निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना



बङ्गलादेशकी बहिष्कृत पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो निर्वासनबाट देशमा हुन लागेको आम निर्वाचनको कडा आलोचना गरेकी छन् । आफ्नो दल अवामी लिगलाई चुनावबाट प्रतिबन्ध लगाएपछि आगामी निर्वाचन समावेशी, स्वतन्त्र र निष्पक्ष हुन नसक्ने उनको भनाइ छ ।सन् २०२४ मा विद्यार्थी आन्दोलनमाथि गरिएको दमनका कारण अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले गत हप्ता एसोसिएटेड प्रेसलाई इमेलमार्फत प्रतिक्रिया दिँदै समावेशी चुनाव नहुँदा बङ्गलादेश लामो समयसम्म राजनीतिक अस्थिरतामा फस्ने चेतावनी दिइन् ।
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले जानाजानी पूर्व सत्तारूढ अवामी लिगलाई चुनाव प्रक्रियाबाट बाहिर राखेर लाखौँ समर्थकलाई मताधिकारबाट वञ्चित गरेको हसिनाको दाबी छ । उनका अनुसार ठूलो जनसमूहलाई राजनीतिक सहभागिताबाट हटाउँदा असन्तुष्टि गहिरिन्छ, संस्थाहरू कमजोर बन्छन् र भविष्यमा थप अस्थिरताको आधार तयार हुन्छ । हसिनाले बहिष्करणबाट बनेको सरकारले विभाजित राष्ट्रलाई एकताबद्ध गर्न नसक्ने स्पष्ट गर्नुभएको छ ।
फेब्रुअरी १२ मा हुने निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाता सहभागी हुन योग्य रहेका छन् । हसिनाको निष्कासनपछि मानव अधिकार, अल्पसङ्ख्यकको सुरक्षा र प्रेस स्वतन्त्रताका विषयमा बङ्गलादेशमा चिन्ता बढेको छ । इस्लामवादी समूहहरूको प्रभाव बढ्दै गएको र विशेषगरी हिन्दू समुदायमाथि आक्रमण भएको आरोप पनि उठेका छन् ।
यसैबीच, तारिक रहमानको नेतृत्वमा रहेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएको छ । रहमानले देशको स्थिरताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एपीलाई पठाएको इमेलमा हसिनाले राजनीतिक प्रतिबन्ध र बहिष्कारको चक्र अन्त्य गर्नुपर्ने बताउँदै जनताको वास्तविक सहमतिमा आधारित वैध सरकार आवश्यक रहेको धारणा राखेकी छन् ।  उनका अनुसार राष्ट्रले आफ्नो घाउ निको पार्ने सबैभन्दा सही बाटो यही हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार