कोहलपुर (बाँके) ।
बाँके जिल्लास्तरीय कृषि मेला प्रदर्शनी तथा सचेतना कार्यक्रम–२०८२ सम्पन्न भएको छ । कृषि बजार व्यवस्थापन समिति कोहलपुरको आयोजनामा तीन दिनसम्म चलेको २७औँ वार्षिकोत्सव, कृषि मेला प्रदर्शनी तथा सचेतना कार्यक्रम–२०८२ सम्पन्न भएको हो । प्रदर्शनीको समापन समारोह कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र हरिहरभवन ललितपुरका प्रमुख टीकाराम शर्माको प्रमुख आतिथ्यता प्रदर्शनी सम्पन्न भएको हो ।
समापनको क्रममा कृषक, व्यवसायी तथा सहयोगी संस्थाहरूलाई सम्मान गरिएको थियो । कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक चित्रा पाठकका अनुसार समापन सत्रमा १४ विधामा ९४ जना कृषकलाई सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीसहित बजार व्यवस्थापनमा सहयोग पु¥याउने पूर्वसमिति पदाधिकारीहरूलाई समेत सम्मान गरिएको हो । प्रदर्शनीमा बाँके जिल्लाभरका विभिन्न ९६ प्रकारका कृषि उपज स्टलका रुपमा राखिएको थियो । तीमध्ये १० वटा प्रविधिसम्बन्धी स्टल रहेका थिए ।
समापन सत्रमा खुद्रा व्यवसायीहरूतर्फ नरबहादुर कुमाई र लक्ष्मी थारू, थोक व्यवसायीतर्फ विष्णु बुढामगर र सिता बस्नेतलाई सम्मान गरिएको उनले बताइन् । पुरस्कृत हुने किसानहरूमा कोहलपुर १३ का लोकबहादुर वली, सुमैखी थरुनी, बैजनाथ ८ का अशोककुमार चौधरी र बसन्तकुमारी थरुनी, बैजनाथ ७ की लुटारी थारू, अर्चना थारू, कोहलपुर १ की पदमकली बम, हिरमिनियाका राधेश्याम थारू, राप्ती सोनारी १ का कर्णबहादुर वली, डुडुवा गाउँपालिकाका दिलिप भुरौ, खजुरा गाउँपालिकाका जैवाद खाँ र बैजनाथ ५ का बालकिसान थारू रहेका छन् ।
यस्तै पूर्वपदाधिकारीहरूलाई पनि सम्मान गरिएको उनले बताइन् । सम्मानित हुनेमा पुर्वअध्यक्ष छविलाल भट्टराई, सदस्यहरू मानबहादुर थारू, जयसिंह बुढामगर, नैनाकुमारी शाही, गणेश सापकोटा र जगतदेवी रावत रहेका छन् । माघ ७, ८ र ९ गते सञ्चालन भएको प्रदर्शनीमा खाद्यान्न, दलहन, तेलहन, मसला, फलफूल, काउली, आलु, फल तरकारी, जरे तरकारी, साग, च्याउ, माछा, मौरी र रैथाने बाली प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा ९६ वटा स्टल रहेका थिए । यस्तै कृषि औजार तथा प्रविधि प्रदर्शनी, स्थानीय कृषि उपजबाट प्रशोधित उत्पादनहरू राखिएका थिए । प्रदर्शनीको अवसरमा विषादी तथा जैविक विविधतासम्बन्धी जनचेतनामूलक कार्यक्रम र लोपोन्मुख स्थानीय सांस्कृतिक कलासमेत प्रदर्शन गरिएको आयोजक कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष उदीराम वलीले बताए ।
‘कृषि मेला तथा प्रदर्शनी तीन दिनसम्म सञ्चालन भएको छ । जिल्लाभरका कृषकहरूको उल्लेख्य सहभागीता रह्यो । उत्कृष्ट कृषकहरू पुरस्कृत समेत भएका छन् । आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।’ उनले भने । प्रदर्शनी अवधिभर बाँके कला केन्द्रका कलाकार तथा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए । समापन सत्रमा जिल्लाभरका कृषक, व्यवसायी र कृषि बजार व्यवस्थापन समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्