श्यामलाल पोखरेल । बुटवल ।
भन्सार ऐन र कार्यविधि परिवर्तन गर्न रुपन्देहीका उद्योगी व्यवसायीले सरकारसँग माग गरेका छन् । भन्सार ऐन र कार्यविधिले दोहोरो अर्थ लगाउँदा उद्योगी व्यवसायी प्रत्यक्ष मारमा परेकाले समयको मागअनुसार परिवर्तन गर्नुपर्ने बताए । ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रुपन्देही व्यापार संघले बिहीबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने सहभागी व्यवसायीले भन्सार कार्यालय व्यवहारिक नभएको गुनासो गरे ।
उनीहरूले भन्सार कार्यालयका कर्मचारीहरूले भन्सार ऐन र कार्यविधिको दोहोरो अर्थ लगाएर दुःख दिने गरेको बताउँदै कर्मचारीहरूको नियत खराब रहेको दोष लगाए । भन्सार कार्यालयले भन्सारमा आएको सामान दिन ढिलाइ गरिदिँदा ठूलो समस्या भोग्नु परेको दुखेसो पोख्दै उनीहरूले भन्सार कार्यालयलाई पारदर्शी र समयसापेक्ष सुधार गर्न आग्रह गरेका छन् ।
भन्सारबिना राज्य नचल्ने र व्यवसायीबिना अर्थतन्त्र नचल्ने भएकाले सहकार्य र संवादको माध्यमबाट अगाडि बढ्नु पर्नेमा जोड दिए । खुला सिमाना बन्द नहुँदा ठूलो समस्या झेल्नु परेकाले खुला सिमाना बन्द गर्नका लागि सम्बन्धित देशसँग कूूटनीतिक पहल गर्न उनीहरूले सुझाब दिएका छन् । रुपन्देही व्यापार संघका पूर्वअध्यक्ष शंकर भट्टराईले भन्सार कार्यालय व्यवहारिक बन्नुपर्ने भन्दै छिटोछरितो काम गर्न सुझाब दिए।
व्यवसायी र भन्सार कार्यालयवबीच सहकार्य र संवाद हुनुपर्ने बताउँदै उनले भन्सार शुल्क लिएर सामान दिन ढिलाइ गर्ने कामको अन्त्य गर्न आग्रह गरेका छन् । बेलहिया भन्सार कार्यालय भैरहवाका प्रमुख हरिहर पौडेलले भन्सार कार्यालयले उद्योगी व्यवसायीको पक्षमा काम गरेको दाबी गर्दै भन्सार कार्यालयका कारण कुनै पनि व्यवसायीलाई समस्या परेमा जानकारी गराउन आग्रह गरे ।
भन्सार कार्यालयका कामकारबाहीबारे जानकारी गराउँदै उनले प्रहरी प्रशासन, बैंक र अन्य विभागले समस्या पार्दा उद्योगी व्यवसायीले भन्सार कार्यालयलाई दोष दिन नहुने बताए । भन्सार कार्यालयले एलसीमा व्यवसायीको सुरक्षा चाहेको उल्लेख गर्दै कार्यालय प्रमुख पौडेलले भन्सार कार्यालयले कुनै पनि समान नरोक्ने उल्लेख गरे ।
रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले उद्योगी व्यवसायीका समस्या बुझेर सहज रूपमा मालसमान भन्सार गरिदिनका लागि भन्सार कार्यालयलाई आग्रह गरेका छन् । ढकालले व्यवसायीले भन्सार शुल्क तिरेपछि सामान समयमै उपलब्ध गराइदिन माग गरे । व्यवसायी शालिकराम घिमिरे, शंकर ज्ञवाली, पे्रम पाण्डे, तेजेन्द्र सापकोटा लगायतले प्रतिकिलो १ सय ३० रूपैयाँको सामानको भन्सार शुल्क १ सय ५० सम्म तिर्दा पनि समयमा सामान नपाउने गरिएको गुनासो गरे ।
उनीहरूले भन्सारका कर्मचारीहरूले दुःख दिने गरेको गुनासो गर्दै एउटै कर्मचारीले एउटै सामानलाई चारवटा आँखाले हेर्दा समस्या भोग्नु परेको दुखेसो पोखे । भारतबाट चार सयमा ल्याएको सामान नेपाल ल्याएर ३ सयको बील काट्नु परेको गुनासो सुनाउँदै उनीहरूले त्यही सामान पनि भन्सारमा हराउने गरेको उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्