नेपालगन्ज ।
नेपालगन्जमा महिला उद्यमीका उत्पादनको प्रदर्शनीको दशौँ संस्करण माघको १४ गतेदेखि हुने भएको छ । महिला उद्यमी संघ बाँकेले आयोजना गर्दै आएको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचारप्रसार र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ ।
प्रदर्शनीको तयारी तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिँदै आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहले विगतमाजस्तै दशौँ संस्करणलाई भव्य बनाउन सम्पूर्ण महानुभावहरूको सहयोगको अपेक्षा गरिएको बताइन् । बागेश्वरी मन्दिर परिसरको पार्कमा हुने प्रदर्शनीका लागि नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगड ग्रुपको मुख्य प्रायोजन गरेको पनि उनले जानकारी दिइन्।
प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लासँगै कर्णाली र सुदूरपश्चिमका गरी करिब २ सय महिला उद्यमीहरूको सहभागिता रहने प्रदर्शनी संयोजक आभा गौतमले जानकारी दिएकी छन् । प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरू, फ्लोरी कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका सामग्री तथा वस्तुहरू बिक्री वितरण र प्रचारप्रसारका करिब ७० स्टल रहने जानकारी पनि दिइएको छ ।
करिब ६ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको प्रदर्शनीमा निःशुल्क अवलोकनको व्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ । प्रदर्शनीका दौरान विज्ञहरूको उपस्थितिमा महिला उद्यमीहरूको क्षमता अभिवृद्धिको लागि बैंकिङ कारोबार, उद्यमशिलताको बारेमा अभिमुखीकरण कार्यक्रम पनि आयोजना गरिने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्