डडेल्धुरा ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ मा एक मोटेरेबल पुल निर्माण कार्य १२ वर्षदेखि अलपत्र परेको छ । नवदुर्गा र गन्यापधुरा गाउँपालिका जोड्ने सकायल खोलामा पुल निर्माण गर्न ठेक्का लगाएको १२ वर्षमा पनि नबनेको हो । सडक डिभिजन कार्यालय कुलपाते डोटीले १२ वर्ष पहिले चाँदनी कन्स्ट्रक्सन प्रालिलाई निर्माणको लागि ठेक्का दिएको थियो । ठेकदारले पुलको स्ल्याबसम्म मात्रै काम गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बुधबार सडक डिभिजन कार्यालय डोटीका प्रमुख र निर्माण कम्पनीका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर छलफल गरिएको बताए । उनले मंगलबार मतदानस्थलको निरीक्षणमा पुगेको बेला सो पुल देखेपछि आफूले निर्माण सम्पन्न गर्न पहल थालेको उल्लेख गरे ।
स्थानीय नागरिकको खबरदारी तथा मिडियामा आएका समाचारले गत वर्ष समेत प्रमुख जिल्ला अधिकारीले छिटो निमार्ण सम्पन्न गर्ने निर्देशन दिएका थिए । तर अहिलेसम्म निर्माण हुन नसकेको उनले बताए । उक्त पुल २०८० मा निर्माण अन्तिम चरणमा पुगेको बेला सकायल खोलामा आएको बाढीले बगाएको थियो ।









प्रतिक्रिया दिनुहोस्