माघे संक्रान्तिको दिन देशैभरमा नदी, ताल तथा तलैयाहरूमा स्नान गर्ने र पुजाआजा गर्नेहरूको मेला लाग्ने गर्दछ । धार्मिक विश्वासअनुसार नदी, ताल–पुकार र त्रिवेणीहरूमा स्नान गर्नाले पाप नाश हुने र स्वास्थ्य लाभ हुने मान्यता छ । सामाजिक मिलन, सांस्कृतिक प्रस्तुतिहरूसहित साझा उत्सवका रूपमा हुने केही महत्वपूर्ण मेलाबारे यहाँ चर्चा गरिएको छ ।
नेपालगन्ज ।
माघे संक्रान्ति चाड सांस्कृतिक विविधताले भरिपूर्ण पर्व हो । यसपर्वमा खानपान, नाचगान, पारिवारिक र आफन्त मिलनका साथै तिर्थ व्रत, स्नानका साथै विभिन्न धार्मिक तथा सांस्कृतिक मेलाहरूले पनि यस पर्वलाई विशेष बनाएका छन् । माघे संक्रान्तिको दिन देशैभरमा नदी, ताल तथा तलैयाहरूमा स्नान गर्ने र पुजाआजा गर्नेहरूको मेला लाग्ने गर्दछ । धार्मिक विश्वासअनुसार नदी, ताल–पुकार र त्रिवेणीहरूमा स्नान गर्नाले पाप नाश हुने र स्वास्थ्य लाभ हुने मान्यता छ । सामाजिक मिलन, सांस्कृतिक प्रस्तुतिहरूसहित साझा उत्सवका रूपमा हुने केही महत्वपूर्ण मेलाबारे यहाँ चर्चा गरिएको छ ।
१. गोदावरी मकर मेला (कैलाली)
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गोदावरी धाम क्षेत्रमा हरेक वर्ष माघे संक्रान्तिका अवसमा मेला लाग्ने गर्दछ । सुदूरपश्चिमका प्रमुख धार्मिक स्थलमध्ये एक गोदावरी धाम क्षेत्रमा लाग्ने उक्त धार्मिक–सांस्कृतिक मेलामा स्थानीय भक्तजनका साथै कैलाली कन्चनपुर र सीमावर्ती भारतीय क्षेत्रबाट समेत श्रद्धालुहरू आउने गर्दछन् । स्नान, पूजा–अर्चना, यज्ञ, प्रवचन र भजन–कीर्तन हुने उक्त मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, खानाका परिकार र स्थानीय उत्पादनको व्यापारसमेत हुने गर्दछ ।
२. परशुरामधाम माघे संक्रान्ति मेला (डडेल्धुरा)
डडेल्धुरा जिल्लाको प्रसिद्ध परशुरामधाम धार्मिकस्थलमा पनि माघे संक्रान्तिमा अवसरमा स्नान तथा पूजापाठ गर्नेहरूको मेला लाग्ने गर्दछ ।सुदूरपश्चिमको एक प्रख्यात धार्मिक गन्तव्यको रूपमा रहेको परशुरामधाममा स्थानीय तथा छिमेकी जिल्लाहरूका भक्तजनहरू पुग्ने गर्दछन् । नदी किनारमा स्नान, पूजापाठ तथा दान–पुण्य कार्य स्थानीय उत्पादनको बिक्रीवितरणको अवसर पनि उक्त मेला हुने गर्दछ ।
३. थारू समुदायको स्थानीय माघी मेलाहरू (पश्चिम तराई)
पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, दाङ र बाँकेका स्थानीय नदी तट र तलाउहरूमा पनि माघ स्नान गर्नहरूको मेला लाग्छ । साथै यी जिल्लामा माघे संक्रान्तिको अवसरमा विभिन्न सांस्कृतिक मेलाहरू पनि आयोजना हुने गर्दछन् । विशेषगरी यस्ता मेलामा थारू समुदायका मौलिक परिकारहरू ढिक्री–घोंगीका साथै मौलिक नृत्य–गीत, सांस्कृतिक नाच–गान, स्थानीय खेलकुद लगायत गतिविधिहरू आयोजना हुने गरेका छन् ।
४. दौलतपुर घाट (कर्णाली नदी किनार) माघी स्नान मेला
बर्दिया र कैलालीको सिमानामा पर्ने कर्णाली नदीको दौलतपुर घाटमा पनि माघ स्नान गर्नेहरूको मेला लाग्दै आएको छ । बर्दिया, कैलाली र सीमावर्ती भारतीय क्षेत्रबाट पनि मानिसहरू माघ स्नानका लागि दौलतपुर घाट पुग्ने गरेका छन् । माघे संक्रान्तिको रातिदेखि नै मानिसहरूको मेला लाग्ने गर्दछ ।
५. सिधनियाघाट (राप्ती नदी किनार) माघ स्नान मेला
बाँकेको राप्ती नदी तटमा पर्ने सिधनियाघाट बाँकेवासीहरूले माघ स्नान गर्दै आएको ठाउँ हो । सोही स्थानमा यस वर्ष माघ स्नान मेलाकै रूपमा मनाउन सुरु गरिने भएको छ । उक्त तटमा व्यवस्थित दाहसंस्कारस्थल बनाउने योजनामा रहेको बैकुण्ठधाम सिधनियाघाट संस्थाले यस वर्षबाट व्यवस्थित रूपले माघ स्नान मेलाका रूपमा मनाउने भएकोले सहभागिताका लागि आह्वान गरेको छ । बैकुण्ठधाम सिधनियाघाटका अध्यक्ष डा. सुरेश कनोडियाले स्थानीय भजनकृतनका साथै रातभर धुनी प्रज्वलन गरिने कार्यक्रम रहेको जानकारी दिए । उक्त अवसरमा गंगा महाआरती, पूजा, खिचडी प्रसाद वितरण पनि हुने उनले बताए ।
६. रिहार मेला (दाङ)
दाङको देउखुरी (लमही) नगरपालिकामा पर्ने रिहार धाममा हरेक वर्ष माघे संक्रान्तिका अवसरमा धार्मिक मेला लाग्दै आएको छ । उक्त मेला धार्मिक महत्व, सामाजिक सहभागिता र सांस्कृतिक विविधताका कारण स्थानीय तथा भारतीय श्रद्धालुहरूमा पनि आकर्षक मेलाको रूपमा रहेको छ । पाँच सय वर्षभन्दा पुरानो धार्मिकस्थलका रूपमा परिचित रिहारमा लाग्ने मेलाले पर्यटन तथा धार्मिक प्रतिष्ठाको रूपमा लोकप्रियता पाएको छ । उक्त मेलामा ठूलो सङ्ख्यामा भारतबाट समेत भक्तजनहरू आउने गरेका छन् ।
तातो पानीको कुण्डमा स्नान गर्नु रिहार मेलाको प्रमुख आकर्षण हो भने त्यहाँ स्नान गर्दा जीवनभरका पाप पखालिने र स्वास्थ्य लाभ हुने जनविश्वास रहिआएको छ । रिहार धाममा मामी सौरी मन्दिर, बगार बाबा, गणेश, काली, शिव र बराह लगायतका मन्दिरहरू रहेका छन् । उक्त मेलामा स्थानीय उत्पादन, हस्तकला तथा परिकारहरूको व्यापारसमेत हुन्छ ।
७. रिडी (रुरु क्षेत्र)
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगममा कालीगण्डकी र रिडी खोलाको दोभानमा लाग्ने मेला रिडी मेलाको रूपमा परिचित छ । माघे संक्रान्तिको अवसरमा यहाँ लाग्ने रिडी मेला पश्चिम नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध धार्मिक तथा सांस्कृतिक मेलामध्ये एक हो । माघे संक्रान्तिदेखि सुरु भई तीन दिनसम्म मेला चल्ने रुरु क्षेत्रलाई हिन्दु धर्मावलम्बीहरूले पितृमोक्ष र पापमोचनको स्थलका रूपमा लिन्छन् ।
कालीगण्डकी नदीमा स्नान गरेमा सबै पाप नष्ट हुन्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । यहाँ नेपालकै सबैभन्दा ठूलो भगवान विष्णुको मूर्ति रहेको मानिन्छ । उक्त मूर्तिको दर्शन गरेमा देवऋण, पितृऋण र ऋषिऋणबाट मुक्ति मिल्ने विश्वास छ । शालिग्राम शिला प्रशस्त हुने कालीगण्डकीको महत्वले पनि उक्त क्षेत्रलाई अझ विशेष बनाएको छ । पौराणिक कथनअनुसार उक्त क्षेत्रको नाम रुरु कन्यासँग जोडिएको छ। एक कन्याको आमा–बुबा मरेपछि उनी एक्लै भइन् । उनलाई रुरु मृगले दूध खुवाएर जोगायो ।
पछि ती कन्याले त्यहाँ कठोर तपस्या गरिन् र मुक्ति पाइन् । त्यसै कारण उक्त क्षेत्रको नाम रुरु क्षेत्र रहन गयो र रिडी नाम पनि प्रचलित भयो भन्ने मानिन्छ । उक्त स्थानमा प्राचीन कालमा देवदत्त ऋषिले पनि यहाँ तपस्या गरेको कथा छ । रिडी मेलामा लाखौँ भक्तजनको घुइँचो लाग्छ । कालीगण्डकीको किनारमा अस्थायी पसलहरू, मिठाइ, फलफूल, लत्ता कपडा, धार्मिक सामग्रीको बजार लाग्छ । सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, झाँकी, धार्मिक प्रवचन आदिले मेलालाई आकर्षक बनाएका हुन्छन् ।
८. देवघाट मेला
देवघाट नेपालको मध्यभागमा अवस्थित पवित्र धार्मिक तीर्थस्थल मानिन्छ । तनहुँ, चितवन र नवलपुर जिल्लाको संगममा पर्ने देवघाटमा कालीगण्डकी र त्रिशुली नदीहरूको वेणी क्षेत्र हो । उक्त क्षेत्रलाई हिन्दु धर्मावलम्बीहरूले पापमोचन, पुण्य प्राप्ति र मोक्षको द्वारमा रूपमा मान्दै आएका छन् । माघे संक्रान्तिको अवसरमा देवघाटमा लाग्ने मकर स्नान मेलामा लाखौँ भक्तजनको भीड लाग्ने गर्दछ । मकर संक्रान्तिमा लाने पश्चिम नेपालको रिडीजस्तै मध्यनेपालको सबैभन्दा ठूलो मेला देवघाटमा लाग्ने मेलालाई मानिन्छ ।
कालीगण्डकी र त्रिशुलीको संगममा स्नान गरेमा सबै पाप नष्ट हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ । देवघाट क्षेत्र विभिन्न देवीदेवताका मन्दिरहरूले भरिएको छ । गोसाइँकुण्डबाट आएको त्रिशुली र दामोदरकुण्डबाट आएको कालीगण्डकीको मिलनले उक्त क्षेत्रलाई विशेष बनाउँछ । मेलामा बिहानैदेखि नदीमा स्नान गर्ने भीड लाग्ने गर्दछ । साथै कपडा, मिठाइ, फलफूल, धार्मिक सामग्रीको व्यापार पनि हुने गरेको छ भने सांस्कृतिक कार्यक्रम लोकदोहोरी, भजनकीर्तन, धार्मिक प्रवचन, झाँकी आदि प्रदर्शन हुने गरेका छन् ।
९. ढुंगे साँघु मेला
नेपालको पर्यटकीय नगरीको रूपमा परिचित पोखरामा माघे संक्रान्तिको दिन विशेष रूपमा लाग्ने एक पुरानो र प्रसिद्ध धार्मिक–सांस्कृतिक मेला हो, ढुंगे साँघु मेला । उक्त मेला सेती नदीको किनारमा अवस्थित सीता घाटमा लाग्ने गर्छ । सेती नदीमाथिको पुरानो ढुंगाको पुलका कारण उक्त स्थानलाई ढुंगे साँघु भनिन्छ । माघे संक्रान्तिका दिन उक्त मेलामा पोखरा र आसपासका कास्की, स्याङ्जा, लमजुङ आदि जिल्लाबाट हजारौँ भक्तजन आउने गर्छन् । शिव, ब्रह्मा, विष्णु, यक्ष, गन्धर्व र अप्सराहरू पनि उक्त मेला हेर्न आउने गरेको मान्यता छ । सेती नदीमा स्नान गरेमा पाप मोचन हुन्छ र पुण्य प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । उक्त मेलामा स्थानीय उत्पादनको व्यापारसमेत हुने गरेको छ ।
१०. बराहक्षेत्र मेला
कोशी प्रदेशको सुनसरी जिल्लामा अवस्थित पवित्र हिन्दु तीर्थस्थल मानिने बराहक्षेत्रमा पनि माघे संक्रान्तिका अवसरमा ठूलो मेला लाग्ने गर्दछ । नेपालका चार धाममध्ये एक मानिने बराहक्षेत्र सप्तकोशी र कौसिकी नदीको दोभानमा बसेको छ । यो स्थान भगवान विष्णुको वराह अवतारसँग जोडिएको पौराणिक कथा छ ।
माघे संक्रान्तिको अवसरमा यहाँ बराहक्षेत्रमा लाग्ने मेला पूर्वीनेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मेला हो । मेलामा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ भने मकर स्नानको लागि विशेष महत्व राख्छ । उक्त मेलामा पनि नेपालका विभिन्न भूभागका साथै भारतबाट समेत मानिसहरू स्नानका लागि आउने गर्दछन् ।
सप्तकोशीमा स्नान गरेमा सबै पाप नष्ट हुन्छन् र मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ । वराह मन्दिरमा हुने दर्शन, पूजा, रुद्राभिषेक र पितृ तर्पण विशेष आकर्षणको रूपमा रहेको छ । यो स्थानमा कात्तिक पूर्णिमामा पनि मेला लाग्ने गर्छ ।
११. दोलालघाट मेला
सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको संगममा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिकस्थल दोलालघाटमा पनि माघे संक्रान्तिका अवसरमा मेला लाग्ने गर्दछ । सुनकोसी र इन्द्रावती नदीको दोभान बसेको उक्त स्थानमा मकर संक्रान्तिको दिन हजारौँ भक्तजनहरू पवित्र स्नान गर्न आउँछन् । सुनकोसी र इन्द्रावतीको संगमलाई पवित्र मानिन्छ ।
त्यहाँ स्नान गरेमा पाप मोचन हुन्छ, पुण्य प्राप्ति हुन्छ र मोक्षको मार्ग खुल्छ भन्ने जनविश्वास छ । नदीको दोभान वरिपरिका हरियालीले उक्त स्थानको आकर्षण बढाएको छ । यसबाहेक काठमाडौँ उपत्यकामा शंखमूल लगायतका स्थानमा पनि माघे संक्रान्तिमा मेला लाग्ने गर्दछ । त्यहाँ पनि हजारौँ भक्तजन स्नान गर्न र दान गर्न पुग्छन् भने देशका विभिन्न स्थानमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू हुने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्