होली ल्यान्डका विद्यार्थीले जिते अन्तर्राष्ट्रिय तेक्वान्दोमा चार स्वर्ण



नेपालगन्ज ।

नेपालगन्जस्थित होली ल्यान्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूले देहरादुनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । भारतको देहरादुनमा सम्पन्न ८औँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा होली ल्यान्डका तीनजना खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

होली ल्यान्ड तेक्वान्दो डोजाङका तीनजना विद्यार्थी खेलाडीले विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा गर्दै चार स्वर्ण र एक रजत पदक हात पारेका हुन् । प्रतियोगितामा कक्षा ९ का पर्वत रेग्मी, कक्षा ७ का निष्पक्ष थापा र कक्षा ५ का रितु घर्तिमगरले सहभागिता जनाएका थिए ।उनीहरूमध्य रेग्मीले अन्डर–१७ पूम्सेतर्फ प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक पाए भने थापाले ११ वर्षमुनि, घर्तिमगरले २३ केजी समूहमा स्वर्ण पदक जिते ।

यसैगरी थापा र घर्तिमगरको जोडीले अन्डर–१७ पूम्सेतर्फ स्वर्ण पदक पाएका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विद्यालयले बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको छ भने उनीहरूलाई विद्यालयले पूर्ण छात्रवृत्ति दिने घोषणा पनि गरेको छ ।

विद्यालयले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपालगन्जका बाल खेलाडीहरूले देखाएको यो उपलब्धिलाई खेलकुद क्षेत्रका प्रशिक्षक, अभिभावक तथा नगरकै गर्वको विषय भएको बताएको छ । विद्यार्थीहरूले आफूहरूलाई विद्यालयले सिकाएको अनुशासन, मेहनत र निरन्तर अभ्यासका कारण सानो उमेरमै अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सम्भव भएको बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार