तौलिहवा (कपिलवस्तु) ।
नेपाली काँग्रेस पार्टी आगामी निर्वाचनबाट देशकै सबैभन्दा ठूलो दल बन्ने नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बताएका छन् । नेपाली काँग्रेस कपिलवस्तुले तौलिहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उपसभापति शर्माले नेपाली काँग्रेस छोडेर बाहिर रहेका नेता तथा कार्यकर्ताहरूलाई पुनः पार्टीभित्र फर्काउने अभियान सुरु भइसकेको जानकारी दिए । कपिलवस्तुका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
टिकट वितरणका क्रममा देखिएका केही कमजोरीका विषयमा बोल्दै उनले प्रत्येक प्रदेशका लागि पर्याप्त समय नपाउँदा समस्या देखिएको स्पष्ट पारे । सातवटै प्रदेशका लागि जम्मा दुई दिन मात्र समय उपलब्ध हुँदा केही कमजोरी भएको उनको भनाइ छ । एउटा प्रदेशलाई मात्रै दुई दिनको समय दिइएको भए समस्या नआउने उनले बताए । उपसभापति शर्माले नेपाली काँग्रेसले मात्रै देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको उल्लेख गर्दै अहिलेको निर्वाचन जित्नु पार्टी मात्र नभई देशकै आवश्यकताको विषय भएको बताए ।
कार्यक्रममा उनले फागुन १ गतेदेखि २१ गतेसम्म निर्वाचनमा सक्रिय रूपमा खटिने कार्यकर्तामध्ये उत्कृष्टलाई ‘म्यान अफ द इलेक्सन’ घोषणा गरिने जानकारी पनि दिए । कार्यक्रममा कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिभिसभा सदस्यका उम्मेदवार अतहर कमाल मुसलमान, क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्य, क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अभिषेकप्रताप शाह, नेपाली काँग्रेसका जिल्ला सभापति अब्दुल कलाम पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैगरी उपसभापति शर्माले बिहीबार नै काँग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा पनि काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताएका थिए । उनले नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुने भन्दै काँग्रेस साँच्चिकै बदलिएको र नयाँ भएर आएको उल्लेख गरे । जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको बताउँदै उनले संसार बदल्न छ भने आफूबाट नै सुरुवात गर्नुपर्ने बताए । काँगे्रसका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भरतकुमार शाहले काँग्रेस बदलिएको र अब देशलाई बदल्न आवश्यक रहेको भन्दै देश बदल्न भ्रष्टाचारलाई मुक्त बनाउन आवश्यक रहेको बताए ।
काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ मा हुने निर्वाचनपछि काँग्रेस नेतृत्वको सरकार बने मात्र जेनजी पुस्ताले उठाएका माग सम्बोधन हुने बताए । उक्त कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही सभापति रामकृष्ण खाण, पूर्वकेन्द्रीय सदस्य गंगा शाही, सचिव हरि काफ्ले लगायतले काँग्रेसलाई मत दिन आग्रह गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्