपमहानगरका गतिविधिबारे जानकारी गराइएको हो । आज फागुन ३ गते आइतबार बुटवल उपमहानगरले ६७औँ स्थापना दिवस मनाउँदै छ । स्थापना दिवस कार्यक्रममा एक वर्षमा भएगरेका कामहरू सार्वजनिक गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
कृषि, सहकारी र पशुपन्क्षी शाखाका उल्लेख्य कार्यहरू
बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहकारी, पशुपन्क्षी, सरसफाइ, फोहोरमैला, खेलकुद, सञ्चार, विकास निर्माणदेखि सबै क्षेत्रको विकास र उचित व्यवस्थापनका साथ कामहरू भैरहेको बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ ।
बुटवल उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखाले सहरी प्रर्वद्धन कार्यक्रमअन्तर्गत कौसी, करेसाबारी, घरायसी फोहोर व्यवस्थापन (कम्पोष्ट मल, जैविक मल, पुष्प खेती) उत्पादन गरेर बजार व्यवस्थापन गरिएको कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले जानकारी दिए ।
त्यस्तै ग्रामीण क्षेत्रलक्षित कार्यक्रम वडा नम्बर १४ देखि वडा नम्बर १९ सम्म कृषि व्यावसायिक उत्पादन कार्यक्रमहरू सञ्चालन गरिएको छ ।
कृषि सचेतना कार्यक्रमअनुसार विषादी न्यूनीकरण, उत्पादन लागत न्यूनीकरण, उत्पादित वस्तुको संकलन प्रशोधन भण्डारण तथा मूल्य श्रृंखला कार्यक्रमलाई प्राथमिकताका साथ बुटवल उपमहानगरपालिकाले नीति, बजेट कार्यक्रममा राखेर काम सञ्चालन गरेको छ ।
उपमहानगरको सहकारी, उद्योग, वाणिज्य तथा लघु उद्यम विकास शाखाका कार्यक्रमहरू पनि उत्कृष्ट छन् । आर्थिक केन्द्रको रूपमा मानिने बुटवलमा थुप्रै सहकारी, विभिन्न विधाका उद्योगहरू सञ्चालनमा छन् । बुटवलमा विभिन्न किसिमका १ सय ३२ वटा सहकारी सञ्चालनमा रहेको सहकारी शाखा प्रमुख गुणाकर खनालले जानकारी गराए । प्रमुख खनालका अनुसार १ सय ३२ वटा सहकारीमा ६६ हजार शेयर सदस्य आबद्ध रहेका ति सहकारीबाट ९ अर्ब ३६ करोड कारोबार गर्दै आएका छन् ।
बुटवल उपमहानगरपालिकाभित्र रहेका सहकारीहरूले ३ सय २० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । त्यस्तै बुटवल उपमहानगरपालिका पशुपन्क्षीको क्षेत्रमा पनि अब्बल छ । पशुपन्क्षी विकास शाखाले पशुको कृत्रिम गर्भाधान, पशु आहारा सेवा कार्यक्रम, भ्याक्सिन कार्यक्रम, भ्यागुते, खोरेत, लम्पी स्कीन रोगको खोप, पशुपन्क्षी उपचार, सामुदायिक कुकुरको बन्ध्याकरण शिविर, कृषकलाई पाडी वितरण कार्यक्रम, मागमा आधारित अनुदान कार्यक्रम, पशु सेवा प्रसार तालिम, सडकमा आश्रित छाडा चौपायाको व्यवस्थापन लगायतका थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
त्यस्तै सडकमा छोडिएका छाडा गाइगोरुको उचित व्यवस्थापनका लागि गौशाला स्थापना गरेर उनीहरूको पालनपोषणसमेत बुटवल उपमहानगरपालिकाले गरेको छ । पशुपन्क्षीको क्षेत्रमा प्रभावकारी कामहरू गरिएको पशुपन्क्षी शाखाका वरिष्ठ पशु चिकित्सिक झविन्द्र बन्जाडेले मिसन टुडेलाई बताए ।
बुटवल उपमहानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा पशुपन्क्षी विकास शाखा, सहकारी शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष २०७९–०८० देखि चालू आव २०८२–०८३ सम्मको प्रगति विवरण सार्वजनिक गरिएको छ । उक्त शाखाहरूको विवरणले कार्यसम्पादनमा राम्रो तथा जनमुखी भएको भन्ने प्रष्ट हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताए ।









प्रतिक्रिया दिनुहोस्