थारू बस्तीमा माघीको तयारी तीव्र



कैलाली ।

थारू समुदायको ठूलो पर्व माघी पर्व आउन अब केही दिन मात्रै बाँकी छ । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारी तीव्र रूपमा भइरहेको छ । पर्व नजिकिएसँगै कैलाली, कञ्चनपुरका थारू बाहुल्य क्षेत्रमा चहलपहल निकै बढेको छ । पर्वलाई भव्य रूपमा मनाउन घरपरिवारका सदस्यहरू आ–आफ्नो कामको जिम्मेवारी लिएर खटिरहेका छन् ।

पुरुषहरू मासुको जोहो गर्न गाउँगाउँ धाइरहेका छन् भने महिलालाई दुना, टपरी बनाउन भ्याइनभ्याइ छ । पर्वको तयारीका क्रममा विशेषगरी अन्डी धानको चामल, पीठोलगायत खाद्यान्नको जोहो गर्ने, दुनाटपरी गाँस्ने, दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा आँगन सरसफाइलगायतका काम धमाधम भइरहेको धनगढी उपमहानगरपालिका—४ उत्तरबेहडीका भलमन्सा जगदीश चौधरीले बताए ।

‘माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटोलगायत खानाका पकवान खाने चलन रही आएकाले दाजुभाइहरू त्यसको खोजीमा जुटेका छौँ,’ उनले भने, ‘यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँनयाँ लुगाकपडा किनमेल गर्ने र रोजगारीका लागि विदेशिएकाहरू पर्व मनाउनका लागि घर फर्कन थालिसकेका छन् ।’ माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, रक्सी, ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्नमा समुदायका महिलाहरूलाई भ्याइनभ्याइ छ ।

थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको कैलालीको गोदावरी नगरपालिका—८ फकलपुरका थारू नागरिक अभियानका सदस्य माधव चौधरीले बताए । उनले भने, ‘गाउँबस्तीमा रौनक बढिसकेको छ । केही दिनअघि गाउँमा भलमन्साको बैठक बसेर जिता (बङ्गुर) मार्ने, कस–कसको जिता मार्ने, गाउँमा नपुगेपछि कहाँबाट ल्याउने भन्ने जिम्मेवारी नै दिइएको छ ।’

चौधरीका अनुसार थारू समुदायको ठूलो चाड भएकाले यसको तयारीका लागि एक महिना अघिदेखि नै अण्डीको रोटी, ढिक्रीका लागि पीठो र सिद्रा जोहो गर्ने, जिता (बङ्गुर) खोज्नेलगायत काम भइरहेका छन् । थारू जातिको संस्कृति झल्कने मघौटा नाचको तयारी पनि सुरु भएको छ ।
‘माघे सङ्क्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाईधुवाई गरी आफूभन्दा ठूलाबाट आशीर्वाद लिने गरिन्छ,’ चौधरीले भने, ‘आशीर्वाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायत खाद्यान्न छुने र छुट्याइएका ती चीजमा थप परिकार थपेर घरका छोरीबेटीलाई दिने परम्परा रही आएको छ ।’

यस पर्वमा थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । यस्तै, माघी मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गर्ने तयारी पनि भइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार