कञ्चनपुर ।
सुदूरपश्चिमको राजनीतिमा सधैँ चर्चाको केन्द्रमा रहने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा आसन्न निर्वाचनका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । मुख्य दलका ‘हेभीवेट’ नेतादेखि स्वतन्त्र उम्मेदवारहरूको बाक्लो उपस्थितिले यस क्षेत्रको चुनावी समीकरणलाई पेचिलो र रोचक मोडमा पु¥याएको छ ।
कञ्चनपुर क्षेत्र न १ निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार उत्साहजनक रूपमा सम्पन्न मनोनयन दर्ता प्रक्रियामा नेकपा (एमाले)बाट पुनर्वास नगरपालिका–३ निवासी ५२ वर्षीय निर्वतमान सांसद तारा लामा तामाङले उम्मेदवारी दर्ता गराएका छन् । तामाङको उम्मेदवारीले यस क्षेत्रमा एमालेको दाबेदारीलाई बलियो बनाएको विश्लेषण गरिएको छ ।
त्यस्तै, राष्ट्रिय राजनीतिमा स्थापित अनुहार एवं पूर्वमन्त्री ४२ वर्षीया बीना मगरले नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएकी छिन् । विगतका निर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका तामाङ र मगरको पुनः आगमनले यस क्षेत्रको चुनावी माहोल तताएको छ । नेपाली काँग्रेसले बेलौरी नगरपालिका–१० का ४६ वर्षीय विद्यार्थी नेता गोपीप्रसाद उपाध्यायलाई मैदानमा उतारेको छ भने उदाउँदो राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट बेलडाँडी–४ का ५५ वर्षीय जनकसिंह धामीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट बेलौरी–२ का ४३ वर्षीय पुरन राना थारू र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बेलौरी–१ का ६४ वर्षीय दिल्लीबहादुर शाहीको उम्मेदवारी परेको छ । यसपटकको निर्वाचनमा साना दल र स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति पनि बाक्लो देखिएको छ । नेपाल मजदुर किसान पार्टीबाट कटकबहादुर शाही, मंगोल नेशनल अर्गनाइजेसनबाट हुमबहादुर गुरुङ्ग, नागरिक उन्मुक्ति पार्टी नेपालबाट कैलालीका कृष्णबहादुर चौधरी र आम जनता पार्टीबाट सिता विकले मनोनयन दर्ता गराएका छन् ।
साथै, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, संयुक्त नागरिक पार्टी र मितेरी पार्टी नेपालजस्ता दलहरूले पनि आ–आफ्ना उम्मेदवार खडा गरेका छन् । लैंगिक समावेशिताको दृष्टिकोणले १९ जनाको सूचीमा ४ जना महिला उम्मेदवार रहेका छन् । बीना मगर र सिता विकबाहेक स्वतन्त्र रूपमा बेलौरी–१ की रुपादेवी बिष्ट र बेलौरी–६ की मन्जुदेवी सुनारले उम्मेदवारी दिएका छन् ।
उमेर समूहका हिसाबले सबैभन्दा कान्छा उम्मेदवारहरू २७ वर्षीय यादव सिंह, अनिल राना, दानियल विक र सियाराम राना रहेका छन् भने ज्येष्ठ उम्मेदवार ६५ वर्षीय कटकबहादुर शाही रहेका छन् । भौगोलिक रूपमा कञ्चनपुरको दक्षिणी भेगका रूपमा परिचित यस क्षेत्रमा विकास निर्माण, सीमा समस्या र कृषि क्षेत्रका मुद्दाहरू पेचिलो बन्दै गएका छन् ।
१९ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएसँगै अबको प्रतिस्पर्धा विकास र समृद्धिको एजेन्डामा केन्द्रित हुने अपेक्षा गरिएको छ । निर्वाचन आयोगले उम्मेदवारी उपर दाबी विरोध र जाँचबुझको समय तोकेसँगै उम्मेदवारहरू अब मतदाताको घरदैलोमा केन्द्रित हुनेछन् । यस्तै नेपाली काँग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकलाई उम्मेदवार नबनाएको भन्दै कञ्चनपुर–३ का काँग्रेस कार्यकर्ता विरोधमा उत्रिएका छन् ।
कञ्चनपुर–३ का नेता कार्यकर्ताले मंगलबार दिउँसो सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माविरूद्ध नाराबाजी र पुत्ला दहन गरेका हुन् । यो क्षेत्रबाट २०५६, २०७० र २०७९ सालमा निर्वाचित लेखक अहिले पनि टिकटका आकांक्षी थिए । काँग्रेस संसदीय बोर्डले कञ्चनपुर–३ मा पूर्वजिल्ला सभापति हरि बोहरालाई उम्मेदवार बनाएको छ ।









प्रतिक्रिया दिनुहोस्