बाजुरा ।
बाजुराका ८ जना उम्मेदवारहरूले जिल्लामा शान्तिपूर्ण निर्वाचन र स्वतन्त्र मतदान गर्न पाउने वातावरण बनाउन सामूहिक प्रतिबद्धता गरेका छन् । बिहीबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी एक स्वतन्त्र र ७ दलका उम्मेदवारहरूले सामूहिक प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाजुराका राजनीतिक दल र उम्मेदवारहरूले सार्वजनिक रूपमा संयुक्त प्रतिबद्धता जनाउनु जिल्लाको चुनावी इतिहासमा सकारात्मक संकेतका रूपमा देखिएको छ । यसअघिका निर्वाचनमा प्रायः प्रतिस्पर्धा तीव्र हुने निर्वाचनमा आपसी द्वन्द्व, आरोप–प्रत्यारोप र सामाजिक तनाव देखिँदै आएको सन्दर्भमा यो प्रतिबद्धता राजनीतिक परिपक्वताको उदाहरण मान्न सकिन्छ ।
संयुक्त प्रतिबद्धता पत्रमार्फत दलहरू र उम्मेदवारहरूले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने स्पष्ट अडान व्यक्त गरेका छन् । प्रचार–प्रसारलाई शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने तथा उम्मेदवारको व्यक्तिगत जीवनमाथि टीकाटिप्पणी नगर्ने भनाइले विगतका चुनावी विकृतिप्रति आत्मसमीक्षा गरेको संकेत दिन्छ ।
यस्तै उम्मेदवारहरूको सामूहिक प्रतिबद्धतामा जिल्लामा सामाजिक शान्ति तथा अमन चयन, समानता, राजनीतिक सद्भाव र सुशासनका लागि उम्मेदवारी रहेको भन्दै यसको कार्यान्वयनमा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी निर्वाचनमा मतदान प्रक्रिया स्वतन्त्र र शान्तिपूर्ण बनाउन, प्रचार कार्य सौहार्दपूर्ण र मर्यादित बनाउने, एक–अर्को राजनीतिक दल र उम्मेदवारको सम्मान गर्ने, उम्मेदवारको व्यक्तिगत जीवनका विषयमा टिकाटिप्पणी गर्ने गराउने कार्य नगर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै निर्वाचनको प्रचार र मतदान प्रक्रियामा कसैबाट कुनै प्रकारको धाँधली, घुसपैठ जस्ता कार्य तथा व्यवहार भएमा संयुक्त अस्वीकार गर्ने, निर्वाचनमा उत्पन्न हुने विवाद आपसी संवादबाट व्यवस्थापन गर्ने, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, उम्मेदवारीको विषय बनाई व्यक्ति, समूह तथा समुदायविच द्वन्द्व उत्पन्न हुने कार्य नगर्न नगराउन आम जनसमुदाय र मतदातामा अनुरोध सहितको प्रतिबद्धता जनाएका छन् ।
एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र भएको बाजुरामा नेपाली काँग्रेसबाट जनक गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर शाही, नेकपा माओवादीबाट भुपेन्द्र विक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् ।
आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण
बाजुराको हिमाली गाउँपालिकाले निर्वाचन आचारसंहिता उल्लङ्घन गरी चुनावी प्रचारमा गएको आरोपमा तीन जनासँग कर्मचारीलाई स्पष्टिकरण सोधेको छ । हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले गाउँपालिका कर्मचारी जनक मलाल, स्वास्थ्य इकाइ प्रमुख दीपक भण्डारी र इन्जिनियर राज मलाललाई स्पष्टीकरण सोधेका हुन् ।
निर्वाचन आयोगको निर्णयअनुसार २०८२ साल माघ ५ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ । ती कर्मचारीले सञ्जालमार्फत निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरिएको देखिएकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको गाउँपालिकाले जनाएको छ । उनीहरूलाई दुई दिनभित्र गाउँपालिकामा उपस्थित भई स्पष्टीकरण पेश गर्न पत्र पठाइएको छ ।
तोकिएको समयभित्र स्पष्टीकरण पेश नगरे निर्वाचन आचारसंहिता उल्लङ्घन तथा निजामती सेवासम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने पत्रमा चेतावनी दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन स्थानीय तह प्रतिबद्ध रहेको बताएका छन् । निर्वाचन आचारसंहिताविपरीत कार्य गर्ने कर्मचारीलाई स्पष्टीकरण सोध्ने बाजुराको पहिलो गाउँपालिका हो ।









प्रतिक्रिया दिनुहोस्