असहाय बाल संरक्षण केन्द्र स्थापनाको कथाः सम्बन्धविच्छेदपछि जन्मिएको ‘तेस्रो सन्तान’



गृहिणी, शिक्षण, पत्रकारिता हुँदै समाजसेवामा होमिएकी राप्ती सोनारी–५ की तारा वली एक संघर्षशील नारी हुन् । उनी ‘जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र’की संस्थापक र सञ्चालकसमेत हुन् । केन्द्रमा अहिले उनले २३ जना टुहुरा, विपन्न तथा घरबारविहीन बालबालिकाहरूलाई पालनपोषण गरिरहेकी छन् । हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको केन्द्रको भवन निर्माणको लागि आर्थिक सहयोग अभियान चलिरहेको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

सम्बन्ध त एउटा डोरी रहेछ । जसले बाँधिएको हुँदो रहेछ, जीवन । त्यही सम्बन्धमा जब डोरीको उपादेयता सकिन्छ । न रहँदो रहेछ डोरी, न त बाँधिदो रहेछ सम्बन्ध । रंग फेर्र्दाे रहेछ जीवनले । बदलिँदो रहेछ जीवनको रंग । त्यसैगरी एउटा छोरीको बदलिन्छ, एउटै जीवनमा धेरै परिचय। ठिक त्यसैगरी बदलिएको छ, बाँके राप्ती सोनारी गाउँपालिका–५ चाँचरफर्का गाउँकी ३४ वर्षीया तारा वलीको सम्बन्ध र जिम्मेवारी ।

छोरी, बुहारी, श्रीमती र आमाका रूपमा अनेक सम्बन्धहरूको जिम्मेवारी दिएकी छन् उनले जीवनका जम्माजम्मी तीन दशकमा । भाग्य भनौँ या नियतिको खेल, उनले जीवनको निकै छोटो समय व्यतीत गरिन्, एउटा श्रीमतीको रूपमा । प्रेमिकाबाट श्रीमान् श्रीमतीको रूपमा सुरु गरेको नयाँ अध्याय । विवाहको दिन उनी जीवनमै पहिलोपटक यति धेरै खुसी भएकी थिइन्, त्यो खुसीको कुनै सीमा थिएन । खुसी नहुने कुनै कारण पनि थिएन । त्यस दिनबाट उनी छोरीबाट बुहारी र श्रीमती भएकी थिइन् ।

खुसीको बिल्कुल अर्को कारण थियो, उनले आफूले चाहेको मान्छे पाएकी थिइन् । एउटा छोरीले जीवनमा एकपटक मात्र प्राप्त गर्ने शौभाग्य ।तर, ताराको जीवनमा त्यो शौभाग्य लामो समय टिकेन । उनलाई अहिले लाग्छ, सम्बन्ध त एउटा ऐना रहेछ । जुन एकपटक टुक्रियो भने कहिल्यै नजोडिँदो रहेछ । उनको केवल आठ वर्षको वैवाहिक जीवनको भोगाइले यही भन्छ । जुन दिन, बाचुञ्जेल सँगै बाँचौँला, मरे सँगै मरौँला भनेर अग्निको कसम खाएर सात फन्का घुमेर बाचाबन्धन गरेका श्रीमान्ले अर्को विवाह गरे । त्यतिबेला उनी कसैकी श्रीमती मात्र थिइनन् ।

एक छोरा र एक छोरीकी आमासमेत थिइन् । जुन ताराले जीवनमै भोगेको अकल्पनीय सत्य थियो । एउटी श्रीमतीका रूपमा उक्त खबर जति दुःखद् थियो, त्यति नै भयंकर सूचना थियो, एउटी आमाका रूपमा । ताराले हिम्मत हारिनन् । उनले पाउनु मात्रै माया होइन गुमाउनु पनि माया हो भने झैँ श्रीमान्ले दोस्रो विवाह गर्दासमेत स्वीकारिन् । आफ्नै सौतासँग एउटै घरमा बसिन् ।

तर, उनको त्यागमाथि दोस्रोपटक पनि कुठाराघात भयो । त्यति बेलासम्म उनले सबै धैर्यता गुमाइसकेकी थिइन् । हारिसकेकी थिइन् उनले । घरमा सँगै बस्नै नसक्ने अवस्था भएपछि तारा माइती घरमा बस्न थालिन् । त्यसपछि उनी आफैँले सम्बन्धविच्छेदको मुद्दा दायर गरिन् । त्यसको केही समयपछि उनको आठ वर्ष लामो वैवाहिक सम्बन्ध कानुनी रूपमै टुंगियो । त्यो दिन उनको लागि एउटा सपनाको अन्त्य र अर्को सपनाको जन्म भएको दिन थियो ।

सम्बन्धविच्छेदपछि जन्मिएको ‘असहाय बाल संरक्षण केन्द्र’

बुवा डिल्लीबहादुर वली र पार्वती वलीको कोखबाट तारा सल्यानमा जन्मिएकी हुन् । बाँकेमा हुर्किइन् बढिन् । उनको परिवार राप्ती सोनारीमा बस्न थालेकै १७ वर्ष पुगिसकेको छ । उनको परिवार सल्यानबाट बसाइँसराइ गरेर तराई झरेको थियो । उनी चाँचरफर्का गाउँमै हुर्किइन्, बढिन्, पढिन् । प्लस टुसम्मको अध्ययन सकाएकी ताराको विवाहसमेत यतै भयो, सम्बन्ध विच्छेद पनि । अहिले भने सामाजिक रूपमा गर्विलो परिचय बनेको छ, समाजसेवीका रूपमा ।

उनकै सपना, आँट र आत्मविश्वासका साथमा जन्मिएको ‘जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र’ । उनी केन्द्रको संस्थापक हुन् । मालिक, सहयोगी र हेरालो सबै हुन् । दुई सन्तानकी आमा उनी केन्द्रलाई तेस्रो सन्तान भन्न रुचाउँछिन् । उनी भन्छिन्, ‘मैले जन्माएका दुई वटा सन्तान छन् । केन्द्र मेरो तेस्रो सन्तान हो । जुन मेरो सम्बन्धविच्छेदपछि जन्मिएको हो । मैले अहिले मेरा तीन सन्तान एक्लै हुर्काइरहेकी छु ।’ यसमा उनी सन्तुष्ट छिन् । जीवनमा सन्तुष्टि पनि जीवनको अर्को सफलता रहेछ ।

तारा अहिले आफ्नो सपना र सफलतासँग ढुक्कले सफर गरिरहेकी छन् । कसरी जन्मियो त बाल संरक्षण केन्द्रको सपना ? उनी सुनाउँछिन्, ‘मलाई सानैदेखि बच्चाहरू खुब मन पथ्र्यो । म अलि दयालु स्वाभावको मान्छे छु । आमाबुबाबीच सम्बन्ध राम्रो नहुँदा बच्चाले कति पीडा भोग्छन् भन्ने अनुभव गरेँ । मेरा मात्रै होइन धेरै बच्चाहरूले दुःख पाएको देखेँ । एउटी आमाका रूपमा बच्चाको आँसुको साथी र हाँसोको सारथी हुन्छु भन्ने आत्मविश्वासको परिणाम हो, केन्द्र ।’

उसो त सम्बन्धविच्छेद भन्दा अघि स्कुलमा पढाउँथिन् । उनले चार वर्षसम्म राप्ती सोनारी २ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा अध्यापनसमेत गराइन् । सम्बन्धविच्छेदपछि जागिरसमेत छोडिन् । जीवनका कठिन बाटाहरू छिचोल्दै समाजसेवीको परिचय बनाउँदासम्मको यो यात्रा उनका लागि सोचेअनुसारको थिएन । उनले केही समय पत्रकारितासमेत गरिन् ।

आफूले भुवर भवानी रेडियोमा १० दिने तालिम लिएकोे र त्यसपछि केही समय पत्रकारिता गरेको उनले बताइन् । पत्रकारिता गर्ने क्रममा उनी राप्ती सोनारीका विभिन्न वडामा पुगिन् । आफूले जस्तै समस्यामा परेका महिला भेटिन् । पारिवारिक जीवनबाट पीडित पुरुषहरू भेटिन् । आमा बुबाको सम्बन्ध राम्रो नहुँदा पीडित बनेका बालबालिका भेटिन् । उनीहरूका समस्या देखिन् ।

राप्ती सोनारीका कुरा कन्दरामा पुग्दा उनलाई लाग्यो, ‘जीवनमा यस्तो पीडा भोग्ने म मात्रै रहेनछु । अरु पनि रहेछन् । मेरा छोराछोरीले भोगेका र उनीहरूले भोगेका समस्या उस्तै थिए । एउटा आमाका रूपमा त्यो मेरा लागि निकै कष्टकर चित्र थिए ।’ पालिकाका जनप्रतिनिधिहरूसँगै वडाहरूमा जाँदा त्यहाँ बालबालिकाले पढ्न नपाएका, उचित हेरचाह नपाएका धेरै देखेको उनको भनाइ छ ।

समाजमा रहेका यस्ता बालबालिकाहरूका लागि केही न केही गर्नुपर्छ भन्ने विस्तृत रूपमा रूपमा जन्मिएको हो, ‘जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र ।’ त्यही सपनालाई पछ्याउँदै उनले २०७७ सालमा ‘जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र’ खोलिन् । सामाजिक सेवा गर्ने उद्देश्यका साथ केन्द्र स्थानीय तहदेखि जिल्ला प्रशासन कार्यालयसम्म दर्ता गरिन् । २०७८ पुस २२ गते केन्द्र औपचारिक रूपमा सञ्चालनमा आयो । केन्द्र सञ्चालन गर्दा ५ जनाबाट सुरु गरेको उनले बताइन् । केन्द्र हालसम्म विनौनामा भाडाको घरमा सञ्चालन गर्दै आएकी छन् ।

अहिले केन्द्रमा २३ जना टुहुरा, असहाय, घरबारविहीन, विपन्न परिवारका बालबालिका आश्रित छन् । केन्द्रमा १६ जना बालक र ७ जना बालिका छन् । ३ देखि १७ वर्ष उमेर समूहका बालबालिका रहेको तारा बताउँछिन् । उनीहरूको पालनपोषण, रेखदेख र पढाईको सम्पूर्ण व्यवस्थापन केन्द्रले गर्दै आएको छ । उनीहरू स्थानीय भुवरभवानी मावि र बाल शान्ति प्राविमा अध्ययन गर्छन् । बाल शान्तिमा ८ जना र भुवरभवानीमा १४ जनाले अध्ययन गरिरहेको उनले बताइन् ।

एकजना पूर्णअसहाय भएका कारण विद्यालय जाँदैनन् । केन्द्रमा रूकुम पश्चिम, सल्यान, बैजनाथ गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाका बालबालिका आश्रित छन् । उनले भनिन्, ‘केन्द्र अहिलेसम्म सहयोगी हातहरूको सहयोगबाट चलिरहेको छ । केन्द्रलाई स्थानीय सरकार, वडा सरकारदेखि विभिन्न संघ संस्था तथा सहयोगीदाताहरूले सहयोग गरिरहनु भएको छ । केन्द्रमा बालबालिकाहरूको सङ्ख्या बढ्दो क्रममा छ । खर्चसमेत बढ्दो क्रममा रहेको छ ।’

केन्द्र स्थापना गर्दाको अनुभव ः आफ्ना सन्तान पाल्न केन्द्र खोली भने

जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र स्थापनाको प्रमुख उद्देश्यले नै समाजमा रहेका असहाय, विपन्न, अभिभावकविहीन बालबालिकाहरूको सहारा बन्ने हो । त्यही पवित्र उद्देश्यका साथ ताराले केन्द्र स्थापना गरेकी थिइन् । केन्द्र स्थापना गर्दासमेत उनले कसैको साथ पाइनन् । धेरैले कुरा काटे । आफ्ना छोराछोरी पाल्नको लागि केन्द्र खोली भने । तर, उनले हिम्मत हारिनन् । आफ्नो सपना पछ्याउन अनेक आरोप सहेर संघर्ष गरिरहिन् ।

तारा सुनाउँछिन्, ‘एक त महिला । त्यसमाथि सम्बन्धविच्छेद भएकी महिला । सुरुमा केन्द्र खोल्छु भन्दा कसैले विश्वास नै गरेको थिएन । समाजले साथ दिएन । आफ्ना छोराछोरी पाल्न खोलेकी हो समेत भने ।’ आफूले कसैको कुरा नसुनेको र आफ्नो उद्देश्य प्राप्तिका लागि निरन्तर खटिएको उनको भनाइ छ । त्यसको परिणामस्वरुप अहिले केन्द्रमा बालबालिका बढ्दै गएका छन् । केन्द्रप्रति विश्वास गर्नेहरू बढेका छन् । हिजो कुरा काट्नेहरू अहिले सहयोग गर्न आउँछन् ।

धेरै बालबालिका हुँदा राख्न समस्या भएपछि अहिले ठूलो भवन निर्माण प्रक्रिया सुरु गरिएको छ । त्यसको लागि उनले सहयोग अभियानसमेत सञ्चालन गरिरहेकी छन् । वडा नम्बर ५ कै एक सामुदायिक वनले केन्द्रको लागि १ कट्ठा जग्गा निःशुल्क प्रदान गरेको छ । सोही जग्गामा केन्द्रको बृहत् भवन निर्माण भइरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘भवन निर्माणको लागि सहयोग अभियान थालेका छौँ । धेरैले सहयोग गरिरहेका छन् । विभिन्न स्कुल, क्याम्पसदेखि व्यक्ति र विदेशमा रहेकाले समेत सहयोग गरिहनु भएको छ ।’ अहिलेसम्म केन्द्रको भवन निर्माण गर्न सबैभन्दा धेरै हेमा श्री फाउन्डेसन कैलालीले गरेको छ ।

केन्द्रको भवन निर्माणकै लागि फाउन्डेसनसँगको साझेदारीमा आर्थिक संकलन अभियान सुरु गरिएको तारा बताउँछिन् । उक्त अभियानबाट २ लाख रूपैयाँ संकलन भएको थियो । भवन निर्माणपछि बालबालिका राख्न आफूलाई सहज हुने उनले बताइन् । यस्तै उनले सहयोगी मनहरूलाई भवन निर्माणका लागि सहयोग गर्न अपिलसमेत गरेकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार