‘आगामी चुनावमा रास्वपाले बहुमत ल्याउँछ’



कोहलपुर (बाँके) ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले आगामी फागुन २१ को निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । आगामी निर्वाचन परम्परागत दल र वैकल्पिक शक्तिहरूबीचको लडाइँ भएको भन्दै महामन्त्री बुर्लाकोटीले निर्वाचनमा रास्वपाले बहुमत ल्याउने दाबी गरेका हुन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितिको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको अबको एकमात्र वैकल्पिक शक्ति रास्वपा भएको बताएका थिए । उनले नेपाली जनताका आशाका केन्द्रविन्दु काठमाडौँ महानगरका नगरप्रमुख बालेन शाह र कुलमान घिसिङसहित परिवर्तन पक्षधरको मूल राजनीतिक थलो रास्वपा बनेको भन्दै आफूहरूलाई रास्वपालाई आकार ठूलो नभई नेपाली जनताको पार्टी बनाउन खोजेको समेत बताए ।

उनले भने, ‘ठूला पार्टीले जनतालाई हेपे । त्यसको पछिल्लो उदाहरण भदौ २३ र २४ को जेनजी आन्दोलन हो । हामी फोहोर राजनीतिको अन्त्य गर्न आएका थियौँ । नवजवान युवाहरूले हामीलाई सघाएका छन्, परिर्वतन पक्षधरहरूमार्फत देश विकासमा अग्रसर हुन्छौँ ।’ उनले ठूला दलले जनता नहेपेको भए भदौ २३ गतेको आन्दोलन नहुने भन्दै तत्कालीन सरकारले कलिला युवामाथि गोली हानेर हत्या नगरेको भए भदौ २४ को अवस्था सिर्जना नहुनेसमेत जिकिर गरेका थिए ।

समृद्ध मुलुक निर्माण रास्वपाको एकमात्र अर्जुनदृष्टि भएको बताउँदै आफूहरू फागुन २१ पछि जनताको लागि काम गर्नेसमेत बताए । ‘अब योग्य मान्छे नीतिगत तहमा जानुपर्छ । युवाहरूले अवसर पाउनुपर्छ । देश विकासमा एकजुट हुनुपर्छ । एक दिनको चेतनाले एक युग बदल्नेछ,’ उनले भने । उनले नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष सुरेशकुमार थारू, नेकपा एमाले वाणिज्य संघ कोहलपुर अध्यक्ष रहेका कोहलपुर क्षेत्रका प्रतिष्ठित व्यवसायी ज्ञानेन्द्र खनाल, नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नम्बर १२ का पूर्ववडाध्यक्ष केशवप्रसाद लम्सालसहित सयौँ जनालाई पार्टीमा स्वागत गरेका थिए ।

श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नगर कमिटी सर्वसम्मत 

राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितिको प्रथम नगर सम्मेलनबाट राजेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । बिहीबार कोहलपुरस्थित शीत भण्डारमा सम्पन्न नगर सम्मेलनमार्फत श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
कोहलपुर नगर कार्यसमितिको सभापति निर्वाचित श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेको सचिव थिए ।

सम्मेलनमार्फत कोहलपुर नगर कार्यसमितिको उपसभापति गंगा पोखरेल, सचिवमा देविन सुवेदी र सहसचिवमा भानुभक्त सापकोटालाई चयन गरिएको छ । यस्तै सदस्यहरूमा लक्ष्मी विष्ट, मिना न्यौपाने, चिन्तामणी पाठक, नन्दकुमारी तिवारी, पवित्रा भट्टराई, पार्वती आचार्य पुन, सद्धाम हुसेन साई, पदमबहादुर थापा र दलित सदस्यमा सानीकुमार चदरालाई चयन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार