शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
६ वैशाख २०८२ को अंकमा मिसन टुडे राष्ट्रिय दैनिकको मुख्यपृष्ठमा समाचार छापियो । समाचारको शीर्षक थियो, ‘मोहन कहिले बन्छन् नेपाली नागरिक ।’ त्यो समाचार नागरिकता प्राप्तिका लागि पाँचवर्षदेखि राज्यका निकाय धाइरहेका नेपालगन्ज–८ (हाल कोहलपुर–११) का मोहन गोडियाको थियो । उनी पाँच वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय धाए । नागरिकताका प्राप्तिकै लागि अदालतमा मुद्दा लडे । गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय कहाँ कहाँ पुगेनन् उनी ।
स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, युवा अधिकारकर्मी र मिडियासमेत गुहारे । अन्नतः उनको नागरिकता प्राप्तिको लडाइँमा पूर्णविराम लागेको छ । २४ वर्षीय मोहन गोडियाले नागरिकता प्राप्त गरेका छन् । २०८२ पुस २३ गते उनले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । उनलाई जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकताको प्रमाणपत्र हस्तान्त्रण गरे ।
उनले नागरिकता नपाउनुमा नागरिकता सम्बन्धी कानुन बाधक थियो नै उनले राज्यका जिम्मेवार निकायबाट नागरिकता प्राप्त गर्न निकै संघर्ष गर्नुप¥यो । नागरिकता पाउने आशामा एकपछि अर्को राज्यका निकाय धाउँदा धाउँदा ठ्याक्कै पाँच वर्ष लाग्यो । नागरिकता प्राप्तिका लागि उनले संघर्ष गर्नुप¥यो । उनको पाँच वर्षदेखिको पीडा, निरासा र अथक प्रयासमा सहयोगी बनिदियो, नेपाल नागरिकता ऐनको दोस्रो संशोधन नियमावलीको चौथो संशोधन ।
भर्खरै जारी भएको नयाँ संशोधनले जन्मसिद्ध नागरिकता भएका व्यक्तिका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था गरेको छ । नेपाली वंशकी महिलाबाट जन्मिएका बाबुको पहिचान नखुलेका कारण नागरिकता नपाएका नागरिकका लागि यो संशोधन आशाको किरण बन्यो । यही कानुनले मोहनलाई नागरिकता दिलायो । अन्नतः मोहन नेपाली नागरिक बनेका छन् ।
मोहनले पहिलोपटक विसं २०७८ सालमा नागरिकताको सिफारिसका लागि पहिलोपटक वडा कार्यालयमा निवेदन दिएका थिए । उनले ‘आमा बुवाले वंशजको आधारमा नागरिकता प्राप्त गरिसकेको अवस्थामा बुवा लामो समयदेखि सम्पर्कविहीन भएकोले आमाको नामबाट नागरिकता पाउँ’ भन्ने नागरिकता फारम र निवेदनसहित वडा कार्यालयमा निवेदन दिए लगत्तै जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरी पठायो ।
तर, जन्मदर्ता र वडा कार्यालयको सिफारिसहित जिल्ला प्रशासन कार्यालय बाँकेमा जाँदा गोडिया दाजुभाईलाई कार्यालयले ‘आमाको नामबाट नागरिकता दिन मिल्दैन । बुवा आमा लिई आउनु भनी फर्काइदियो ।’ तर उनका बुवा लामो सम्पर्कविहीन भएको लामो समय भइसकेको छ । अझै परिवारको सम्पर्कमा छैनन् । आवश्यक कागजातसहित वडाको सिफारिस लिएर प्रशासनमा पुगेका मोहन नागरिकता बिनै फकाईएपछि उच्च अदालत तुलसीपुर नेपालगन्ज इजालासमा विसं २०७८ चैत १३ गते जिल्ला प्रशासन कार्यालय बाँकेलाई विपक्षी बनाएर मुद्दा दायर गरे ।
त्यसको भोलिपल्ट विसं २०७८ चैत १४ गते नेपालगन्ज इजालासले जिल्ला प्रशासन कार्यालय बाँकेको नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भनी आदेश दियो । तर, जिल्ला प्रशासन कार्यालय बाँकेले विभिन्न कानुनी प्रक्रिया नमिलेको भन्दै उनलाई नागरिकता प्रदान गर्न अस्वीकार गर्दै आएको थियो । नेपाल नागरिकता ऐनको दोस्रो संशोधन नियमावलीको चौथो संशोधन जारी भएपछि उनले वंशजको आधारमा नागरिकता प्राप्त गरे ।
नागरिकता प्राप्त गर्दाको खुसी
मोहनले जब प्रजिअको हातबाट नागरिकता प्राप्त परे । त्यसपछि उनको खुसीको कुनै सीमा नै रहेन । उनी आजसम्म यति खुसी कहिल्यै भएका छैनन् । किनभने जुन प्रमाण पाउन उनले जति संघर्ष गरे । त्यसको कुनै हिसाबकिताब छैन । एक बिन्दुमा आएर उनले माया मारिसकेका थिए । एक मनले सोचे त्यसैका लागि यति दुःख गरेको छु । बीचमै छोडे भने त कहिल्यै त्यो प्राप्त गर्न सक्दिन । अनि प्रयास गर्न छाडेनन् । त्यही अथक प्रयासको परिणाम हो, नागरिकता ।
पहिलो पटक नागरिक प्राप्त गर्दा उनले आफ्ना विगतका संघर्षका दिन सम्झिए । सहयोग गर्नेहरू उनको मानसपटलमा झल्झली आए । हर्षका आँशु खसाले उनले । उनी भन्छन्, ‘ढिलो चाडोे नागरिकता पाउँछु भन्ने लागेको थियो । तर यति छिट्टै पाउँछु भन्ने लागेको थिएन ।’ नागरिकता नहुँदा आफूले धेरै राम्रा अवसर गुमाउनु परेको पीडा सम्झिए ।
उनले नागरिकता प्राप्त गर्दा आमा माया गोडियासमेत सँगै थिइन् । आमाको संक्षिप्त प्रतिक्रिया थियो, अहिलेसम्मका प्रयास सफल भए । उनले नागरिकता पाउन नसक्दा मोहनलाई भन्दा बढी पीर आमालाई थियो । नागरिकता प्रदान गर्दै प्रजिअ तामाङलेसमेत ढाडस दिदैँ भने, ‘नागरिकता पायौ अब आफ्नो काम गर । मेरो तर्फबाट हुने सबै कुरा म गर्छु ।’
मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने,‘ मैले नागरिकता पाउनुमा धेरैको हात छ । सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । जसले मेरा लागि धेरै दुःख गर्नु भएको छ ।’ नागरिकता बनाए लगत्तै उनले राष्ट्रिय परिपत्रसमेत बनाएका छन् । खेलाडीसमेत रहेका उनको अबको योजना भने सरकारी सेवामा प्रवेश गर्ने रहेको छ । यस्तै आफ्ना भाईको नागरिकताका लागिसमेत प्रयास गर्ने उनको योजना छ ।
एथ्लेटिक्स खेलाडीसमेत रहेका मोहनका भाई अतुल गोडियासमेत हालसम्म नागरिकता विहीन छन् । मोहनले नागरिकता प्राप्तिको लडाइँ लड्दालड्दा नियमित खेल खेल्न छोडिसकेका थिए । विस्तारै आफ्नो पुरानै कर्ममा फर्किने योजनामा उनी छन् ।
जसले नागरिकताका कानुनी लडाइँसमेत लडे
उनी नागरिकताकै लागि कहाँसम्म पुगेनन् । उनी नपुगेको ठाउँ नै छैन जहाँ उनले नागरिकता पाउन् । उनी सबैभन्दा पहिलो वडा कार्यालय पुगेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगे । त्यहाँ पुग्दा तत्कालीन प्रजिअले नागरिकता दिन नमिल्ने भन्दै पठाईदिए । प्रजिअले उच्च अदालतबाट फैसला ल्याउनुपर्छ भने ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजालासमा विसं २०७८ चैत १३ गते जिल्ला प्रशासन कार्यालय बाँकेलाई विपक्षी बनाएर मुद्दा दायर गरे । विसं २०७८ चैत १४ गते नेपालगन्ज इजालासले जिल्ला प्रशासन कार्यालय बाँकेको नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भनी आदेश दियो । मुद्धा जितेर जादाँसमेत प्रशासनले विभिन्न बाहना बनाएर फिर्ता गरिदिएको उनको भनाइ छ ।
नागरिकतामै लागि उनले दर्जनौपटक जिल्ला प्रशासन कार्यालय पुगे । तर रित्तो हात फर्किने बाध्य हुन्थे । उनले कोहलपुर नगरपालिकाका नगरप्रमुखको सहयोग लिए । नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेललाई गुहारे । कतैबाटसमेत काम नभएपछि उनी निरास भए । केही समय त आफू आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेको उनी सुनाउँछन् ।
त्यसपछि उनले गृहमन्त्रालयसम्म पुग्ने निधो गरे । त्यतिबेला रवि लामिछाने गृहमन्त्री थिए । उनलाई भेटे । नागरिकता दिलाउने आस्वासन दिएका थिए । लगत्तै उनी पदबाट बाहिरिए । मोहनको सपनामा फेरि अर्कोपटक तुसारापात भयो । फेरि जिल्ला प्रशासन कार्यालय आए । त्यहाँ जाँदा प्रजिअले भेट्न नदिनेदेखि कार्यालय परिसरबाट निकालिनु परेकोसमेत तितो अनुभव छ उनीसँग । अन्नत ः लामो समयपछि उनले नागरिकता प्राप्त गरे ।








प्रतिक्रिया दिनुहोस्