शेरबहादुर ऐर । कैलाली ।
जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ मा अवस्थित बस्नेत आधारभूत विद्यालय यतिबेला पठनपाठनभन्दा बढी आन्तरिक द्वन्द्वका कारण चर्चामा छ । दुर्गम क्षेत्रको विद्यालयमा भौतिक संरचना अभाव टार्न गाउँपालिकाले चारकोठे भवन निर्माणका लागि ५५ लाख रूपैयाँ बजेट विनियोजन गरेपछि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकबीच चर्को विवाद उत्पन्न भयो ।
यही विवादका कारण विद्यालयको शैक्षिक गतिविधि प्रत्यक्ष रूपमा प्रभावित भएको स्थानीय अभिभावकहरू बताउँछन् । विद्यालयमा करिब १३० जना विद्यार्थी अध्ययनरत छन् । तर पछिल्लो एक हप्तादेखि विद्यालयको वातावरण अशान्त बनेपछि विद्यार्थी, शिक्षक र अभिभावक सबै अन्योलमा परेका थिए । अध्यक्ष र प्रधानाध्यापकबीचको आरोप–प्रत्यारोप सार्वजनिक हुँदै जाँदा विषय राजनीतिक र सामाजिक बहसमा समेत तानिएको थियो ।
बस्नेत आधारभूत विद्यालय चुरे क्षेत्रको भौगोलिक रूपमा दुर्गम बस्तीमा पर्छ । विद्यालयमा लामो समयदेखि पर्याप्त कक्षाकोठा अभाव हुँदा विद्यार्थीहरू घामपानीमै पढ्न बाध्य थिए । यही अवस्थालाई मध्यनजर गर्दै चुरे गाउँपालिकाले आर्थिक वर्ष २०८२–०८३ का लागि चारकोठे पक्की भवन निर्माण गर्न ५५ लाख रूपैयाँ बजेट छुट्याएको हो ।
स्थानीय डब्बल खत्रीका अनुसार बजेट विनियोजन भएपछि निर्माण सम्झौता प्रक्रिया अगाडि बढिसकेको थियो । ‘५५ लाखको भवन परेको छ, सम्झौता पनि भइसकेको छ,’ उनी भन्छन्, ‘तर अपमान भयो भनेर बिनाकारण शिक्षक र प्रधानाध्यापकमाथि आरोप लगाइयो । त्यसपछि अभिभावकको बैठक बस्यो र नयाँ व्यवस्थापन समिति गठन गरियो ।’ विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष डम्मर आउजी र प्रधानाध्यापक चन्द्रलाल ढुङ्गानाबीच विवाद चर्किएको थियो ।
अध्यक्ष आउजीले प्रधानाध्यापक र केही शिक्षकले नियमविपरीत गतिविधि गरेको आरोप लगाएका थिए । उता प्रधानाध्यापक ढुङ्गानाले भने अध्यक्षले आफूलाई धम्की दिएको र नियमसंगत काम गर्न दबाब दिएको बताए । प्रधानाध्यापक ढुङ्गाना भन्छन्, ‘सम्झौता गरेर आमभेला गराउनुपर्ने थियो । तर प्रअलाई धम्काउनु कमजोरी हो । मैले जेठ महिनाको अन्तिममा जिम्मेवारी सम्हालेको हुँ । निजी स्रोत शिक्षकको तलब रोकिएको विषयमा फोन गरेर प्रश्न गरेको मात्र हो ।’ उनका अनुसार सामुदायिक वनले विद्यालयलाई सहयोग गर्न खोज्दा अध्यक्षलाई सिधैँ रकम दिन नमानेर नियमअनुसार विद्यालय खातामार्फत लिनुपर्ने अडान राख्दा विवाद चुलिएको हो । ‘नियमसंगत गर्न खोज्दा नै विवाद बढ्यो,’ उनले भने ।
स्थानीय बासिन्दा गगनबहादुर भुल विद्यालय व्यवस्थापन समितिमा चार कार्यकाल सदस्य भइसकेका व्यक्ति हुन् । उनी अध्यक्ष आउजीको आरोपप्रति असन्तुष्ट देखिन्छन् । ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बिनाकारण शिक्षकमाथि आरोप लगाए,’ भुल भन्छन्, ‘म चार कार्यकाल सदस्य छु । अहिलेसम्म कुनै विभेद देखेको छैन ।’ उनका अनुसार यो विवाद व्यक्तिगत अहंकार र संवादको अभावका कारण बढेको हो, जसको प्रत्यक्ष असर विद्यार्थीमाथि परेको छ ।
अभिभावकहरू पनि चिन्तित देखिन्छन् । ‘प्रधानाध्यापक र अध्यक्षबीचको लडाइँले १ सय ३० विद्यार्थीको पढाइ प्रभावित भइरहेको छ,’ डब्बल खत्री भन्छन्, ‘निकास निकाल्न छलफल भइरहेको छ तर कसैले राजीनामा दिन मानेन ।’ विवाद चर्किंदै जाँदा विषय राजनीतिक रङ पनि लिन थाल्यो । स्थानीय अम्मर चन्दले अध्यक्ष आउजी पुनः अध्यक्ष बन्नका लागि समाज भड्काइरहेको आरोप लगाए । ‘उहाँ पुनः अध्यक्ष बन्न खोजिरहनु भएको छ । समाज भाँडिरहनुभएको छ,’ चन्दले भने ।
यस्तै, शिक्षक भीम चन्दमाथि पार्टीको कार्यक्रममा गएको आरोपसमेत लगाइएको थियो । तर शिक्षक पक्षले त्यो आरोप निराधार भएको प्रतिक्रिया दिएका थिए । विवाद समाधानका लागि चुरे गाउँपालिकाको समेत संलग्नता बढ्दै गएको थियो । प्रधानाध्यापक ढुङ्गानाका अनुसार १८ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पालिकामा पुगेका थिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भवन निर्माणका लागि विद्यालय छनोट भएपछि बैठक बस्नैपर्ने अवस्था आएको उनी बताउँछन् ।
तर औपचारिक छलफलभन्दा बढी व्यक्तिगत आरोप र अपमानका विषय हावी हुँदा समस्या समाधान हुन सकेन । चार दिनसम्म विद्यालय परिसरमा तनावपूर्ण अवस्था सिर्जना भयो । चार दिनसम्म चलेको आरोप–प्रत्यारोप र तनावपूर्ण अवस्थापछि सोमबार अभिभावक–शिक्षक भेलाको पहलमा मिलापत्र भएको छ । दुवै पक्षले आ–आफ्ना कमजोरी स्वीकार गर्दै भविष्यमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
मिलापत्रअनुसार डम्मर आउजी पुनः विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दोहोरिएका छन् । भेलामा विगतका कमीकमजोरी सुधार गर्दै विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकासमा संयुक्त रूपमा अघि बढ्ने सहमति भएको छ । अभिभावक भेलामा सहभागी एक अभिभावकका अनुसार, ‘अब व्यक्तिगत रिसइबी बिर्सेर बच्चाको भविष्यतिर ध्यान दिनुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।’
बस्नेत आधारभूत विद्यालयको यो घटनाले दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा विकासका नाममा देखिने आन्तरिक द्वन्द्वको चित्र प्रस्तुत गर्छ ।भौतिक पूर्वाधार अभाव समाधान गर्न आएको बजेट सही व्यवस्थापन, पारदर्शिता र समन्वयको अभावमा विवादको कारण बन्न सक्छ भन्ने उदाहरण यो घटना हो ।
स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र शिक्षकबीच विश्वास र संवाद कायम नहुँदा त्यसको मूल्य विद्यार्थीले चुकाउनुपर्ने अवस्था दोहोरिन नदिन सबै पक्ष सचेत हुनुपर्ने देखिन्छ । अब सबैको ध्यान चारकोठे भवन निर्माण समयमै सम्पन्न गर्ने, पठनपाठन नियमित गर्ने र विद्यालयको शैक्षिक वातावरण सुधार्ने दिशामा केन्द्रित हुने अपेक्षा स्थानीयवासीहरूले गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्