कैलाली–५ बाट रास्वपाका उम्मेदवार चन्द राजनीतिमा प्रवेश



शेरबहादुर ऐर । कैलाली ।

नेपालको राजनीतिमा पछिल्ला वर्षहरूमा नयाँ अनुहार, नयाँ सोच र वैकल्पिक नेतृत्वको खोजी तीव्र बनेको छ । यही परिवेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली–५ बाट शिक्षाविद् तथा वैज्ञानिक आनन्दबहादुर चन्दलाई उम्मेदवारका रूपमा अघि सारेको छ । दशकौँसम्म शिक्षा, विज्ञान, जनस्वास्थ्य र सुशासनको क्षेत्रमा सक्रिय चन्दको यो उम्मेदवारीलाई सुदूरपश्चिमको राजनीतिमा अर्थपूर्ण परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपप्राध्यापक चन्द काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहका निकट सहयोगीका रूपमा पनि चिनिन्छन् । बालेन शाहको कार्यकालमा शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रम निर्माणमा उनले दिएको योगदानले उनलाई ‘नीतिनिर्माता’ र ‘प्राविधिक सल्लाहकार’को छविमा स्थापित गराएको थियो । अब भने चन्दले त्यो अनुभवलाई प्रत्यक्ष राजनीतिक नेतृत्वमार्फत कार्यान्वयन गर्ने उद्देश्यसहित चुनावी राजनीतिमा पाइला चालेका छन् ।

रास्वपाबाट उम्मेदवारी पाएको औपचारिक जानकारीपछि चन्दले आफू काठमाडौँकेन्द्रित राजनीतिभन्दा बाहिर निस्केर कैलालीको विकास र सुशासनलाई मूर्तरूप दिन मैदानमा उत्रिएको बताएका छन् । ‘मैले अध्ययन, अनुसन्धान र नीतिगत तहमा धेरै काम गरेँ । अब ती कुरा कागजमा होइन, जनताको जीवनमा देखिनुपर्छ,’ उनले भने । उनका अनुसार कैलाली–५ को समृद्धिका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण र सुशासन उनका प्राथमिक एजेन्डा हुन् ।

ती एजेन्डा केही दिनभित्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारीमा उनी छन् । चन्दको उम्मेदवारीलाई रास्वपाले ‘विचार, क्षमता र इमानदारीको प्रतिनिधित्व’का रूपमा व्याख्या गरेको छ । आनन्द चन्दको जन्म बैतडीमा भएको हो । पछि उनको परिवार कैलाली झरेको थियो । हाल उनको स्थायी घर धनगढी उपमहानगरपालिका–८ मा रहेको छ । सुदूरपश्चिमको दुर्गम भौगोलिक अवस्था, विकासको अभाव, रोजगारीका लागि हुने बाध्यतामूलक बसाइँसराइ र राज्यबाट उपेक्षित अनुभूति चन्दले नजिकबाट देखेका र भोगेका विषय हुन् ।

‘सुदूरपश्चिमको पीडा मैले किताबमा होइन, जीवनमै पढेको हुँ,’ चन्द भन्छन्, ‘त्यसैले यहाँको समस्या र सम्भावनालाई बुझ्न मलाई अतिरिक्त व्याख्या आवश्यक पर्दैन ।’ यही कारण उनले सुदूरपश्चिमको विकासलाई राष्ट्रिय एजेन्डासँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन् ।
चन्दको व्यावसायिक जीवनको ठूलो हिस्सा शिक्षाक्षेत्रसँग जोडिएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा उनले १७ वर्षभन्दा बढी समय उपप्राध्यापकका रूपमा सेवा गरे । विद्यार्थीहरूमाझ उनी सरल, अनुसन्धानप्रेमी र व्यवहारिक शिक्षकका रूपमा परिचित थिए । जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका चन्दले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी सम्पन्न गरेका हुन् । उनका अनुसन्धान कार्यहरू अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।

विज्ञान र अनुसन्धानमा नेपालको उपस्थिति बलियो बनाउने पक्षमा उनी सधैँ आवाज उठाउँदै आएका छन् । आनन्द चन्दको अर्को महत्वपूर्ण परिचय भनेको जनस्वास्थ्य अभियन्ता हो । विशेषगरी सुर्तिजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानमा उनी नेपालका अग्रणी व्यक्तित्वमध्ये पर्छन् । सुर्तीजन्य पदार्थका कारण हुने क्यान्सर, मुटुरोग र अन्य गम्भीर स्वास्थ्य समस्याबारे उनले दशकौँदेखि निरन्तर अभियान चलाउँदै आएका छन् ।

सुर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, धूम्रपान निषेध कानुन, सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध र विज्ञापन नियन्त्रणजस्ता नीतिगत व्यवस्थामा चन्दको भूमिका उल्लेखनीय छ । उनी नीतिनिर्माणमा सरकारलाई सघाउने मात्र होइन, आवश्यक परे दबाब सिर्जना गर्ने अभियन्ताका रूपमा पनि चिनिन्छन् ।चन्दले आफ्नो अभियान र अनुसन्धानलाई नेपालभित्र मात्र सीमित राखेनन् । आयरल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, बेलायत, मेक्सिको, इन्डोनेसिया लगायतका देशमा आयोजित ठूला अन्तर्राष्ट्रिय सम्मेलनहरूमा उनले नेपालको प्रतिनिधित्व गरेका छन् ।

ती सम्मेलनहरूमा उनले नेपालमा सुर्तिजन्य पदार्थ नियन्त्रण, जनस्वास्थ्य नीति र विकासशील देशका चुनौतीहरूबारे धारणा राखेका थिए ।उनका अनुसार अन्तर्राष्ट्रिय अनुभवले नेपालका समस्या विश्वव्यापी सन्दर्भमा बुझ्न र समाधान खोज्न सहयोग पु¥याएको छ । ‘हामी धेरै समस्या भोगिरहेका छौँ, तर समाधान असम्भव छैन । राजनीतिक इच्छाशक्ति र इमानदारी भए पुग्छ,’ उनी भन्छन् ।

शैक्षिक र अभियन्ता जीवनसँगै चन्दले सार्वजनिक संस्थाको नेतृत्व पनि गरेका छन् । नेपाल खाद्य संस्थानको अध्यक्षका रूपमा उनले संस्थागत सुधार, पारदर्शिता र व्यवस्थापन सुधारका प्रयासहरू थाले । दीर्घकालीन समस्याले ग्रस्त उक्त संस्थामा सुधार सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्ने प्रयास उनको थियो । त्यसैगरी उनी वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम विकास बोर्डका कार्यकारी निर्देशक पनि रहिसकेका छन् ।

विज्ञान र प्रविधिको लोकप्रियकरण, बालबालिका तथा युवालाई विज्ञानतर्फ आकर्षित गर्ने उद्देश्यसहित उनले विभिन्न कार्यक्रमहरू अघि बढाएका थिए । आनन्द चन्दका अनुसार उनले राजनीति रोज्नु कुनै आकस्मिक निर्णय होइन । ‘म सधैँ नीति निर्माणसँग जोडिएँ, तर अन्तिम निर्णय गर्ने ठाउँमा नपुग्दा धेरै राम्रा काम अधुरै रहन्थे,’ उनी भन्छन्, ‘अब जिम्मेवारी लिन चाहन्छु ।’

उनको विश्वास छ–राजनीतिमा सही सोच, ज्ञान र इमानदारी भएका मानिस नआएसम्म प्रणाली सुध्रँदैन । यही कारण उनले रास्वपामार्फत वैकल्पिक राजनीतिमा आफूलाई समर्पित गरेको बताएका छन् । कैलाली–५ परम्परागत रूपमा प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्र मानिन्छ । यहाँ विकासको अपेक्षा उच्च छ, तर परिणामप्रति निराशा पनि उत्तिकै छ । चन्दको उम्मेदवारीले शिक्षित, युवा र वैकल्पिक सोच राख्ने मतदातालाई आकर्षित गर्ने विश्लेषण हुन थालेको छ ।

स्थानीयस्तरमा पनि चन्दलाई ‘बोल्ने मात्र होइन, काम गरेर देखाउने क्षमता भएको व्यक्ति’का रूपमा हेर्नेहरू बढ्दै छन् । यद्यपि चुनावी राजनीति आफैँमा चुनौतीपूर्ण क्षेत्र हो, जहाँ लोकप्रियता, संगठन र रणनीतिले ठूलो भूमिका खेल्छ । शिक्षा, विज्ञान, जनस्वास्थ्य र सुशासनमा दशकौँको अनुभव बोकेका आनन्द चन्द अब त्यो अनुभवलाई प्रत्यक्ष राजनीतिक नेतृत्वमार्फत व्यवहारमा उतार्ने दाबीका साथ जनताको बीचमा पुगेका छन् ।

उनी आफूलाई ‘नारा होइन, समाधान लिएर आएको उम्मेदवार’का रूपमा प्रस्तुत गर्न चाहन्छन् । कैलाली–५ का मतदाताले यो दाबीलाई कत्तिको स्वीकार गर्छन्, त्यो त निर्वाचन परिणामले नै देखाउनेछ । तर यति निश्चित छ–आनन्द चन्दको उम्मेदवारीले सुदूरपश्चिमको राजनीतिक बहसलाई शिक्षा, स्वास्थ्य र नीतिगत मुद्दातर्फ मोड्ने प्रयास भने अवश्य गरेको छ ।

१२ निर्वाचन क्षेत्रमा रास्वापाका उम्मेदवार टुंगिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १२ वटामा आफ्ना उम्मेदवार टुंग्याएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले उम्मेदवार चयन प्रक्रिया तीव्र बनाएको हो । सुदूरपश्चिममा संगठन विस्तार र वैकल्पिक राजनीतिको सन्देश प्रवाह गर्ने रणनीतिअन्तर्गत रास्वपाले विभिन्न जिल्लामा अनुभवी, युवामैत्री र जनआधारित व्यक्तिहरूलाई उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ ।

पार्टीका अनुसार डडेल्धुरा जिल्लाबाट डाक्टर तारा जोशीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय भएको छ । डाक्टर जोशी २०७९ सालको प्रदेशसभा निर्वाचनमा डडेल्धुरा १(१)बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए । टिकट टुंगिएको पुष्टि गर्दै उनले काठमाडौँबाट गृहजिल्ला फर्किरहेको जानकारी दिएका छन् । डडेल्धुरामा यसअघि सागर ढकालको पनि चुनाव लड्ने चर्चा चलेको थियो । तर जिल्लामा आफ्नो राजनीतिक माहोल अनुकूल नदेखिएपछि ढकाल उम्मेदवारी प्रक्रियाबाट पछि हटेको बताइएको छ ।

यस्तै, बाजुरा जिल्लाबाट हेमराज थापा, बैतडीबाट हरिमोहन भण्डारी र बझाङ जिल्लाबाट शैलेश सिंह उम्मेदवार बन्ने भएका छन् । दुर्गम पहाडी जिल्लामा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका मुद्दालाई प्रमुख एजेन्डा बनाउँदै रास्वपाले यी जिल्लामा संगठन सुदृढीकरण गर्ने लक्ष्य लिएको छ । कञ्चनपुर जिल्लामा रास्वपाले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।

कञ्चनपुर–१ बाट जनकसिंह धामी, क्षेत्र नं. २ बाट दीपक बोहरा र क्षेत्र नं. ३ बाट ज्ञानेन्द्र महतारा उम्मेदवार बन्ने भएका छन् । कैलाली जिल्लामा पनि रास्वपाले पाँचवटा निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ । कैलाली–१ बाट कोमल ज्ञवाली, क्षेत्र नम्बर २ बाट केपी खनाल, क्षेत्र नं. ३ बाट लक्ष्मण थारू, क्षेत्र नं. ४ बाट हरि रेग्मी र क्षेत्र नं. ५ बाट आनन्द चन्द उम्मेदवार बन्ने भएका छन् ।

रास्वपाले परम्परागत दलहरूबाट निराश भएका मतदातालाई आकर्षित गर्ने उद्देश्यले सुशासन, पारदर्शिता, भ्रष्टाचारविरुद्धको कडा नीति र सेवा प्रवाह सुधारलाई मुख्य चुनावी मुद्दा बनाएको छ । बाँकी रहेका ६ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा रहेको र चाँडै सार्वजनिक गरिने पार्टीले जनाएको छ ।

कैलाली रास्वपामा असन्तुष्टि ः १ र ५ नम्बर क्षेत्रमा उम्मेदवार फेर्न सिफारिस

कैलालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा वितरण गरिएको टिकटप्रति असन्तुष्टि देखिएको छ । साबिक नागरिक उन्मुक्ति पार्टी (नाउपा)का पूर्वनेता तथा थारूवान–थारूहट अभियन्तासँगको एकतापछि कैलालीका पाँच निर्वाचन क्षेत्रमा दुई ठाउँमा नाउपा र थारूवान–थारूहट अभियन्तालाई टिकट बाँडिएको थियो ।

यसअनुसार, कैलाली–१ मा कोमल ज्ञावली र कैलाली–३ मा लक्ष्मण थारूलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, कैलाली–२ मा केपी खनाल, कैलाली–४ मा हरि रेग्मी र कैलाली–५ मा आनन्द चन्दलाई उम्मेदवार बनाइएको छ । तर रास्वपा प्रदेश सभापति प्रकाश बिष्ट कैलाली–१ का आकांक्षी थिए । नगर समितिबाट एकल सिफारिस गर्दा समेत उनले टिकट नपाएपछि नेता तथा कार्यकर्ता असन्तुष्ट भएका छन् । टिकापुर नगर समिति, जानकी र जोशीपुर गाउँ समिति तथा क्षेत्रीय समितिले पुनः केन्द्रलाई प्रदेश सभापतिको एकल नाम सिफारिस गरेका छन् ।

कैलाली–५ मा पनि केन्द्रले आनन्द चन्दलाई टिकट दिएको छ । तर नगर समितिले भीमबहादुर बोहरालाई एकल सिफारिस गरेको छ । जिल्ला सभापतिसहितको बैठकले पनि बोहरालाई सिफारिस गरेको हो । टिकापुर नगर सभापति रविन्द्र बिष्टले उम्मेदवार परिवर्तन नभए कैलालीका कुनै पनि क्षेत्र जित्न नसकिने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्णय नसच्चिए कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपा हार्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार