औद्योगिक प्रदर्शनीको बुटवलमा समीक्षा



श्यामलाल पोखरेल । बुटवल ।

१६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवबारे बुटवलमा समीक्षा गरिएको छ । रुपन्देही उद्योग संघको आयोजनामा गत पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा राष्ट्रिय औद्योगिक तथा पर्यटन महोत्सव आयोजना गरिएको थियो । रुपन्देही उद्योग संघका अध्यक्ष तथा पदाधिकारी, सदस्यहरू र संघका पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, मूल आयोजक समितिका पदाधिकार सदस्यहरूले प्रदर्शनीबारे समीक्षा गरेका हुन् ।

प्रतिकूल समयमा पनि आयोजना गरिएको प्रदर्शनीबाट अपेक्षित सफलता मिलेको समीक्षा बैठकले निचोड निकालेको संघका कार्यकारी प्रमुख यादव भण्डारीले मिसन टुडेलाई जानकारी दिए । मिडियादेखि सबै क्षेत्रको साथ सहयोगका कारण औद्योगिक तथा पर्यटन महोत्सवमा सफलता मिलेको बताउँदै सहयोग गर्ने सबैप्रति रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रदर्शनीको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी आयोजकहरूले ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार गर्ने अपेक्षा रहेको बताएअनुसार आर्थिक कारोबार भएको र अवलोकनकर्ताले अवलोकन गरेको रुपन्देही उद्योग संघले जनाएको छ । प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधि लगायतका करिब ४५० स्टलहरू राखिएको थियो ।

प्रदर्शनी सफल बनाउन संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरू गठन गरिएको थियो ।
अध्यक्ष पराजुलीका अनुसार स्वेदशी उत्पादनहरूको प्रदर्शन र बजारीकरण, प्राविधिक र व्यावसायिक अनुभवको आदानप्रदान, नेपाली उद्योगको लागि अवसरको खोजी, उत्पादन उपभोक्ताविज्ञहरू र सरकारी निकायबीच अन्तरसंवाद बढाउनुका साथै आन्तरिक तथा बाह्य औद्योगिक वातावरणको जानकारी, निर्यातमूलक उद्योगको पहिचान र प्रोत्साहन, युवा तथा महिला उद्यमीहरूलाई प्रोत्साहन, औद्योगिक जनशक्ति निर्माणमा प्रदर्शनीबाट सहयोग पुगेको छ ।

प्रदर्शनी अवधिमा अप्रिय घटना नभएको, अत्याधुनिक प्रविधिको प्रयोगले महोत्सवस्थलबाट हराएको एक स्कुटर, मोबाइल, पर्स तथा अन्य सामान सबै भेटिएको र सबै पक्ष सकारात्मक भएको समीक्षा बैठकले निष्कर्ष निकालेको छ । प्रदर्शनी उपसमितिका संयोजकहरूले बैठकमा दिएको लिखित सुझावहरूलाई समेटेर स्मारिका प्रकाशन गरिने अध्यक्ष पराजुलीले बताएका छन् ।

रुपन्देही उद्योग संघले ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने मूल नाराका साथ प्रदर्शनी सञ्चालन गरेको थियो । संघले २०४५ सालमा नेपालमै पहिलोपटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको छ । रुपन्देही उद्योग संघले बुटवलबाट सुरु गरेको प्रदर्शनी तथा पर्यटन महोत्सव देशव्यापी भएको छ ।

रुपन्देही उद्योग संघले आयोजना गरेको समीक्षा बैठकमा पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ लुम्बिनी अध्यक्ष एजाज आलम, पूर्वअध्यक्षहरू तेजकुमार पाठक, बाबुराम बोहोरा, माधवप्रसाद पौडेल, निवर्तमान अध्यक्ष दिलिप सापकोटाले प्रदर्शनीबारे बोल्दै निरन्तरता दिनुपर्नेमा सुझाव दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार