कोहलपुर ।
लागूपदार्थ दुव्र्यसन, बालविवाह अन्त्य गर्नका लागि बाँसगढी नगरपालिका जनप्रतिनिधि र थारू समुदायका ‘बरघर’हरूले साझा प्रतिबद्धता जनाएका छन् । मंगलबार सांस्कृतिक पुनर्जागरण अभियान बाँसगढी ‘बरघर’ माघ मिलन दुईदिने कार्यक्रमको समापन समारोहमा नगरपालिकाका जनप्रतिनिधि र ‘बरघर’हरूले लागूपदार्थ दुव्र्यसन र बालविवाह अन्त्य गर्नका लागि साझा प्रतिबद्धता जनाएका हुन् ।
बाँसगढी नगरपालिका नगरप्रमुख खड्कबहादुर खड्काले समाजमा रहेको व्याप्त लागूपदार्थ दुव्र्यसन र बालविवाह अन्त्य गर्न नगरपालिकाद्वारा नगरपालिकाका जनप्रतिनिधि र ‘बरघर’हरूले साझा प्रतिबद्धतासमेत जनाएको बताए । पछिल्लो समय लागूऔषध दुव्र्यसन र बालविवाह बढ्दै गएकाले त्यसको अन्त्यका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
बाँसगढी नगरपालिकाले ‘बरघर’ सञ्जाल स्थापना गरेरको बताउँदै उनले त्यसलाई प्रभावकारी बनाउन ‘बरघर’ कानुन निर्माण गरिने उल्लेख गरे। कानुन निर्माण भएपछि त्यसले थप सहयोग पु¥याउने विश्वास लिएको उनले बताए । पछिल्लो समय लागूऔषध दुव्र्यसनको भयावह अवस्था रहेको बर्दिया प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।
प्रहरी र विभिन्न संघसंस्थाहरूको प्रतिवेदन हेर्दा विशेषगरी थारू समुदायका युवाहरू लागूऔषध दुव्र्यसनमा फँसेको उनको भनाइ थियो । समुदायमा लागूऔषधले विकारल रुप लिएकाले यसको न्यूनीकरण गर्न ‘बरघर’हरूको पनि ठूलो भूमिका रहने उनले बताए । समाज परिवर्तन र थारू समुदायको संस्कृति बचाउन पनि ‘बरघर’हरूको भूमिका उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
लागूऔषध दुव्र्यसन र बालविवाह समाजमा कुरीतिका रूपमा जरा गाडेर बसेकाले अन्त्य गर्न सबै एकजुट हुनुपर्ने उपप्रमुख ईन्दिरा चौधरीले बताइन् । उनले थारू समुदयामा अहिले पनि सानै उमेरमा मागी र भागी विवाह गर्ने प्रचलन रहेकाले त्यसलाई रोक्न सचेतना फैलाउन आवश्यक रहेको उल्लेख गरिन् ।









प्रतिक्रिया दिनुहोस्