नन्दराम जैशी । सुर्खेत ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रूकुम पश्चिमको राजनीतिक माहोल तातिएको छ । २०६४ सालदेखि यताका सबै प्रतिनिधिसभा निर्वाचनमा अविजित रहँदै आएका पूर्वमाओवादी नेता जनार्दन शर्मा प्रभाकर यसपटक पनि जितको सिलसिला कायम राख्दै आफ्नो राजनीतिक विरासत जोगाउने दाउमा छन् । तर, यसपटक उनको मुख्य चुनौती आफ्नै पूर्वसहकर्मी तथा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माबाट देखिएको छ ।
लामो समय एउटै कम्युनिस्ट धारमा सहकार्य गरेका यी दुई नेताबीचको प्रतिस्पर्धाले जिल्लाको चुनावी समीकरण रोचक बनेको छ ।पूर्वमाओवादी नेता शर्मा अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका छन् । उनलाई नेकपा एमाले रूकुम पश्चिमले सघाउने निर्णय गरेपछि वाम मत एकीकृत हुने आशा गरिएको छ । तर, मतदाताको वास्तविक झुकाव कता जाने हो भन्ने विषयमा भने अन्योल कायमै छ। २०७९ सालको निर्वाचन तथ्यांक हेर्दा रूकुम पश्चिममा वामपन्थी मत बलियो देखिन्छ ।
नेपाली काँग्रेसले आठ हजार ७६६, नेकपा एमालेले १९ हजार ७४९, तत्कालीन नेकपा माओवादी केन्द्रले ३४ हजार ३४७, तत्कालिन नेकपा समाजवादीले एक हजार ५१०, राप्रपाले ५९३ र रास्वपाले एक हजार ८६१ मत प्राप्त गरेका थिए । तथ्यांकअनुसार वाम मत विभाजन भए परिणाम फरक पर्न सक्ने देखिन्छ । शर्मा नेकपाबाट बाहिरिए पनि माओवादी आधार क्षेत्रमा उनको व्यक्तिगत प्रभाव अझै बलियो रहेको स्थानीय विश्लेषकहरू बताउँछन् ।
यस निर्वाचनमा नेकपाका गोपाल शर्मा र नेपाली काँग्रेसका राजु केसी मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन् । काँग्रेसले विगतको मत आधार र असन्तुष्ट वाम मत तान्ने रणनीति बनाएको छ । त्यस्तै नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार इन्जिनियर मानबहादुर शाहीले पनि युवामाझ प्रभाव बढाउने प्रयास गरिरहेका छन् ।
यसैगरी राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका धनबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का, नेकपा माओवादीका चन्द्र बुढा, नेकपा संयुक्तका शेरबहादुर केसी, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी र आम जनता पार्टीकी प्रेमा दमाई नेपाली पनि चुनावी मैदानमा छन् । यी उम्मेदवारहरूबाट मत काट्ने सम्भावनाले मुख्य प्रतिस्पर्धीलाई चुनौती थपिएको छ ।
विकास, स्थायित्व र व्यक्तिगत प्रभाव
जनार्दन शर्मा २०६४ यता जिल्लामा निरन्तर प्रभावशाली नेताका रूपमा स्थापित छन् । पूर्वअर्थमन्त्री समेत बनिसकेका उनले विकास निर्माण, सडक विस्तार, ऊर्जा र पूर्वाधारका क्षेत्रमा योगदान दिएको दाबी गर्दै आएका छन् । उनले यसपटक पनि ‘जनमत आफ्नै पक्षमा रहेको’ दाबी गर्दै जित दोहो¥याउने विश्वास व्यक्त गरेका छन् ।
तर, राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्वाचन व्यक्तिगत प्रभाव, पार्टीको सैद्धान्तिक आधार र नयाँ मतदाताको झुकावबीचको प्रतिस्पर्धा बन्नेछ । वाम मत एकीकृत हुन्छ कि विभाजित ? यही नै नतिजा निर्धारणको मुख्य आधार हुने देखिन्छ । रूकुम पश्चिममा नेकपाको सैद्धान्तिक मत आधार बलियो भए पनि जनार्दन शर्माको व्यक्तिगत प्रभाव र संगठन क्षमताले परिणाम कता मोडिने हो ? भन्ने चासो पनि बढेको छ । तर, फागुन २१ को मत परिणामले मात्र कसले विरासत जोगाउँछ र कसले नयाँ इतिहास रच्छ भन्ने स्पष्ट पार्नेछ ।
२०६४ मा पहिलो संविधानसभा निर्वाचन भयो । सो चुनावमा शर्मा रूकुम पश्चिमबाट भारी मतका साथ निर्वाचित भए । त्यसयता २०७९ सम्म आइपुग्दा जनार्दन संघीय संसद्मा अविजित रहे । उनलाई निर्वाचनमा कसैले हराउन सकेन । २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा शर्मा भारी मतका साथ सांसद चुनिएका थिए । तर, अहिले आएर शर्माको यो अविजित यात्रा अन्योलमा परेको छ ।
नेकपा (माओवादी केन्द्र)का पूर्वउपमहासचिव समेत बनेका शर्माले १४ वर्षको उमेर २०३४ सालमा तत्कालीन कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । एसएलसी उत्तीर्ण गरेपछि कृषि विषय पढेका उनी राजनीतिलाई अघि बढाउन जिल्लामै जेटिएको जागिर खाएका थिए । रूकुम पश्चिबाट दैलेख सरुवा गरिएपछि शर्माले २०४३ मा जेटिएबाट राजीनामा दिएका थिए । त्यसअघि नै उनी २०३८ मा तत्कालीन कम्युनिस्ट पार्टीको रूकुम जिल्ला सदस्य भइसकेका थिए ।
२०४६ मा बहुदलीय व्यवस्थाको पुनस्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ मा तत्कालीन संयुक्त जनमोर्चाबाट रूकुम–२ मा प्रतिस्पर्धा गरेका शर्मा नेपाली काँग्रेसका गोपालजीजंग शाहसँग पराजित भएका थिए । शाहले १२ हजार ४४१ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी शर्मालाई ११ हजार १२६ मत प्राप्त भएको थियो । २०४७ मा आफूलाई पराजित गरेका शाहसँग २६ वर्षपछि शर्माले बदला लिए ।
२०७४ को निर्वाचनमा शर्माले काँग्रेस उम्मेदवार शाहलाई ठूलो मतान्तरले हराए । विजयी शर्मा र पराजित शाहबीचको मतान्तर १८ हजार ७४३ थियो । २०५२ देखि सुरु भएको माओवादी सशस्त्र युद्धमा सुरुवातदेखि नै सहभागी शर्मा माओवादी सेनाका चार डेपुटी कमान्डर मध्ये एक थिए। २०६४ पछिका सबै निर्वाचनका प्रतिस्पर्धी शर्मा ०६४ को पहिलो संविधानसभा निर्वाचनमा २२ हजार ५७५ मतका साथ विजयी भए ।
२०७० को निर्वाचनमा ३० हजार २७० मत प्राप्त गरेका उनले २०७४ को निर्वाचनमा ३४ हजार ४०२ मत प्राप्त गरी विजय हासिल गरेका थिए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस र माओवादीबीच भएको गठनबन्धनका उम्मेदवार उनै शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरेका थिए । तर, अहिले तिनै एमाले उम्मेदवार देवकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिई शर्मालाई सहयोग गरेका छन् । तर विकास, स्थायित्व र व्यक्तिगत प्रभाव र एमालेको सहयोगले चुनावी नतिजा आफ्नो पोल्टामा पार्लान ? त्यो हेर्न बाँकी छ ।
जनार्दनको पकड भत्काउने दाउमा गोपाल
रूकुम पश्चिमबाट चुनावी नतिजामा ह्याट्रिक गरिसकेका जनार्दन शर्मालाई यस पटक उनकै पूर्व लडाकु तथा सहकर्मी गोपाल शर्माले चुनौती दिएका छन् । जनयुद्धदेखि नै माओवादीको आधार इलाका रहेको रूकुम पश्चिममा गणतन्त्रपछिका निर्वाचन तत्कालिन माओवादीले नै जित्दै आएको छ । तर, आगामी निर्वाचनमा पूर्वअर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा फरक कित्तामा उभिँदा चुनावी माहोल रोचक बनाएको हो ।
राजनीतिक गुरु जनार्दनसँग नेकपाका उम्मेदवार शर्मा प्रतिस्पर्धामा छन् । २०७४ सालको निर्वाचनमा प्रदेशसभा सांसद निर्वाचित भएका शर्मा कर्णाली प्रदेश सरकारमा अर्थमन्त्री बनेका थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा रूकुम पश्चिमका ६ वटा स्थानीय तहमध्ये चार वटा पालिका प्रमुख तथा अध्यक्षमा तत्कालिन माओवादी केन्द्रबाट रहेका छन् । भने दुई वटा नेपाली काँग्रेसबाट निर्वाचित छन् । विगतदेखि माओवादीको पकट क्षेत्र रहेको भन्दै नेकपाका शर्मा चुनाव जित्नेमा ढुक्क छन् ।
नेकपा उम्मेदवार शर्माले रूकुम पश्चिम कम्युनिस्टको गढ भएकाले व्यक्ती भन्दा पनि संगठनका कारण पार्टीले मत पाउने दाबी गरे । रूकुम पश्चिम साविक माओवादी केन्द्रको गढ रहेको भन्दै त्यहाँ व्यक्तीको अनुहारलाई नभएर सांगठित मत पार्टीका उम्मेदवारमा जानेमा उनी ढुक्क छन् । नेता जता लागे त्यतै नभइ रूकुम पश्चिमको विरासत भनेको कम्युनिस्ट कायम राख्ने इतिहास रहेको उनको दाबी छ ।
तर, उनी जनार्दनको पछिल्लो निर्णयमा आफूले साथ दिन नसकेको बताउँदै प्रचण्डसँग नजिकिएका हुन् । गोपाल मात्रै होइन, अहिले जनार्दन शक्तिमा रहँदा नजिकबाट बढी लाभ लिएकाहरू पनि विपक्षी कित्तामा उभिएका छन् । उनीहरूले जनार्दनले धोका दिएको भन्दै मतदाता फकाइरहेका छन् । यदी नेता जता लागे त्यतै नभइ पार्टीलाई नै मत दिएको खण्डमा गोपाललाई जनार्दनको पकड भत्काउन पनि बेर नलाग्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्