पुलिसलाई हराउँदै न्यु डायमन्ड जित्यो उपाधि



काठमाडौँ ।

न्यु डायमण्ड एकेडेमीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि जितेको हो । दर्शकले भरिएको रंगशालामा भएको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो ।

फाइनलमा न्यु डायमण्डले सुरुदेखि नै दबदबा कायम राख्दै पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पा¥यो । उत्कृष्ट टिमवर्क, सशक्त आक्रमण र प्रभावकारी ब्लकिङका कारण न्यु डायमण्डले खेललाई पूर्ण रूपमा नियन्त्रणमा राख्न सफल भयो। पुलिसले संघर्षपूर्ण प्रदर्शन गरे पनि निर्णायक क्षणहरूमा अंक जोड्न नसक्दा उपविजेतामा सीमित रहनुप¥यो ।

यस जितसँगै न्यु डायमण्ड एकेडेमीले प्रतियोगितामा आफ्नो वर्चस्व प्रमाणित गर्दै महिलातर्फको उपाधि हात पारेको छ । न्यु डायमन्डलाई फाइनलमा जिताउन उत्कृष्ट भूमिका खेलेकी प्रगति नाथ ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । प्रतियोगिताको महिला र पुरुष विजेताले नगद ५ लाख प्राप्त गरेका थिए भने उपविजेताले २ लाख ५० हजार र तेस्रोले १ लाख २५ हजार प्राप्त गरे । त्यस्तै महिला र पुरुष सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १५–१५ हजार प्राप्त गरेका थिए ।

महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको थियो । पुरुषतर्फ विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबसहित रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्द भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौँ), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौँ) सहभागी थिए ।

यस्तै महिलातर्फ तीन विभागीय टोलीहरू पुलिस, आर्मी र एपीएफसहित न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब (बुटवल) चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद्ले सहभागी भएका थिए ।

हेल्प नेपाललाई पुरुषतर्फको उपाधि

हेल्प नेपाल स्पोट्र्स क्लब लगातार एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको फाइनलमा च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई सिधै ३–० सेटमा पराजित ग¥यो ।

लगातार तीन सेटमा दबाब कायम राख्दै हेल्प नेपालले सशक्त प्रदर्शन गरेको थियो । हेल्प नेपालले पहिलो, दोस्रो र तेस्रो सेट समान २५–२१ ले जित्दै खेल एकतर्फी बनायो । आक्रामक स्पाइक, मजबुत ब्लक र प्रभावकारी समन्वयका कारण त्रिभुवन आर्मी क्लब खेलमा फर्किन सकेन । च्याम्पियन बन्ने क्रममा हेल्प नेपालले कुनै पनि खेल हारेन ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार