निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष बनाउन मिडिया वा सञ्चारमाध्यम र सञ्चारमाध्यममा कार्यरत हरेक सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहन्छ । आगामी निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष बनाउन मिडियाकर्मीले सकारात्मक भूमिका खेल्न आवश्यक छ । समाजको ऐना भनेर चिनिने पत्रकारितालाई पत्रकारले सही ढंगबाट सत्यतथ्य सूचना प्रकाशन र प्रशारण गर्न आवश्यक छ । पत्रकारहरूले कुनै एकपक्षीय ढंगबाट नभई सन्तुलन मिलाएर पत्रकार आचारसंहिताको पालना गर्दै आचारसंहिताको कार्यान्वयन गर्न पर्दछ । साथै पत्रकार आचारसंहिता मात्रै नभएर निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई पनि मध्यनजर गर्दै काम गर्न जरुरी हुन्छ । पत्रकारले सञ्चारमाध्यममा पक्ष विपक्ष लिएर समाचार सम्प्रेषण गर्नु गलत हो । पत्रकारले स्वतन्त्र, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्नु पर्दछ । मिडियामा एकपक्षीय समाचार प्रकाशन र प्रशारण गर्नु आचारसंहिताविपरीत हो । पत्रकार आचारसंहिता र निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अक्षरशः पालना गर्दै हरेक सञ्चारमाध्यमले काम गर्नु जरुरी हुन्छ । निर्वाचनलाई सफल बनाउनु सबैको कर्तव्य हो । निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वच्छ बनाउन पत्रकार र सञ्चारमाध्यमले पनि पहल गर्नुपर्दछ । निर्वाचन सफल बनाउन मिडियाकर्मीको पनि जिम्मेवारी रहेकाले सन्तुलित समाचार मात्र सम्प्रेषण गर्नु पर्दछ ।
जनतालाई निर्वाचनसम्बन्धी जानकारी प्रदान गर्ने, राजनीतिक दल र उम्मेदवारहरूको गतिविधि बारेमा समाचार प्रकाशित गर्ने, निर्वाचन प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न मद्दत गर्ने लगायतका कार्यहरू सञ्चारकर्मीले गर्न आवश्यक छ । पत्रकारले निर्वाचनका समयमा हुने हरेक गतिविधिहरूलाई सूक्ष्म ढंगबाट हेरेर, बुझेर मात्रै सञ्चारमाध्यममा प्रकाशन र प्रशारण गुर्नपर्दछ । अहिले पछिल्लो समयमा विकसित प्रविधिले गर्दा मिनेट मिनेट, सेकेन्ड सेकेन्डमा सर्वसाधारण नागरिकले सूचनाहरू जानकारी लिइरहेका हुन्छन् । सामाजिक सञ्जालमा आउने अधिकांश गलत सूचना तथा जानकारीले गर्दा आम नागरिक अन्योलमा परेका हुन्छन् । उनीहरूले के गलत हो के सही हो भनेर छुट्याउनतिर लाग्दैनन् । जुन सूचना आयो त्यसैलाई सही मान्ने गर्दछन् । तसर्थः मिडियाकर्मीहरूले गम्भीर भएर सही सूचना र जानकारी गराउन आवश्यक छ । सामाजिक सञ्जालमा आउने हरेक सूचनालाई नागरिकले समाचारका रूपमा लिने गर्दछन् । तसर्थः सामाजिक सञ्जालका प्लेट फर्महरू र समाचार अलग विषय हुन् भनेर पनि नागरिकलाई बुझाउन मिडियाकर्मीहरूले पहल लिनु जरुरी छ । यसका अतिरिक्त, मिडियाले निर्वाचनमा हुने अनियमितता र भ्रष्टाचारको खुलासा गर्न पनि महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । मिडियाकर्मीहरूले सन्तुलित समाचार नदिँदा कैयौँ विषयहरू ओझेलमा पर्ने गरेका हुन्छन् ।
निर्वाचनको गाम्भीर्यतालाई बुझेर हरेक मिडियाकर्मीहरूले सोही अनुसार काम गर्न आवश्यक छ । कुनै पनि मिडिया र मिडियाकर्मीहरूले गलत गरेमा वा आचारसंहिताविपरीत कार्य गरेमा त्यसको कारबाही समेत भोग्नु पर्ने हुनसक्छ । नियामक संस्था प्रेस काउन्सिल नेपालले हरेक काममा अनुगमन गरिरहेको हुन्छ । बिनादर्ताका अनलाइन र युट्युव लगायतबाट सामाजिक सञ्जालमा बढी आचारसंहिताको उल्लंघनका घटना भएका पाइन्छन् । स्वयंले यसप्रकारका गलत कार्यहरू गर्नुहुँदैन भने नियामक संस्था प्रेस काउन्सिल नेपालले पनि निगरानी, अनुगमन र कारबाही समेतका कदम चाल्न जरुरी छ । आम नागरिकलाई सुसूचित बनाउने, जानकारी गराउने, समाचार सम्प्रेषण गर्ने कार्य अत्यन्तै महत्वपूर्ण काम हो । त्यसका साथसाथै अत्यन्तै संवेदनशील विषय पनि हो । त्यसमा पनि निर्वाचनका समयमा झनै विशेष महत्व हुन्छ । हरेक नागरिकले निर्वाचनका विषयमा जानकारी पाउनका लागि आतुर हुन्छन् । यस्तो परिस्थितिमा मिडियाकर्मीले आफ्ना मिडियाहरूबाट सत्यतथ्य, निष्पक्ष तरिकाले सन्तुलित विषयवस्तु पस्कन सक्नु पर्दछ । आचारसंहिताको पालना गरे कुनै पनि मिडियाकर्मी र मिडियाहरूले गल्ती गर्दैनन् र गल्ती पनि हुँदैन् । तसर्थः पत्रकार आचारसंहिताका साथसाथै निर्वाचन आचारसंहिताको पनि पालना गर्दै मिडिया र मिडियाकर्मीहरूले निर्वाचनसम्बन्धी गतिविधि गर्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्