भण्डारीको ‘समय सूत्र’ सार्वजनिक



काठमाडौँ, वैदिक तथा वैज्ञानिक पक्षबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’  सार्वजनिक गरिएको छ । लेखक तथा सम्पादक श्रीश भण्डारीको उक्त पुस्तक आज काठमाडौँमा आयोजित एक सामारोहबीच सार्वजनिक गरिएको हो ।
भौतिकशास्त्रका विद्वान् प्राडा उदयराज खनाल, पूर्वीय दर्शनका ज्ञाता प्राडा आमोदवर्धन कौण्डिन्यायन, वरिष्ठ चित्रकार एवं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय, वरिष्ठ चिकित्सक एवं गीतकार डा भोला रिजाल, पत्रकार टीकाराम यात्री, इटर्नल पब्लिकेसन प्रालिकी प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारी, लेखक भण्डारीलगायत व्यक्तिको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।
‘समय सूत्र’मा समयको भौतिक, अनुभवजन्य, जैविक र मनोवैज्ञानिक आयामका बारेमा वैज्ञानिक र दार्शनिक चिन्तनसहितको चर्चा गरिएको छ । यसमा समयको सार्थकता, वर्तमानको मूल्य, समयको अनिकाल, समय मापन र जीवन व्यवस्थापन जस्ता विषयवस्तु समावेश छन् ।
पुस्तक लोकार्पण समारोहमा समयबारे प्राज्ञिक व्यक्ति र लेखकबीच समय–संवाद गरिएको थियो ।  वैदिक र अन्य महत्वपूर्ण ग्रन्थका सम्बद्ध विषयलाई मूल उद्धरणसहित उल्लेख गरी प्रामाणिक बनाइएकाले यो पुस्तक समयबारे जान्न चाहने विद्यार्थीवर्ग र आमपाठकका लागि उपयोगी रहेको प्रा कौण्डिन्न्यायनले बताए ।  लेखक भण्डारीले पुस्तकबारे जानकारी दिँदै भने,‘समय बुझ्नु भनेको घडीको चाल हेर्नु मात्र होइन, अस्तित्वको भाषा बुझ्नु, भाव अनुभूति गर्नु र लय पक्रनु हो । यो किताब पढिसकेपछि कुनै पनि पाठकले आफ्ना पललाई बितिजाने एकाइमा मात्र नभई अर्थयुक्त सम्भावना पनि हो भनेर बुझ् सक्नुभयो भने म आफ्नो अभीष्ट सिद्ध भएको मान्नेछु ।’ इटर्नल पब्लिकेसन प्रालिले सार्वजनिक गरेको यो किताब २६४ पृष्ठको छ भने मूल्य रु ५०० रहेको यो पुस्तक आजैदेखि बजारमा उपलब्ध छ ।
(((

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार