सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रमा नेकपाका उम्मेदवार टुंगिए



धनगढी ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिम प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । कैलालीका निर्वाचन क्षेत्र नम्बर २ र ५ बाहेक अन्य सबै क्षेत्रमा उम्मेदवारको टुंगो लागेको नेकपाका नेता जनक बुढाले जानकारी दिए ।

उनका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा रामलाल डगौरा थारू, ३ मा वीरमान चौधरी र ४ मा हरि चौधरी उत्सवले टिकट पाएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा बिना मगर, २ मा लालबहादुर खड्का र ३ मा मानबहादुर सुनार उम्मेदवार बन्ने निश्चित भएको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा भीम रावल र २ मा शरदसिंह भण्डारीको नाम टुंगिएको छ ।

यसैगरी, बाजुरामा प्रकाशबहादुर शाह, डोटीमा त्रिलोचन भट्ट, डडेल्धुरामा मानसिंह माल, दार्चुलामा लक्ष्मणदत्त जोशी, बैतडीमा परमानन्द भट्ट र बझाङमा मीनबहादुर कुँवर विश्वासले टिकट प्राप्त गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गरिएको हो । कैलालीका बाँकी निर्वाचन क्षेत्र नम्बर २ र ५ मा पनि छिट्टै उम्मेदवारको टुंगो लाग्ने नेता बुढाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार