उपाधिका लागि पुलिस र न्यु डायमण्डबीच भिडन्त हुँदै



काठमाडौँ ।

साबिक विजेता विभागीय टिम नेपाल पुलिस क्लबले एनभीए भलिबल च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा न्यु डाइमन्ड युथ स्पोट्र्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । शुक्रबार काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको दोस्रो सेमिफाइनल खेलमा अर्काे विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएसँगै पुलिसले फाइनलमा न्यु डायमन्डसँग प्रतिस्पर्धा गर्ने तय भएको हो ।

पुलिसले आर्मीलाई २५–१२, २९–३१, २५–१४ र २५–१८ ले हराएको थियो । न्यु डायमन्डले शुक्रबारै भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल आज शनिबार दिउँसो ३ बजे उक्त कभर्ड हलमै हुने तालिका रहेको छ ।

पुलिस समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह चरणमा पुलिसले मधेस प्रदेश खेलकुद परिषद् र सुदूरपश्चिम प्रदेश खेलकुदलाई सोझो सेटमा हराउँदा एपीएफमाथि ३–२ को जित निकालेको थियो । महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको थियो ।

पुरुषतर्फ विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबसहित रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र (कर्णाली प्रदेश), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुण्द भलिबल क्लब (लुम्बिनी), हेल्प नेपाल स्पोट्र्स क्लब, कोशी प्रदेश भलिबल संघ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौँ), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौँ) सहभागी थिए ।

यस्तै महिलातर्फ तीन विभागीय टोलीहरू पुलिस, आर्मी र एपीएफसहित न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब (बुटवल) चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् रहेका छन् । प्रतियोगिताबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली दशौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुने नेपाल भलिबल संघले जनाएको छ ।

प्रतियोगिताको महिला र पुरुष विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार र तेस्रोले १ लाख २५ हजार प्राप्त गर्नेछ। त्यस्तै महिला र पुरुष सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १५–१५ हजार प्राप्त गर्नेछन् । नेपाल भलिबल संघले एनभीए लिग छनोटको आधार रहेको यस प्रतियोगिता काभा क्लब भलिबल च्याम्पियनसिप खेल्नेका लागि पनि आधार रहेको जनाएको छ ।

एनभीए भलिबल च्याम्पियनसिपमा शीर्ष क्लब नै एनभीए लिगमा छनोट हुने र एनभीएल लिगका उत्कृष्ट टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसनले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिप (महिला र पुरुष) खेल्ने प्रावधान रहेकोले पनि भलिबल क्लबहरूका लागि एनभीए च्याम्पियनसिप महत्वपूर्ण हुने नेपाल भलिबल संघले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार