शेरबहादुर ऐर । कैलाली ।
कैलारी गाउँपालिका–२ रामपुरका करण थारू (नाम परिवर्तन)लाई २०७९ माघ महिनामा शरीरमा अनौठा दाग देखिन थाले । सुरुमा सामान्य एलर्जी होला भन्ने लाग्यो । विस्तारै संवेदना कम हुने, हातखुट्टा सुन्निनेजस्ता लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराए । चिकित्सकले कुष्ठरोग भएको पुष्टि गरे । फागुनदेखि नियमित उपचार सुरु भयो । समयमै औषधि सेवन गरेपछि रोग त नियन्त्रणमा आयो, तर रोगसँगै समाजले टाँसेको कलङ्क अझै मेटिन सकेको छैन ।
‘औषधि खाएर रोग ठिक भयो, तर समाजको व्यवहार ठिक भएन,’ करण भन्छन्, ‘गाउँमा कुष्ठरोग सर्छ भन्ने डर अझै छ । उपचारपछि सर्दैन भन्ने कुरा कसैले बुझ्न चाहँदैन ।’ यही कारण उनी अहिले गाउँ फर्किन सकेका छैनन् । रोजगारीका लागि धनगढी बस्दै आएका उनी काम खोज्दा पनि विभेदको सामना गर्नुपरेको बताउँछन् । ‘काम दिन चाहँदैनन्, सँगै बस्न डराउँछन्,’ उनको गुनासो छ ।
कुष्ठरोग सर्ने रोग भए पनि नियमित औषधि सेवन गरेपछि पूर्ण रूपमा निको हुने र अरूलाई नसर्ने तथ्यबारे जानकारीको अभावले करणजस्ता व्यक्तिहरू अझै पनि सामाजिक बहिष्करण भोगिरहेका छन् । ‘स्वास्थ्यकर्मीहरूले मात्र औषधि खुवाएर पुग्दैन, समाजको सोच बदल्न पनि काम गर्नुपर्छ,’ उनी भन्छन् ।
करणको कथा मात्रै होइन, कैलारीकै मनोज (नाम परिवर्तन)को अनुभव पनि उस्तै पीडादायी छ । उनको परिवारमा आमा–बुबा, बाजे वा अघिल्ला पुस्तामा कसैलाई पनि कुष्ठरोग थिएन । तर एकाएक उनीमा यो रोग देखियो । ‘मलाई कुष्ठरोग भयो भनेर थाहा पाउँदा सबैभन्दा पहिले पढाइ प्रभावित भयो,’ मनोज सम्झन्छन्, ‘शरीरमा बिर्खा देखिन्थ्यो । साथीहरू नजिक बस्न छाडे । मेरो हातको पानी नखाने, काम नदिने जस्ता व्यवहार भोगेँ ।’
मनोजले दुई वर्ष नियमित औषधि सेवन गरे । चिकित्सकका अनुसार उनी पूर्ण रूपमा निको भइसकेका छन् । तर समाजको दृष्टिकोणमा भने खासै परिवर्तन आएको छैन । ‘रोग ठिक भयो, तर मानिसको सोच ठिक भएन,’ उनी भन्छन्, ‘अझै पनि सर्छ भन्ने गलत धारणा छ ।’ कुष्ठरोगलाई लिएर समाजमा रहेको डर, भ्रम र अज्ञानताले प्रभावित व्यक्तिहरू खुलेर स्वास्थ्य संस्थामा जान सक्दैनन् । कतिपयले रोग लुकाउने, ढिलो उपचारमा जाने, वा उपचार नै नगर्ने अवस्था देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
यसले रोग पहिचानमा समस्या सिर्जना गर्नुका साथै रोग फैलिन सक्ने जोखिम पनि बढाउँछ । कैलाली जिल्लामा अझै पनि कुष्ठरोग पहिचान र निवारण चुनौतीपूर्ण बनेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार रोगको उपचारभन्दा पनि सामाजिक दृष्टिकोण परिवर्तन ठूलो चुनौती हो । ‘कुष्ठरोग औषधिले निको हुन्छ, तर विभेद औषधिले होइन, चेतनाले हट्छ,’ एक स्वास्थ्यकर्मी भन्छन् ।
स्वास्थ्यकर्मीहरू भन्छन्, कुष्ठरोग निवारणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । तर बजेट अभाव देखाउँदै धेरै स्थानीय तहहरूले यो विषयलाई प्राथमिकतामा राखेका छैनन् । ‘स्थानीय तहहरूले विशेषज्ञ स्वास्थ्य शिविर त गर्छन्, तर कुष्ठरोग पहिचानमा खासै ध्यान दिँदैनन्,’ स्वास्थ्यकर्मीको भनाइ छ । उनका अनुसार स्वास्थ्य शिविर आयोजना गर्दा कुष्ठरोगी खोजपडताललाई पनि अनिवार्य रूपमा समेट्नुपर्ने हुन्छ । ‘प्रारम्भिक चरणमै रोग पहिचान भयो भने न त अपांगता हुन्छ, न त दीर्घकालीन समस्या,’ उनी भन्छन्, ‘तर जनप्रतिनिधिको प्राथमिकतामा नपर्दा यो विषय ओझेलमा परेको छ ।’
जिल्ला समन्वय समितिकी प्रमुख टीकाकुमारी भुल चौधरी स्वयं पनि पहिले कुष्ठरोगबारे भ्रममा रहेको स्वीकार्छिन् । ‘मलाई पनि यो दीर्घकालीन रोग हो, ठिक हुँदैन भन्ने लागेको थियो,’ उनी भन्छिन्, ‘समाजमा उपचार गरेपछि पनि ठिक हुँदैन भन्ने अफवाह धेरै छ ।’ उनका अनुसार यस्ता भ्रम हटाउन स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र समुदायबीच सहकार्य आवश्यक छ । ‘रोगको पहिचान दर बढाउन खोजपडताल बढाउनुपर्छ,’ उनी भन्छिन्, ‘जनचेतना अभियानबिना कुष्ठरोग निवारण सम्भव छैन ।’
कुष्ठरोगप्रति नकारात्मक सामाजिक दृष्टिकोणकै कारण धेरै प्रभावित व्यक्ति रोग लुकाएर बस्ने गरेको पाइएको छ । यसले उपचारमा ढिलाइ हुने, अपांगता बढ्ने र मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पार्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवर बताउँछन् । सामाजिक बहिष्करण, आत्मग्लानी र डरले कतिपय व्यक्ति समाजबाटै अलग्गिन बाध्य छन् ।
करण अहिले गाउँ जान डराउँछन् । मनोज अझै पनि नयाँ ठाउँमा आफू पहिले कुष्ठरोगी भएको कुरा खुलाउन सक्दैनन् । उनीहरूजस्ता धेरै मानिस मौन पीडामा बाँचिरहेका छन् ।
कुष्ठरोगको चुनौती कायमै ः कैलाली र कञ्चनपुर उच्च जोखिममा
सुदूरपश्चिम प्रदेशमा कुष्ठरोग पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । पछिल्ला तथ्यांकहरूले अवस्था अझै चुनौतीपूर्ण रहेको देखाएका छन् । विशेष गरी कैलाली र कञ्चनपुर जिल्लामा कुष्ठरोगको प्रकोप तथा नयाँ बिरामी पत्ता लाग्ने दर उच्च देखिएको छ । स्वास्थ्य निर्देशनालय तथा जिल्लागत तथ्यांकअनुसार प्रदेशका केही जिल्लामा संक्रमण घट्दो क्रममा देखिए पनि तराईका मुख्य सहरी तथा अर्धसहरी क्षेत्र अझै उच्च जोखिममै छन् ।
प्रदेशस्तरीय तथ्यांकअनुसार प्रति १० हजार जनसङ्ख्यामा वर्षको अन्त्यसम्म उपचारमा रहेका कुष्ठरोगीको दर (प्रिभेलेन्स) सबैभन्दा बढी कैलाली जिल्लामा १.५७ रहेको छ । कञ्चनपुरमा यो दर ०.७५ छ भने अछाममा ०.६९ रहेको छ । डोटी (०.३०), डडेलधुरा (०.२९), दार्चुला (०.२३), बैतडी (०.०८) र बझाङ (०.०४)मा तुलनात्मक रूपमा कम देखिएको छ । बाजुरामा हाल उपचारमा रहेका कुष्ठरोगी शून्य देखाइएको छ ।
यस्तै, प्रतिएक लाख जनसङ्ख्यामा नयाँ कुष्ठरोगी पत्ता लाग्ने दरतर्फ हेर्दा कञ्चनपुर जिल्ला सबैभन्दा अगाडि देखिएको छ । कञ्चनपुरमा नयाँ बिरामी पत्ता लाग्ने दर ३३.९६ रहेको छ, जुन प्रदेश औसतभन्दा झण्डै तीन गुणा बढी हो । कैलालीमा यो दर १२.६६ छ भने सुदूरपश्चिम प्रदेशको औसत ११.७४ रहेको छ । अछाम (५.०८), डडेलधुरा (२.९३), दार्चुला (२.२८), डोटी (२.०२) र बैतडी (१.२५)मा नयाँ बिरामी दर कम देखिएको छ । बाजुरा र बझाङमा नयाँ केस शून्य रहेको तथ्यांकले देखाएको छ ।
कैलालीमा पाँच वर्षको अवस्था
कैलाली जिल्लाको पाँच आर्थिक वर्षको तथ्यांकले कुष्ठरोग अझै गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा रहेको पुष्टि गर्छ । २०७७–०७८ मा जिल्लामा १३८ जना कुष्ठरोगी दर्ता भएका थिए । २०७८–०७९ मा यो सङ्ख्या १३१ मा झरेको थियो भने २०७९–०८० मा पुनः बढेर १४९ पुगेको थियो ।
२०८०–०८१ मा सबैभन्दा बढी १५८ जना कुष्ठरोगी दर्ता भए । तर २०८१–०८२ मा भने यो सङ्ख्या घटेर ११७ मा झरेको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार पछिल्लो वर्ष देखिएको कमी सकारात्मक संकेत भए पनि यसलाई दीर्घकालीन सुधारको रूपमा लिन अझै हतारो हुने बताउँछन् । ‘सङ्ख्या घट्नु राम्रो संकेत हो तर सक्रिय खोज कम भयो भने पनि तथ्यांक घटेको देखिन सक्छ,’ स्वास्थ्य निर्देशनालयका मनोज ओझाले भने ।
स्थानीय तहमा असमान अवस्था
कैलालीभित्र पनि स्थानीय तहगत रूपमा कुष्ठरोगको अवस्था असमान देखिन्छ । सबैभन्दा बढी कुष्ठरोगी धनगढी उपमहानगरपालिकामा भेटिएका छन् । धनगढीमा २०७७–०७८ मा ६४ जना, २०७८–०७९ मा ७४ जना, २०७९–०८० मा ८१ जना, २०८०–०८१ मा ७३ जना र २०८१–०८२ मा ४८ जना कुष्ठरोगी दर्ता भएका छन् । पछिल्लो वर्ष उल्लेख्य रूपमा कमी आएको भए पनि धनगढी अझै उच्च जोखिम क्षेत्रकै रूपमा रहेको छ ।
लम्की चुहा नगरपालिका पनि निरन्तर उच्च जोखिममा देखिएको छ । यहाँ ५ वर्षमा १८, ९, ८, १४ र ११ जना कुष्ठरोगी दर्ता भएका छन् । टिकापुर नगरपालिकामा २०८०–०८१ मा अचानक १२ जना कुष्ठरोगी भेटिनु चिन्ताजनक रहेको स्वास्थ्यकर्मी बताउँछन् । यस्तै, गोदावरी, गौरीगंगा र घोडाघोडी नगरपालिकामा बर्सेनि ३ देखि ८ जनासम्म कुष्ठरोगी भेटिँदै आएका छन् । यी पालिकामा सङ्ख्या धेरै नदेखिए पनि निरन्तरता रहनु संक्रमणको चक्र अझै तोडिन नसकेको संकेत हो ।
मोहन्याल, चुरे, कैलारी र जोशीपुर गाउँपालिकामा केस सङ्ख्या कम देखिए पनि पूर्ण रूपमा शून्य नभएकोले जोखिम कायमै रहेको विज्ञहरूको भनाइ छ । स्वास्थ्य विज्ञहरूका अनुसार तराईका जिल्लामा कुष्ठरोग बढी देखिनुका कारण बहुआयामिक छन् । जनघनत्व बढी हुनु, आन्तरिक तथा सीमापार आवतजावत, गरिबी, सरसफाइको कमी र जनचेतनाको अभाव प्रमुख कारणका रूपमा लिइन्छ । खुला सिमानाका कारण भारतका विभिन्न क्षेत्रसँग निरन्तर सम्पर्क हुँदा पनि संक्रमण फैलिने जोखिम बढेको बताइन्छ ।
पालिकाहरूमा अझै पनि कुष्ठरोगका बिरामी फेला पर्दै
सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहहरूमा अझै पनि कुष्ठरोगका बिरामी फेला परिरहेका छन् । हाल सार्वजनिक गरिएको तथ्यांकअनुसार प्रदेशका जम्मा ८८ वटा पालिका यस विवरणमा समेटिएका छन् । आर्थिक वर्ष २०७८–०७९ र २०८०–०८१ को तथ्यांकले प्रदेशमा कुष्ठरोग अझै पनि पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको संकेत गरेको छ ।
तथ्यांकअनुसार अधिकांश पालिकामा १ देखि ४ जना कुष्ठरोगका बिरामी रहेको देखिन्छ । यसले रोगको फैलावट कम भएजस्तो देखिए पनि अझै पूर्ण उन्मूलन हुन नसकेको स्पष्ट पार्छ । त्यस्तै, केही पालिकामा ५ देखि १० जना, ११ देखि १५ जना तथा १६ देखि २० जनासम्म कुष्ठरोगका बिरामी रहेका छन् ।
चिन्ताजनक पक्ष के छ भने केही सीमित पालिकामा ३० जनाभन्दा बढी कुष्ठरोगका बिरामी रहेको विवरण पनि तथ्यांकमा समावेश गरिएको छ । यसले ती पालिकाहरूमा रोग नियन्त्रणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको हुनसक्ने देखाउँछ । साथै, केही पालिकामा भने कुष्ठरोगका बिरामीको यकिन तथ्यांक पत्ता नलागेको उल्लेख गरिएको छ, जसले तथ्यांक संकलन र अनुगमनमा अझै कमजोरी रहेको संकेत गर्छ ।









प्रतिक्रिया दिनुहोस्