ज्ञान बहुमुखीको नेतृत्वमा खनाल



कोहलपुर ।

पछिल्लो समय बजारमा क्याम्पसहरू खुले पनि समय परिस्थितिअनुसार चल्न नसक्दा बन्द गर्नुपर्ने अवस्थामा पुगेको प्राध्यापक चक्रबहादुर बमले बताएका छन् । आइतबार ज्ञान बहुमुखी क्याम्पस कोहलपुरको १७औँ साधरणसभाको उद्घाटन गर्दै प्राध्यापक बमले उक्त कुरा बताएका हुन् ।

पछिल्लो समय देशको विभिन्न स्थानमा क्याम्पसहरू स्थापना हुने तर समय परिस्थितिअनुसार चल्न नसक्दा बन्द हुने गरेको भन्दै उनले अबको शिक्षा परम्परागत नभइ टिकाउ र बिकाउ हुनु पर्नेमा जोड दिए । ज्ञान बहुमुखी क्याम्पसले पनि उत्पादन गर्ने शैक्षिक जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम हुनुपर्ने उनको भनाइ थियो । क्याम्पसले जति धेरै योग्य र क्षमतावान जनशक्ति उत्पादन गर्न सक्यो उत्तिकै क्याम्पसको गौरव बढ्ने उनले बताए ।

कोहलपुरलाई शैक्षिक हब बनाउन ज्ञान बहुमुखी क्याम्पसको पनि केही योगदान रहँदै आएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र खनालले बताए । क्याम्पसले उच्च शिक्षामा कुनै कसर बाँकी नराखी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको जानकारी दिए ।
क्याम्पस प्रमुख टेकबहादुर गुरुङले क्याम्पसको भावी लक्ष्य तथा उद्देश्यमाथि प्रकाश पार्दै क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताए । क्याम्पसमा अध्ययन गरेपश्चात् बेरोजगार बस्न नपरोस् भन्ने कुरामा गम्भीर रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शालिकराम अधिकारीले पछिल्लो समय शिक्षामा नयाँ नयाँ अभ्यास हुँदै आएको र हरेक अभ्यासमा अभ्यस्त हुनुपर्नेमा जोड दिए । उनले शिक्षामा नयाँ ज्ञान तथा प्रविधिलाई जोड्न सकिने विचार व्यक्त गरे । डोलराज अर्याल र मणिप्रसाद गैरेले समेत शुभकाना मन्तव्य राखेका थिए ।

क्याम्पसको १७औँ साधरणसभाको बन्द सत्रमा शालिकराम अधिकारीको संयोजकत्वमा पुष्प रावल र भिम खरेल सदस्य रहने गरी निर्वाचन मण्डल गठन भएको थियो । निर्वाचन मण्डलले आगामी चार वर्षका लागि ज्ञानेन्द्र खनालको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति, ९ सदस्यीय क्याम्पस व्यवस्थापन समिति, ९ सदस्यीय सल्लाहकार समिति र भुुलप्रसाद अधिकारी लेखा संयोजक रहने गरी नयाँ समिति गठन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार